टेलिकमकाे सेवा विस्तार र राजस्व वृद्धि: ग्राहक संख्या २ करोड ३६ लाख र राजस्व मात्र ३३३१ अर्ब दाखिला

टेलिकमकाे सेवा विस्तार र राजस्व वृद्धि:  ग्राहक संख्या २ करोड ३६ लाख र राजस्व मात्र  ३३३१ अर्ब दाखिला

डिल्लीराम अधिकारी  |  दृष्टिकोण  |  माघ २२, २०७६

देशमा दूरसञ्चार सेवाको विकास, विस्तार र विविधिकरणको सुत्रधारको रूपमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड संस्थानबाट कम्पनीमा परिणत भएको सोह्रौं वार्षिकोत्सवको सुखद उपलक्ष्यमा देशभर रहनुभएका हाम्रा करोडौं प्रयोगकर्ता महानुभावहरूको अटुट आस्था, शेयरधनी महानुभावहरूको विश्वास, समस्त शुभेच्छुकहरूको सद्भाव,  हाम्रो सेवाको पूर्वाधार विकासको सहयात्रीको रूपमा काम गरिरहनुभएका आपूर्तिकर्ता, निर्माणकर्ता, परामर्शदाता, कार्यान्वयनकर्ता लगायतका सम्पूर्ण व्यावसायिक साझेदारहरूको सहयोग र सहकार्य प्रति कम्पनी परिवारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु । भविष्यमा पनि कम्पनीको व्यावसायिक सफलता सुनिश्चित गर्न र बजारमा अग्रता कायम गर्न उहाँहरू सबैको सद्भाव, विश्वास, सहयोग र सहकार्य निरन्तर प्राप्त भैरहनेछ भन्ने हाम्रो विश्वास छ ।

कम्पनीको उत्तरोत्तर प्रगतिलाईनै आफ्नो पेशागत जीवनको एक मात्र लक्ष्यको रूपमा लिई जीवनको अमूल्य समय कम्पनीप्रति समर्पित गर्नुहुने कर्मचारी मित्रहरुको अथक परिश्रम तथा कम्पनीका आधिकारिक एवम् क्रियाशिल कर्मचारी युनियनहरूको रचनात्मक सहयोग एवम् सहकार्य तथा कम्पनीका सबै शुभेच्छुक महानुभावहरूको सहयोग, सल्लाह, सुझाव र सद्भावको लागि कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरूमा पनि सहयोग, सद्भाव र सहकार्यका लागि कामना गर्दछु । 

 सेवा विस्तार र विकास तर्फ 

गएको १ वर्ष नेपाल टेलिकमको लागि निकै महत्वपूर्ण र चुनौतिपूर्ण रहेको हामी सबैले महसुस गरेका छौं । चीर प्रतीक्षित फोरजी परियोजना अन्तर्गत सम्झौता सम्पन्न भै एक वर्षभित्र देशभर सेवा विस्तार गर्ने अत्यन्त महत्वाकांक्षी र चुनौतिपूर्ण लक्ष्यका साथ कार्य अगाडि बढाइएको थियो । उक्त जटिल र महत्वाकांक्षी परियोजना कार्यान्वयनमा संलग्न कर्मचारी, आपूर्तिकर्ता लगायत सबैको अथक परिश्रम र मेहनतको फलस्वरूप यसै साता फोरजी सेवा देशका सबै ७७ वटै जिल्लामा पुगिसकेको छ । दुइ हजारभन्दा बढी स्थानमा जडित ३६ सय भन्दा बढी भल्यमभद्य सहितको अत्याधुनिक प्रविधिमा आधारित सो पूर्वाधार मार्फत देशभरका सेवाग्राही महानुभावहरूलाई उच्च गतिको मोबाइल डाटा लगायत सम्पूर्ण मोबाइल सेवा प्राप्त हुनेछ । चुनौतिपूर्ण भू-बनोट, प्रतिकूल मौसम तथा कार्यान्वयनको क्रममा आइपर्ने जटिलताको कारण बाँकी रहेको परियोजना अन्तर्गतको काम पनि प्राथमिकताका साथ यथाशिघ्र सम्पन्न गरिनेछ ।

