स्याडागाउँका ३६५ जनालाइ रुघाखोकी र भारइल ज्वरो

स्याडागाउँका ३६५ जनालाइ रुघाखोकी र भारइल ज्वरो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २३, २०७६

सिमकोट । रुघाखोकी र भाइरल ज्वरोका बिरामीले सिमकोट गाउँपालिका–८ स्याडामा गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् ।

सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् । मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्य चौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताउनुभयो । ‘स्वास्थ्य चौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ’, उहाँले भन्नुभयो, ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो तर गाउँभरी नै बिरामी थला परेकाले अहिले समस्या भएको छ ।’ 

जिल्लाभरि सयौँको सङ्ख्यामा बिरामी परेको स्वास्थ्य सेवा कार्यालयका नर्सिङ इन्चार्ज सरिता बोहोराले बताउनुभयो । गाउँमा रुघाखोकी र भाइरल ज्वरोले आक्रान्त वृद्धवृद्धा र बालबालिकाको समयमै उपचार हुननसके यसले ठूलो रूप लिनसक्ने स्थानीयवासी नुर्बु बुढाले बताउनुभयो । हुम्लामा मौसमी रुघाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ ।