अधिकारकर्मी भुजेलको हत्यामा संलग्न पाँचजना सार्वजनिक

अधिकारकर्मी भुजेलको हत्यामा संलग्न पाँचजना सार्वजनिक

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ २१, २०७६

हेटौंडा । अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका पाँचजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, सोही ठाउँका २४ वर्षीय घनटाउके भनिने सुशील थापा रहेका छन् । हत्या गरिएकी भुजेलको मोबाइल प्रयोग गरेकामा महिलासहित अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । 

प्रहरीका अनुसार भुजेललाई हेटौँडा–११ स्थित थानाभर्‍याङमा ना६ख नंको ट्रकमा राखी हापु भन्ने सिमोन परियार, सुशील थापा र अन्य दुईजनासमेत मिलेर सामूहिक रुपमा यौन सम्पर्क गरेको र त्यसबापत भुजेलले सात हजार रुपैयाँ मागेपछि विवाद भएको र गाडीमा प्रयोग हुने बिजुलीको तारले घाँटीमा कसेर मारेको त्यसपछि त्यही गाडीमा राखेर छ किलोमिटर पूर्व क्याम्पाडाँडास्थित कान्तिराजपथमा फालेको उनीहरुले बताएका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो । 

यही माघ ४ गते हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडामा एउटा शव फेला प¥यो । मृतकको शरीरमा नीलडाम देखिन्थ्यो भने घाँटीमा बिजुलीको तार बेरिएको र शरीर पूर्णरुपमा नग्न अवस्थामा रहेको  थियो । शव भेटिएको केहीबेरमै लैंङ्गिक, अल्प सङ्ख्यकहरुको क्षेत्रमा क्रियाशील अधिकारकर्मी अजिता भुजेल रहेको थाहा भयो । भुजेल मकवानपुरबाट तेस्रोलिङ्गीका रुपमा नागरिकता लिने पहलो व्यक्ति पनि थिइन् ।  

घटनापछि  प्रहरीले धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो भने केहीलाई निगरानीमा राखेरसमेत अनुसन्धान गरेको थियो । प्रहरीले घटना घटेको दिन तथा त्यसअघिका टेलिफोन विवरण, सिसी टिभीहरुमा रेकर्ड भएका भिडियो क्लिपहरु आदिको अध्ययन गरेर अनुसन्धानलाई सफल बनाउने प्रयास गरेको थियो ।