हेलिकप्टर दुर्घटना  :  बिग्रदो मौसमले शव काठमाडौं पठाउन समस्या

हेलिकप्टर दुर्घटना  :  बिग्रदो मौसमले शव काठमाडौं पठाउन समस्या
ताप्लेजुङको सुकेटार विमानस्थलमा बिहीबार बिहान देखिएको कुहिरो । तस्बिर : नारायण ढुंगाना/ रासस

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०७५

ताप्लेजुङ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविवन्द्रप्रसाद अधिकारीसहित सात जनाको शव काठमाडौं पठाउन समस्या भएको छ। शव सुकेटार विमानस्थल पुर्याएको केही समयपछि पानी र हिमपातसँगै आकाशमा कालो बादल मडारिएपछि शव पठाउन समस्या भएको हो ।

दुर्घटनामा परी निधन भएकामध्ये तीनको शव बिहान सुकेटार एयरपोर्टसम्म ल्याइएको थियो। घटनास्थलबाट हिजो राति चार शव सुकेटार ल्याइएको थियो । 

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले वर्षा र हिमपातसँगै बादलले आकाश ढाकेपछि शव काठमाडौं पठाउन समस्या भएको बताउनुभयो ।  मौसम झन् बिग्रदै गएकाले शव पठाउने समय अनिश्चित बनेको उहाँको भनाइ छ । 

यसअघि वर्षा र हिमपातका कारण चिसो बढेपछि हेलिकप्टरबाट शव झार्न र एकीकृत गर्न समेत समस्या भएको थियो। 

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास हेलिकप्टर दुर्घटना भएको थियो ।