अझै पनि हत्या, हिंसा र त्रासको भरमा राजनीति ! के गर्दैछ सरकार !!

अझै पनि हत्या, हिंसा र त्रासको भरमा राजनीति !  के गर्दैछ सरकार !!

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७६

विभिन्न विषयमा सरकारको आलोचना पार्टी भित्रबाट नै हुने गरे पनि सरकार आत्मप्रशंसामा भने लागेको प्रस्टैसँग  देखिन्छ  । नेकपाको केन्द्रीय कमिटी बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले त्यस्तै देखिन्छ । 

सरकारले कमजोरी गरेको भन्दा पनि सरकारले गरेको राम्रो कामको प्रचार हुन नसकेको बुझाइमा पुगेको सरकारले देशका विभिन्न ठाउँमा भएको त्रासमय वातावरणलाई ध्यान  दिन नसकेको देखिन थालेको छ । 

सोमबार मात्रै अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन् ।  अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्। धामीको शव पञ्चदेव नगरपालिका–२ को गैरी गाउँमा भैँसी बाँध्ने गोठमा भेटिएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ ।

पुस १६ राष्ट्रिय सभामा केही सांसदले यस विषयमा सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।  सांसदहरूले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर मूलधारमा फर्काउन माग गरेका थिए । सांसद अनिता देवकोटाले विप्लव समूहलाई आगोको सानो झिल्को ठान्ने गल्ती नगर्न सरकारलाई सचेत गराउनु भएको थियो । सांसद देवकोटाले सरकारको नेतृत्वमा रहेकाहरू र विप्लव समूह कुनै बेला एकै ठाउँमा रहेकाले समस्या समाधानमा अफ्ठेरो नहुने  समेत उल्लेख गर्नुभएकाले थियो ।  दैलेखका गाउँपालिका अध्यक्षलाई १८ घण्टापछि कालिकोटबाट मुक्त गराइएको प्रसङ्गलाई उहाँले कोट्याउनु भएको थियो  ।  

त्यसपछि देशका विभिन्न ठाउँमा घटेका घटनलाई विप्लव समूहले जिम्मा लिएको प्रर्चाहरु फ्याँक्ने गरेको छ । सोमबार मात्रै अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन् ।  अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्। धामीको शव पञ्चदेव नगरपालिका–२ को गैरी गाउँमा भैँसी बाँध्ने गोठमा भेटिएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ । हामीले सामाग्री तयार पार्ने समयसम्म यसको जिम्मेवारी भने कसैले लिएको छैन । तथापि वडाध्यक्षको हत्या भएको हो भने यो गम्भीर सुरक्षा चुनौती हो । 

२० माघमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको घटनाको जिम्मेवारी सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो । त्यसको तीन दिन अगाडी जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाइएको थियो। आलिताल गाउँपालिका ३ को वडा बैठकमा सहभागी हुनका लागि बैठक स्थलतर्फ जानेक्रममा उनलाई अपहरण गरी कुटपिट गरिएको थियो। 

१४ माघमा डडेलधुराको एक सरकारी कार्यालयमा बम विस्फोट गरेर क्षति गरेको घटनामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिएको थियो । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेलधुरामा त्यसको दुई दिन अगाडी  मध्यरातमा बम विस्फोट गराइएको थियो। पार्टी जिल्ला सेक्रेटरी विजयले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै विस्फोट आफूहरूले गराएको जानकारी दिएका थिए । 

१६ माघमा मुगुको  छायानाथ रारा नगरपालिका-१४ बाम गाउँमा वनको अनुगमनमा गएका डिभिजन वन कार्यालय मुगुका कर्मचारीमाथि नेत्रविक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ताले हातपात गरेका थिए । बाम गाउँमा डिभिजन वन कार्यालय मुगुका कर्मचारीहरूले गाउँलेलाई भेला गरी वन संरक्षण र यसका फाइदाका बारे सचेतना दिइरहेका बेला आफ्नो अनुमति नलिई कार्यक्रम गरेको भन्दै विप्लवका कार्यकर्ताले वनका कर्मचारीमाथि हातपात गरेका थिए ।

यस हिसाबले अहिले देशका विभिन्न स्थानमा सन्त्रासको वातावरण छाएको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको भन्ने विप्लव समूहले हरेक घटनाको जिम्मेवारी लिएको छ । यस हिसाबले सरकारले यस विषयमा गम्भीर ध्यान दिन जरुरी छ । पहिलो विकल्प बर्ताको माध्यमले मूलधारमा ल्याउने  र दोस्रो विकल्प भनेको शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चाल्ने ।

फेरी पनि हत्या हिंसाको त्रासमा जनता परे पनि सरकारले भनेको सुखी नेपाली समृद्ध नेपालको नारा केही दिनको भाषण मात्रै हुन सक्ने देखिन्छ ।