आधुनिक प्रविधिको प्रयोग द्वारा पठनपाठन गरिदै

आधुनिक प्रविधिको प्रयोग द्वारा पठनपाठन गरिदै

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ २३, २०७६

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा रहेको सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग द्धारा पठनपाठनको शुरुआत गरेको छ । अहिले इ शिक्षा (टेलीटिचिङ ) प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई  सोमबार र मङ्गलबार एक÷एक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाल पढाउने गर्नुभएको छ । 

अध्ययनका लागि दक्षिण कोरिया पुगेका उहाँले विद्यार्थीलाई भाषा र संस्कृतिको बारेमा सिकाउनुहुने बताइएको छ । टेलीटिचिङ कक्षा  सञ्चालन गर्न दक्षिण कोरियाको टेलिकमले विद्यालयको एउटा कोठामा अत्याधुनिक प्रयोगशाला तयार गरिदिएको छ । कक्षा कोठाको अगाडि ७२ इञ्जको एलइडी मनिटर राखिएको छ ।  छेउमा वेभ क्यामेरा जडान गरिएको छ । इन्टरनेट जडान गरेपछि वेभ क्यामेराको माध्यमबाट सिकाउने गरेको कम्प्युटर शिक्षक टकबहादुर पुनले जानकारी दिनुभयो ।

‘टेलीटिचिङ गराउन पाँच एमबिपिएस क्षमताको इन्टरनेट जोडेका छौँ’, उहाँले भन्नुभयो, ‘वेभ क्यामेरा र इन्टरनेटबाट फरक फरक ठाउँमा भएका शिक्षक र विद्यार्थीले साक्षात्कार गरेर पढ्छन् ।’ एलइडीको पर्दामा शिक्षक र विद्यार्थीको दृष्य एक अर्काले देख्न सक्छन् । आवाज पनि सुनिन्छ । आमनेसामने भए जसरी नै कुराकानी गर्छन् । कक्षा ११ का २२ र १२ का १९ विद्यार्थी टेलीटिचिङमा सहभागी भएका छन् । भौगोलिक हिसाबले धेरै टाढा भएका शिक्षकले पनि गाउँमा रहेका विद्यालयमा पढाउँदा दङ्ग परेको विद्यार्थी सनम सुनारले बताउनुभयो । छात्रा सन्ध्या श्रेष्ठले कक्षा कोठामा शिक्षकको भौतिक उपस्थितिजस्तै हुने अनुभव सुनाउनुभयो । 

पर्दामा पुस्तकका साथै दृष्य हेर्दै र अडियो सुन्दै पढ्दा समय बितेको पत्तै नहुने कक्षा ११ का गौतम विकले बताउनुभयो । दक्षिण कोरियाको भाषा, संस्कृति र रहनसहनको बारेमा पढीरहेका छन् । कक्षा कोठामा शिक्षकको भौतिक उपस्थिति बिनै प्रविधिको प्रयोग गरेर फरक ठाउबाट पनि पढाउन सकिने विद्यालयका प्रअ किसन पुनले बताउनुभयो । ‘अहिले परीक्षणको क्रममा छौँ’, उहाले भन्नुभयो ‘विषयगत शिक्षक नभएको विद्यालयमा टेलीटिचिङबाट पढाउन सकिन्छ ।’

विद्यार्थीको पढाइप्रति रुचि बढेको छ  । विद्यालयलाई टेलीटिचिङका साथै भवन र कम्प्युटर ल्याब सञ्चालन गर्न पनि दक्षिण कोरियाको अम हङ गिल फाउण्डेशनले सहयोग गरेको छ । मासिक २७ हजार रुपैयाँ इन्टरनेटको शुल्क तिर्न पनि संस्थाले नै सहयोग गरेको छ । फाउण्डेशनको सहयोगमा नौ कोठे भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष वुद्धि पुनले बताउनुभयो । 

यसअघि १६ ल्यापटप सहयोग गरेको संस्थाले थप २१ उपलब्ध गराउन लागेको छ ।