कम्पनीको मोबाइल सेवाको प्राविधिक अग्रता कायम राखी बजार हिस्सा र राजस्व वृद्धि गर्न यो परियोजना कोशेढुङ्गा सावित हुनेछ । साथै परियोजना सम्पन्न भए पश्चात् पनि सेवाको माग, ट्राफिक विश्लेषण, Radio Network Optimization तथा Radio Network Planning को आधारमा सेवाको पहुँच विस्तार, गुणस्तर अभिवृद्धि तथा क्षमता विस्तारको कार्य निरन्तर जारी राखिनेछ । गत १ वर्षमा मात्र कम्पनीको मोबाइल सेवाको विस्तारको लागि करीब ३४० नयाँ टावर जडान गरी बिटिएस सञ्चालन ल्याई सेवा विस्तार गरिएको छ .

दशकौं देखि देशभरका ग्राहक महानुभावहरूलाई जोडिरहेको स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि ल्याइएको FTTH विस्तार परियोजनालाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको पूर्वार्द्धमा अधिकांश समय सेवा विस्तारको लागि आवश्यक सामान तथा उपकरणको प्राप्ति तथा विलिङ्ग प्रणाली विकास गर्ने कार्यमा खर्च भएपनि हाल सबैजसो सामाग्री प्राप्त भै नयाँ सेवाग्राहीलाई सेवा दिने तथा विद्यमान एडिएसएल तथा टेलिफोन लाइनहरूलाई FTTH सेवामा रुपान्तरण गर्ने कार्य काठमाडौं लगायत देशभरका स्थानहरूमा अघि बढिरहेको छ । हालसम्म देशका २८ जिल्लाका ५७ एक्स्चेञ्जहरू मार्फत १ लाख ४५ हजारको नेटवर्क जडान भै ३६ हजार ४ सय भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकिएको छ । 

FTTH सेवा विस्तारको कार्यलाई सो कार्यलाई थप तीब्रता दिन सेवा सम्बन्धी प्लानिङ्गको कार्य क्षेत्रीय रूपमा समेत गर्नेगरी व्यवस्था समेत मिलाइसकिएको छ । निकट भविष्यमा क्ष्एत्ख् सेवा पनि FTTH मार्फत प्रदान गरिनेछ । हाल सो सेवा अन्तिम परीक्षणको क्रममा रहेको छ । 

 पूर्वाधार विकास तर्फ 

देशभर अत्याधुनिक सूचना महामार्ग विस्तार गरी डिजिटल नेपालको अवधारणा साकार पार्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोषको लगानीमा कम्पनीले कार्यान्वयन गर्ने जिम्मा पाएको प्रदेश १, २ र ३ अन्तर्गतको मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण गर्ने कार्य पनि कम्पनीको उच्च प्राथमिकताका साथ अगाडि बढिरहेको छ । उपकरण मध्ये म्ध्म्ः जडानको कार्य सम्पन्न हुने क्रममा छ भने च्यगतभच जडानको कार्य पनि भैरहेको छ । अप्टिकल फाइबर विछ्याउनको लागि तीन वटै प्रदेशमा छुट्टा छुट्टै आपूर्तिकर्ता मार्फत काम भैरहेको छ । राष्ट्रिय गौरबको आयोजनाको रूपमा रहेको यो आयोजना समयमै सम्पन्न गर्न कम्पनी कटिवद्ध छ । कम्पनीले हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणसंग कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माणको लागि सम्झौता गरेको छ र सो कार्य समेत निर्धारित समयमा सम्पन्न गर्न कम्पनी कटिवद्ध छ ।

