राष्ट्रिय गजल महोत्सव : उपलब्धिमूलक प्राप्ति
माघ २३, २०७६


नेपाली साहित्यमा गजल मोतीरामसँगै भित्रियो । मोतीरामले आफूले मात्र लेखेनन् संस्थागत रूपमा मोतीमण्डलीको माध्यमबाट गजल लेखे, लेखाए । नेपाली गजल गजलको शास्त्रीयता पछ्याउँदै अघि बढिरहेको थियो तर बीचमा केही समय यो निदायो । गजलले जसरी पुनर्जागरण पायो, त्यो गजलको संरचनाका लागि अप्रिय र गजल जागरणका लागि प्रिय कदम बन्यो । 

गजलले संरचनात्मक धरातल बिर्सिंदै गयो । यसले नेपाली गजललाई आफ्नो आधारभूमिबाट बाहिर धकेल्यो । यसबीचमा नेपाली गजलमा लयको कुरा उठ्न थाल्यो । लय भनेकै गजल हो भनेर गजललाई चिनाउन केही स्रष्टाहरू लागिपरे पनि गजलले लय बाटो बिराउँदै गयो र लयलाई भन्दा भावलाई महत्त्व दिनुपर्छ भन्ने कुरा उठ्न थाल्यो । रूप र अन्तर्वस्तुबीचको तादात्म्यविना गजल बन्दै बन्दैन भन्ने कुरा भुलेर एकोहोरो कवित्व वा भावको मात्र वकालत पनि गरियो । 

नेपाली गजलमा देखिएको यो भ्रम हटाउन संस्थागत रूपमा पनि अनेक प्रयासहरू भए । संस्थाहरूले गरेको प्रयास वैधानिक रूपमा मान्नुपर्छ भन्ने दबाब महसुस नहुने भएकाले पनि त्यति फलदायी हुँदा रहेनछन् । 

यो अन्तिम नहोस् । जे होस्, नेपाली गजलले एउटा युग पार गरेको छ । कसैलाई निषेध नगरी गजलको खास स्वरूपचाहिँ यस्तो हुन्छ है भन्ने कुरा सिकाएर बाटो बिराएकाहरूलाई बाटो देखाउने तथा इतिहासको सम्मान गर्ने कुरामा राष्ट्रिय गजल महोत्सव सफल रह्यो । यो नेपाली गजलको महत्त्वपूर्ण प्राप्ति हो ।

विगतमा राजधानीमा नै अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मंचको पहलमा गजलका राष्ट्रिय र अन्तर्राष्ट्रिय महोत्सवहरू सम्पन्न भएका थिए । ती महोत्सवहरू गजलको विकासका लागि थिए । त्यतिखेर अनाममण्डली लयको वकालत गर्थ्यो र गजलमा पछिल्लो समय देखिएको जस्तो विवाद पनि त्यति थिएन । गजल लेखनको इतिहास जति लामो हुँदै छ, यसमा समस्या पनि त्यति नै देखिँदै जान थाल्यो । मुख्य समस्या के रह्यो भने, दुई-तीनवटा गजल लेखेपछि आफूलाई गजलको पण्डित सम्झने अनि गजल यस्तो हुनुपर्छ भनेर हल्ला गर्नेहरूको सङ्ख्या बढ्दै गयो । यसै कारण हुनुपर्छ विगतमा गजलमा समर्पित बुद्धिसागर, चंकी श्रेष्ठ जस्ता सर्जकहरू आज आफूले गजल लेख्ने गरेको कुरा सम्झन पनि चाहँदैनन् । 

गजलमा यसरी विकृति आउनुहुन्न, एउटा मानक बन्नुपर्छ भन्ने सबैतिरबाट माग भएबमोजिम नै यस पटक नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरू गजलप्रति चिन्तनशील देखिए । प्राज्ञ डा. देवी नेपालको अग्रसरतामा प्रज्ञाप्रतिष्ठानले प्रज्ञा नेपाली बालगजल प्रकाशन गर्‍यो । प्राज्ञ प्रा‍.डा‍. हेमनाथ पौडेलको अग्रसरतामा प्रज्ञा आधुनिक नेपाली गजल प्रकाशन भयो

नेपालीमा कस्ता गजल लेखिँदै छन् ? नेपाली गजलको परम्परित अवस्था कस्तो छ ? भन्ने बुझ्न उक्त गजल सञ्चयनहरू महत्त्वपूर्ण बनेका छन् ।

