टेलिकमको १६ औँ वार्षिकोत्सव: यसै साता देशका ७७ वटै जिल्लामा फोर जीको पहुँच पुर्‍याइएको जानकारी

टेलिकमको १६ औँ वार्षिकोत्सव:  यसै साता देशका ७७ वटै जिल्लामा फोर जीको पहुँच पुर्‍याइएको जानकारी

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २२, २०७६

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औँ वार्षिकोत्सव २०७६ माघ २२ गते विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । 

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठुला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोर जी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गर्नुभएकाले थियो  । मन्त्री बास्कोटाले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवाहरूमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनु पर्ने  कुरामा जोड  दिनु भएको थियो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकूल विभिन्न स्मार्ट सेवाहरू वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरू गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नु पर्ने   आवश्यकता रहेको बताउनु भएको थियो । सुवेदीले यसका लागि बजारको प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने र गुणस्तरीय सेवा उपलब्ध गराइने बताउनु भएको थियो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरू सह प्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिनुभयो । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोर जी विस्तार गर्ने महत्त्वाकाङ्क्षी र चुनौतीपूर्ण लक्ष्य अनुरूप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्‍याइएको बताउनु भयो । उहाँले स्थानीय टेलिफोन सेवाको रूपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिने  समेत जानकारी  दिनुभएको  थियो । 

कम्पनीको सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) राजबहादुर रावलले कम्पनीका विभिन्न योजना कार्यान्वयनमा अझ प्राथमिकताका साथ लाग्नुपर्ने बताउँदै यसबिचमा संस्था र कर्मचारीको भलाइका लागि गरिएका कार्यहरू उल्लेख गर्नुभयो । 

नेपाल टेलिकमले वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि विभिन्न छुट तथा अफर उपलब्ध गराइएको जानकारी  दिइएको थियो ।  त्यसै गरी कम्पनीले थप नयाँ सुविधाहरू र विशेषता समेटिएको नवीन अफिसियल वेबसाइट समेत आजैदेखि सार्वजनिक गरिएको थियो । कम्पनीको नयाँ वेबसाइट प्रयोग गरी कम्पनीद्वारा प्रदत्त सम्पूर्ण सेवाहरू सहजै प्रयोगमा ल्याउन, रिचार्ज गर्न, शुल्कहरू बुझाउन सहज हुने समेत जानकारी  दिइएको थियो । नेपाल टेलिकमले   ग्राहक महानुभावलाई अतिरिक्त सुविधाहरू उपलब्ध गराउन कम्पनीले नबिल बैङ्कसँगको सहकार्यमा मास्टर कार्ड, भिसा कार्डबाट नेपाल टेलिकमका मोबाइल सेवामा रिचार्ज गर्न तथा बिल भुक्तानी गर्न सकिने सुविधा  दिइएको बताइएको छ । 

माननीय मन्त्री बास्कोटाले वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचन समेत गर्नुभएको थियो । समारोहमा  समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गर्नुभएकाले थियो । त्यसै गरी कम्पनीको रिचार्ज सेवा तथा रिचार्ज कार्डको बिक्री लक्ष्य हासिल गर्ने थोक विक्रेता एवं कम्पनीका विभिन्न सेवाहरू प्रयोग गरी सर्वाधिक बिल भुक्तानी गर्ने संस्थागत तथा व्यक्तिगत ग्राहकहरूलाई पनि कदर स्वरूप कार्यक्रममा सम्मान समेत गरिएको थियो ।