देशभर दूरसञ्चार पूर्वाधार पुर्‍याउने प्रयास अन्तर्गत शुरु गरिएको १००० किलोमिटर ADSS फाइबर परियोजना हालै सम्पन्न भै देशका ६६ जिल्लामा अप्टिकल फाइबर पूर्वाधार पुगिसकेको छ । बाँकी रहेका जिल्लाहरूमा समेत अप्टिकल फाइबर लगायतका प्रविधि प्रयोग गरी उच्च क्षमताको दूरसञ्चार नेटवर्क पुर्‍याई डिजिटल नेपालको अवधारणा साकार पार्नको लागि आवश्यक  पूर्वाधार तयार गर्न कार्यक्रम अघि बढाइनेछ । 

 प्रणालीहरूको विकास तर्फ 

यी ठूला परियोजना बाहेक कम्पनीका महत्वपूर्ण उपकरण, प्रणाली तथा पद्धतिहरुको आधुनिकिकरण गर्ने उद्देश्यले Business Intelligence System, Security System, GIS System, Network Operations Center   लगायतका परियोजनाहरूलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । 
नेपाल टेलिकमको नेटवर्कलाई वाह्य विश्वसंग जोड्ने वैकल्पिक मार्गको रूपमा चीनसंगको लिङ्क सुदृढ गर्न हाल सञ्चालित केरुङ्ग नाका मार्फत सञ्चालित लिङ्कको विकल्पको रूपमा तातोपानी नाका पनि पुनस् सञ्चालनमा ल्याउनको लागि कार्य भैरहेको छ । 

 कम्पनीको सेवा तथा बजारको अवस्था

कम्पनीबाट सञ्चालित विविध परियोजना, बिकासका प्रयासहरू, सेवा विस्तारका कार्यक्रमहरू तथा बजारीकरणका गतिविधिहरूका कारण गत वर्ष पनि कम्पनीका सेवाहरूको बजारमा व्यापकता आउने क्रम जारी रह्यो । गत आ.व. २०७४/७५ को तुलनामा चालू आ.व. को शुरुमा भ्वाइस सेवाको ग्राहक संख्या १३.५९ प्रतिशतले वृद्धि भई कूल २ करोड २७ लाख पुगेको छ । गत कार्तिक मसान्त सम्ममा सो संख्या थप वृद्धि भई २ करोड ३६ लाख पुगेको छ । साथै डाटा सेवाको ग्राहक संख्या २६ प्रतिशतले वृद्धि भई चालू आ. व. को शुरुमा कूल १ करोड ३७ लाख पुगेकोमा कार्तिकसम्ममा थप वृद्धि भई १ करोड ४६ लाख पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको कार्तिक महिनाको MIS Report  अनुसार कम्पनीको बजार हिस्सा भ्वाइस सेवा तर्फ ५.६० प्रतिशत र डाटा सेवा तर्फ ४८.९० प्रतिशत पुगेको छ । 

बिगत १ वर्षभित्र कम्पनीको मोबाइल सेवाको विस्तारसंगै क्रियाशिल ग्राहकको संख्यामा पनि करीब १० लाख वृद्धि भएको छ । कम्पनीले अघि बढाएको फोरजी परियोजनाको विस्तार संगै सो संख्यामा थप वृद्धि हुँदै जानेछ । 

देशव्यापी रूपमा परम्परागत स्थानीय टेलिफोन र एडिएसएल सेवालाई FTTH मा रुपान्तरण गर्ने योजना सञ्चालन भएसंगै FTTH सेवाको ग्राहक आधार निरन्तर वृद्धि भैरहेको छ । देशभर चलेको सेवा विस्तार र रुपान्तरणको अभियान संगै चालु आ। व। को बाँकी अवधिमा सो संख्यामा उल्लेख्य वृद्धि हुनेछ । 

फोरजी सेवाको विस्तारसंगै कम्पनीले हाल सञ्चालन गरिरहेको CDMA सेवाका ग्राहकहरूलाई आगामी आ. व. भित्र फोरजीमा रुपान्तरण गरी CDMA सेवालाई क्रमश: वन्द गर्ने गरी कार्य अघि बढिसेको छ । सोबाट कम्पनीको वायरलेस सेवामा एकरुपता आउने तथा स्पेक्ट्रमको बचत हुनेछ । प्रबिधिगत रुपमा विश्वव्यापी स्तरमै CDMAसेवाको विकासक्रम रोकिएकोले कम्पनीले पनि नियामक निकाय समेतको सहकार्य र समन्वयमा CDMA सेवालाई क्रमिक रुपमा रुपान्तरण सहित वन्द गर्ने कार्यक्रम ल्याएको हो । 

नयाँ ग्राहक प्याकेज तथा सामाजिक उत्तरदायित्व तर्फ

कम्पनीले अङ्गिकार गरेको 'राष्ट्र निर्माण हाम्रो लक्ष्य' भन्ने नाराको मर्म अनुसार देशका विभिन्न स्थानमा विभिन्न समय र उत्सव पारेर विविध सामाजिक सामाजिक कार्यमा कम्पनीले आफ्नो योगदान र संलग्नतालाई निरन्तरता दिएको छ । दृष्टिविहिन र श्रवण शक्ति कमजोर हुने व्यक्तिहरूलाई प्रदान गरिएको विशेष प्याकेज तथा मोबाइल सेट हरू, विभिन्न वृद्धाश्रम आदिमा कम्पनीले गरेको योगदान, वागमती सफाई महाअभियानमा कम्पनीको संलग्नता, हरियाली विकासमा गरेको योगदान, सामुदायिक विद्यालय तथा असहाय केन्द्रलाई कम्प्युटर तथा फर्निचर हस्तान्तरण, देशका विभिन्न स्थानमा स्थापना गरिएका १०० वटा सामुदायिक विद्यालयलाई FTTH  मार्फत तथा ५० वटा सामुदायिक विद्यालयलाई ADSLमार्फत इन्टरनेट प्रदान गरी स्मार्ट स्कूलमा रुपान्तरण गर्न गरेको सहयोग, गण्डकी, सुदूर पश्चिम, प्रदेश ५ र कर्णाली प्रदेशमा १.१ वटा गरी कूल ४ वटा स्मार्ट स्कूल स्थापनामा सहयोग तथा नेपाल पुलिस क्लबलाई गरेको प्रायोजन यसका केही उल्लेख्य उदाहरणहरू हुन् । यस्ता समाजमुखी कार्यक्रमहरू आगामी दिनहरूमा पनि जारी राखिनेछ । 

यसै वार्षिकोत्सवको अवसरमा विगतमा झैं हाम्रा देशभरका ग्राहक महानुभावहरूको लागि आकर्षक प्याकेजहरू तथा रिचार्जमा बोनसको समेत व्यवस्था गरिएको छ । 

सरकारी राजस्वमा योगदान तर्फ 

गत आ. व. मा नेपाल टेलिकमले सरकारी राजस्वमा उल्लेख्य योगदान गरेको छ र आगामी वर्ष पनि सो जारी रहनेछ । कम्पनीले आ. व. २०७५/७६ मा कर र गैरकरबापत  २५७६ अर्ब र डिभिडेण्ड वापत ७.५५ गरी कूल  ३३३१ अर्ब सरकारी राजस्वमा दाखिला गरेको छ । कम्पनीको सेवा विस्तार र राजस्व वृद्धिसंगै सरकारी राजस्वमा हुनु योगदान पनि बढ्दै जानेछ । 

 कर्मचारी व्यवस्थापन र वृत्तिविकास तर्फ 

उच्च प्रतिस्पर्धा वीच कम्पनीका सेवाहरूको लोकप्रियता सुनिश्चित गर्न कम्पनीका उपकरण, प्रणाली तथा पुर्वाधारको सुचारू सञ्चालन तथा प्रभावकारी व्यापारीकरण एवम् बजार व्यवस्थापन आवश्यक हुने गर्दछ । सोको लागि संलग्न सबै कर्मचारीहरूको उच्च कार्यक्षमता र लगनशिलता जरूरी हुन्छ । यस परिप्रेक्ष्यमा कम्पनीका कर्मचारीहरुको उच्च कार्यक्षमताको सदुपयोग तथा उचित मूल्याङ्कन गर्नको लागि Performance Appraisal System लागू गर्न आवश्यक पद्धति र प्रणाली विकास गरिएको छ । सोबाट कर्मचारीहरूको कार्यक्षमताको सही मूल्याङ्कन गरी कम्पनीले प्रदान गर्ने प्रोत्साहन लगायतका सेवा सुविधासंग जोड्न मद्धत पुग्नेछ र कर्मचारीहरूलाई थप कार्यक्षमता प्रदर्शन गर्न उत्प्रेरणा प्राप्त हुनेछ ।

वदलिंदो परिवेशमा कर्मचारीहरूको कार्यदक्षता कायम राख्‍न कर्मचारीहरूको तालिम र शिप विकासलाई थप गतिशिल बनाइएको छ । यसबाट पनि कर्मचारीहरूमा नया शिप बिकास हुनाको साथै काम गर्ने उत्साहमा समेत वृद्धि भएको छ ।   

विगत वर्ष नेपाल टेलिकमका टीमहरूले गरेका केही सह्रानीय कामहरूले गर्दा कम्पनीभित्र नया उत्साहको श्रृजना गरेको छ । हालै पर्यटकीय क्षेत्र ठमेलमा रहेका अव्यबस्थित तार काटिएसंगै प्रभावित भएको कम्पनीको सेवा सुचारू गर्न तथा सो क्षेत्रको सुन्दरता नबिग्रने गरी FTTH सेवाको विस्तार र वितरण गर्न अहोरात्र खटिनुहुने नक्साल, सुन्धारा तथा वायरलाईन निर्देशनालयका टीमहरू, परम्परागत कपर नेटवर्कबाट फाइबरमा पूर्ण रुपान्तरण गराउने बागलुङ्ग कार्यालयको टीम, फोरजी सेवालाई छोटो अवधिमा देशभर विस्तार गर्न परिश्रम गर्नुहुने वायरलेस निर्देशनालयको टीम, राजस्वमा बाँकी बक्यौता असुलीमा अत्यन्त मेहनतका साथ उल्लेख्य उपलब्धी हासिल गर्ने बक्यौता असुली टीम तथा देशका विभिन्न जटिल स्थानमा गई दूरसञ्चार संरचनाको मर्मत सम्भार र Restoration मा जुट्नुहुने कर्मचारीहरू प्रति कम्पनी व्यवस्थापन लगायत सबैको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरू लगायत सम्पूर्ण कर्मचारीहरूको मेहनत र लगनशीलताबाट कम्पनीलाई सफलताको नया उचाईमा पुर्‍याउन महत्वपूर्ण बल प्राप्त हुनेछ ।

 कम्पनीको पुनस्संरचना र प्रादेशिक संरचना तर्फ 

 वदलिंदो परिवेशमा कम्पनीको काम कारबाहीलाई थप चुस्त र गतिशिल बनाउन तथा देशमा लागू भएको संघीय व्यवस्था अनुसार कम्पनीको संरचना पनि परिमार्जित गर्ने तर्फ तयारी भैरहेको छ । पोखरा र सुर्खेतमा छिट्टै प्रादेशिक कार्यालय स्थापना गरिनेछ भने अन्य प्रदेशमा पनि हाल रहेका क्षेत्रीय निर्देशनालयहरू मार्फत नया संरचना अनुरुप सेवा प्रवाह र जनशक्ति परिचालन गरिनेछ । यसका अतिरिक्त कम्पनीको संगठनात्मक संरचनामा समयानुकूल सुधार र परिमार्जन गरी सञ्चालनमा थप गतिशिलता ल्याउन र आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि तयारी भैरहेको छ । 