गजलप्रति प्रज्ञाप्रतिष्ठानले देखाएको रुचि र गरेको चिन्तनले केही आशाका किरणहरू देखिन थालेका थिए । अचानक प्रज्ञाबाट फोन आयो– ‘प्रज्ञाले गजल महोत्सव आयोजना गर्दै छ । बैठकमा सहभागी हुनुहोला ।’ गजललाई माया गर्ने म जस्ता धेरै जनाको खुसीको सीमा रहेन । आखिर प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव, २०७६ ऐतिहासिक रूपमा सम्पन्न गर्‍यो । नेपाल प्रज्ञाप्रतिष्ठानको साहित्य पद्य काव्य विभागले राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा सम्पन्न गरेको राष्ट्रिय गजल महोत्सवले नेपाली गजलको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

राष्ट्रिय गजल महोत्सव, २०७६ ले गजलको शास्त्रीयतालाई महत्त्व दिँदै मौलिक परम्पराको पनि सम्मान गरेको छ । 

महोत्सवको पहिलो दिन माघ १५ गते पहिलो सत्रमा उद्घाटन समारोह, दोस्रो सत्रमा देशका सातै प्रदेश तथा काठमाडौं उपत्यकाबाट चयन गरिएका प्रतिनिधि गजलकारहरूको गजल प्रस्तुति तथा तेस्रो सत्रमा देशका विभिन्न स्थानबाट बोलाइएका प्रतिनिधि गजलकारहरूबाट तरन्नुममा गजल गायनको कार्यक्रम आयोजना भएको थियो । प्रदेश तथा उपत्यकाबाट चुनिएका गजल प्रस्तुतिपछि प्रतिनिधि चयनका क्रममा अलिक ध्यान पुगेनछ भनेर गाइँगुइँ सुनिए पनि समग्र नेपाली गजलले समातेको दिशा बुझ्न वाचित गजलहरू सफल रहे । तरन्नुम गायनअन्तर्गत मोतीराम भट्टदेखि आवाज शर्मासम्मको गजल प्रस्तुत हुँदा गजलको वास्तविक स्वरूप र शास्त्रीयता पछ्याएर लेखेका गजलहरू कति प्रभावकारी बन्दारहेछन् भन्ने दृष्टान्त दिन नेपाल प्रज्ञाप्रतिष्ठान सफल रह्यो ।

नेपाली गजलले पुनर्जागरणपछि बाटो बिरायो । एकातिर लयको उपेक्षा भयो भने अर्कातिर मौलिक लय स्थापनाका प्रयासहरू पनि भए । यसै क्रममा गजलको शास्त्रीयताको पूर्ण पालना र बहरको अनिवार्यताको वकालत पनि हुन थाल्यो । 

यसबीचमा नेपाली गजलमा चरम विवाद देखियो । नेपाली गजलमा लयविहीन, मौलिक लय तथा बहर गरी तीन धारका गजलहरू देखापरे । फरक धारका फरक सौन्दर्यका गजलहरू लेखिँदै गरेको नेपाली गजल परम्परामा मानकको खोजी भइरहेको थियो । यसका लागि एउटा भरपर्दो अभिभावकको भूमिका नेपाली गजलले खोजिरहेको थियो । उक्त अभिभावकत्व यस पटक नेपाल प्रज्ञाप्रतिष्ठानले निर्वाह गर्‍यो । प्राज्ञहरू डा. देवी नेपाल तथा प्राडा हेमनाथ पौडेल तथा प्रज्ञाको सिङ्गो टिम नै गजलले खोजेको मध्यस्तकर्ता मात्र होइन, अभिभावकीय भूमिकामा देखापरेपछि नेपाली गजलमा लयको अनिवार्यता सर्वस्वीकार्य बन्यो । 

राष्ट्रिय गजल महोत्सव, २०७६ को दोस्रो दिन माघ १६ गते गजल विमर्श कार्यक्रमको आयोजना भएको थियो । उक्त कार्यक्रमअन्तर्गत टीकाराम उदासीद्वारा ‘नेपाली गजल : परम्परा र प्रवृत्ति’ तथा डा. घनश्याम परिश्रमी र घनेन्द्र ओझाद्वारा ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ विषयक गोष्ठीपत्र प्रस्तुत भएका थिए । उक्त गोष्ठीपत्रहरूमाथि प्राडा कृष्णहरि बराल तथा डा. नेत्र एटम, डा. सनतकुमार वस्ती, डा. गीता त्रिपाठीले टिप्पणी गरेका थिए । 

