कामको खोजीमा चाँगा बजाउन गएका १४ नेपाली सीमापारि नै रहे

कामको खोजीमा चाँगा बजाउन गएका १४ नेपाली सीमापारि नै रहे

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २१, २०७६

खाँदबारी । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको छ । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्मा नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो । 

सीमापारि रहेकामा १२ जना सङ्खुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताउनुभयो । उनीहरूलाई नेपाल फर्काउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ । ‘चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ’, उहाँले भन्नुभयो । कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उहाँको भनाइ छ ।