कम्पनीमा संगठनात्मक र प्रशासनिक सुधारको प्रयास स्वरूप तयार पारिएको नया विनियमावली अनुमोदनको लागि मन्त्रालय मार्फत लोक सेवा आयोग पठाइसकिएको छ र तहाँबाट अनुमोदन भै प्राप्त भए पश्चात् कार्यान्वयनमा लगिनेछ । 

 परियोजना अनुगमन तर्फ

कम्पनीमा सञ्चालित सबै प्रकारका योजना, आयोजना तथा कार्यक्रमहरूको प्रगति समीक्षा गर्न तथा तिनको तथ्यगत विवरण मन्त्रालय लगायतका माथिल्ला निकायमा पेस गर्न समेत सहयोगी हुनेगरी Project Monitoring System सञ्चालनमा ल्याइसकिएको छ । यसबाट कम्पनी भित्रका विभिन्न एकाईहरूले आफू अन्तर्गतका वार्षिक कार्यक्रम तथा कार्यसम्पादन सम्झौतामा उल्लेख भएका कामहरूको प्रगति विवरण अध्यावधिक गर्ने तथा समीक्षा गर्ने कार्य सहज हुनाको साथै उच्च व्यवस्थापन तथा माथिल्लो निकायबाट प्रभावकारी अनुगमन गर्न समेत उपयोगी भएको पाइएको छ ।

नयाँ सञ्चलित Project Monitoring System समेत प्रयोग गरी कम्पनीमा सञ्चालित विभिन्न परियोजनाहरूको मासिक रूपमा प्रगति समीक्षा गर्ने गरिएको छ । यसबाट परियोजनाहरू समयमा र निर्धारित लागत भित्रै सम्पन्न गर्न तथा प्रगति कम भएका परियोजना पहिचान गरी आवश्यक निरुपणको कार्य अघि बढाउन महत्वपूर्ण सहयोग पुगेको छ । साथै माथिल्लो निकायमा परियोजनाहरू सम्बन्धी तथ्यगत जानकारी प्रेषित गर्न समेत यो पद्धति उपयोगी साबित भएको छ ।

परियोजना व्यवस्थापनमा सुधार गर्ने प्रयासको क्रममा लामो समयदेखि रुग्ण आयोजनाको रूपमा रहेका २३ वटा परियोजनाहरू मध्ये १७ वटाको भौतिक कार्य सम्पन्न गरिएको छ र बांकीलाई पनि यथाशीघ्र टुङ्गोमा पुर्‍याइनेछ । 

 वित्तीय अनुशासन र खरिद व्यवस्थापन तर्फ 

कम्पनीले सार्वजनिक संस्थाको रूपमा आफ्नो वित्तीय व्यवस्थापन र खरीद प्रक्रियालाई नीतसंगत र पारदर्शी बनाउन निरन्तर नीतिगत, कार्यगत र व्यावहारिक प्रयासहरू गर्दै आएको छ । सार्वजनिक खरिदलाई पारदर्शि बनाउने अवधारणा अनुरुप कम्पनीले गर्ने हरेक ठूला खरीदमा प्रतिस्पर्धी र पारदर्शी हिसबले बोलपत्र पद्धतिको अवलम्बन गर्ने गरिएको सबैमा विदितै छ । 