तोकिएका टिप्पणीकर्ताका अतिरिक्त सहभागीहरूबाट पनि धारणा राखिएको उक्त कार्यक्रममा गजलको सैद्धान्तिकताको बारेमा राम्रै छलफल भयो । कार्यपत्र प्रस्तुति पछि ‘आजको गजल लेखन : चुनौती र दिशा’ विषयक परिसंवादको आयोजना भयो । गजल बहरमा नै लेख्नुपर्छ, मौलिक लयमा पनि लेख्न सकिन्छ तथा गजलको आत्मा काव्यात्मक हुनु हो, कवितात्मक गुण नभएका रचना गजल हुँदैनन् भन्ने तीनवटै धारका प्रतिनिधित्व गर्ने अग्रज तथा समकालीन स्रष्टाहरू ज्ञानुवाकर पौडेल, ललिजन रावल, करुण थापा, आवाज शर्मा तथा साधना प्रतीक्षा सहभागी रहेको उक्त परिसंवादले गजल शासत्रीय लयमा लेख्नुपर्छ, लय मात्र होइन यसले रूप र अन्तर्वस्तु दुवैलाई उत्तिकै उठाउनुपर्छ भन्ने कुराको निष्कर्ष निकाल्यो ।

यसै दिन राष्ट्रिय गजल महोत्सवअन्तर्गत सातै प्रदेशबाट छानिएका स्रष्टाहरूले प्रादेशिक प्रतिवेदन प्रस्तुत गरे । यस क्रममा भने कुनै कुनै प्रदेशको प्रतिवेदन प्रस्तुतकर्ताहरूको अध्ययनको सीमितता देखियो । समेटिनुपर्नेजति स्रष्टा र विषय समेटिएनन् भने कतै तथ्यगत बन्न सकेन भन्न आवाज पनि उठे । त्यसो त छोटो समयमा प्रादेशिक प्रतिवेदन तयार पार्नु आफैँमा चुनौतीको काम थियो । यो महोत्सवले यस्ता प्रतिवेदन तयार पार्दा अलिक समय दिएर एउटा व्यक्तिमा मात्र निर्भर नरही कम्तीमा फरक जिल्लाका तीन व्यक्तिको एउटा समूह बनाएर समूहबाट प्रतिवेदन पेस गरियो भने त्रुटिमुक्त हुन सकिन्छ भन्ने शिक्षा पनि दियो । 

राष्ट्रिय गजल महोत्सव, २०७६ को अन्तिम सत्र थियो- अग्रज गजलकारहरूबाट गजल वाचन । यो सत्र पनि अत्यन्त उत्साहजनक नै रह्यो । भर्खरै गजलको सैद्धान्तिक बहस सकेर गजल वाचन गर्नुपरेकाले अग्रज गजलकारहरूले पनि मेरो गजल ठीक भयो त होला नि ? भनेर गरेको प्रश्नले एकातिर गजलको सैद्धान्तिकताप्रति अग्रजहरूको ध्यान जान थालेको बुझिन्थ्यो भने अर्कातिर अब मैले शास्त्रीयताको पालना गरिनँ भने मेरा रचनाले गजलको मान्यता नपाउने रहेछन् भन्ने भय पनि देखिन्थ्यो । 

युवा तथा खेलकुद मन्त्रीको प्रमुख आतिथ्यमा समापन समारोह गरी घोषणापत्र मस्यौदा समितिका संयोजक प्रा.डा. कृष्णहरि बरालले घोषणापत्र सार्वजनिक गरेपछि महोत्सव सकियो ।

लेखनको आधारमा नेपाली साहित्यमा झन्डै डेढ शताब्दीको इतिहास रहेर पनि अन्योलको भुमरीमा रहेको नेपाली गजलले गजलको रूप तथा अन्तर्वस्तुका बारेमा एउटा खाका तयार पार्‍यो । नेपाल प्रज्ञाप्रतिष्ठानमा डा. देवी नेपालबाहेक गजल लेखिरहेका प्राज्ञहरू छैनन् । यति भएर पनि गजलको उन्नयनमा यस पटक प्रज्ञाप्रतिष्ठानले जुन तत्परता देखायो, त्यो स्तुत्य छ । काव्य विभाग र यसका प्रमुख प्राडा हेमनाथ पौडेलको सबै साहित्यिक विधालाई समान सम्मान र स्थान दिने उदारतापूर्ण सोच यसको प्रमुख कारक हुन सक्छ ।

सहभागीहरूको एउटै मत थियो– यो अन्तिम नहोस् । जे होस्, नेपाली गजलले एउटा युग पार गरेको छ । कसैलाई निषेध नगरी गजलको खास स्वरूपचाहिँ यस्तो हुन्छ है भन्ने कुरा सिकाएर बाटो बिराएकाहरूलाई बाटो देखाउने तथा इतिहासको सम्मान गर्ने कुरामा राष्ट्रिय गजल महोत्सव सफल रह्यो । यो नेपाली गजलको महत्त्वपूर्ण प्राप्ति हो ।


प्रभाती किरण नेपाली साहित्यका कविता, गजल र समालोचनामा कलम चलाउनुहुन्छ ।