कम्पनीभित्र वित्तीय अनुशासन र मीतव्ययिताको अभ्यासलाई थप प्रभावकारी बनाउने तर्फ समेत विविध प्रयासहरू भएका छन् । कम्पनीले नियमित वा आवधिक रूपमा खरीद गर्ने मसलन्दका सामान लगायतका फुटकर सामग्री पनि पारदर्शी रुपमा बोलपत्रमार्फत खरीद गरिएको छ । यसबाट लागत घट्नुका साथै पारदर्शिता पनि सुनिश्चित हुने र मूल्यमा एकरुपता ल्याउन पनि मद्दत गरेको पाइएको छ । साथै कम्पनीमा जम्मा रहेका पुराना ब्याट्री, केबुल, सवारी साधन लगायतका काम नलाग्ने सामान लिलामीको कार्यमा पनि गत वर्षभित्र उल्लेख्य प्रगति भएको छ । यसबाट कम्पनीका भण्डारण गर्ने स्थानहरू खाली हुनाका साथै विक्रीबाट थप आय आर्जन पनि भएको छ । 

डिजिटल नेपाल निर्माणमा कम्पनीको भूमिका 

नेपाल सरकारको 'सुखी नेपाली, समृद्ध नेपाल' अभियान अन्तर्गत सूचना र सञ्चार प्रविधिको क्षेत्रमा नेपाल टेलिकमले एक सशक्त र जिम्मेवार साझेदारको रूपमा आफ्नो योजना तथा कार्यक्रमहरू अगाडि बढाइएको छ। डिजिटल नेपालको अभियान तथा नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि भौगोलिक जटिलताका वावजुद देशभरका पर्यटकीय क्षेत्रमा नवीनतम दूरसञ्चार सेवा पुर्‍याई ती स्थानहरूलाइ पर्यटकहरूको लागि थप आकर्षक बनाउन पनि कम्पनी प्रयासरत रहेको छ । देशमा सूचना प्रविधिको विकाससंगसंगै Cashless अर्थव्यवस्थाको विकासको लागि कम्पनीले देशको अग्रणी बैंक राष्ट्रिय वाणिज्य बैंकसंगको सहकार्यमा मोबाइल वित्तीय सेवा सञ्चालनको कार्यमा कम्पनी लागिपरेको छ । विगतमा रहेको  Project Holiday को अवस्थाबाट आजको अवस्थासम्म आइपुग्दा कम्पनीले विविध क्षेत्रमा धेरै आरोह अवरोह पार गर्दै उल्लेख्य उपलव्धिहरू हासिल गरेको छ र आगामी दिनहरूमा ती उपलब्धिहरूलाई कम्पनको वित्तीय अवस्था सुदृढीकरण र मुनाफा वृद्धिमा रुपान्तरण गरिनेछ ।

 अन्त्यमा 

कम्पनीको व्यावसायिक सफलताको लागि अगाडि बढाइएका प्रयास, योजना तथा कार्ययोजनाहरूको सफलताको लागि सदाझैं कम्पनीका समस्त ग्राहक महानुभावहरू, नेपाल सरकार, विभिन्न सरकारी तथा गैह्रसरकारी निकायहरू, शुभेच्छुकहरू, व्यावसायिक साझेदारहरू, आपूर्तिकर्ता तथा परामर्शदाताहरूको सहयोग र सद्भाव एवम् कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उच्च समर्पण सहितको मेहनत तथा सहकार्य प्राप्त भैरहनेछ भन्ने हाम्रो विश्वास रहेको छ । 

दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा आउने प्राविधिक विकास, व्यावसायिक परिदृष्यमा हुने परिवर्तन, ग्राहकको बदलिँदो चाहना समेतलाई ध्यानमा राखी नवीनतम प्रविधि र आधुनिक व्यावसायिक अभ्यासहरूलाई अवलम्बन गर्दै जाने तथा आगामी दिनहरूमा पनि देशव्यापी रूपमा सुलभ र सुपथ मूल्यमा दूरसञ्चार सेवा प्रदान गर्दै ग्राहक सेवामा समर्पित रहिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड १६ औँ वार्षिकोत्सवको अवसरमा २०७६ माघ २२ बुधबारका दिन  प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले  दिनुभएकाे मन्तब्यकाे सम्पादित अ‌ंश आलेखका रुपमा  प्रस्तुत गिरएकाे छ ।