बूढासुब्बा गोल्डकपको २२औँ संस्करण फागुन १० देखि

बूढासुब्बा गोल्डकपको २२औँ संस्करण फागुन १० देखि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २३, २०७६

धरान । बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान फुटबल क्लबले देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । 

क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ । विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई पाँच लाख रुपैयाँ दिने अध्यक्ष राईले जानकारी दिनुभयो । अघिल्लो संस्करणमा विजेतालाई आठ लाख रुपैयाँ र उपविजेतालाई चार लाख रुपैयाँ दिइएको थियो ।  

धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।  

बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो प्रणाली नेपालमै पहिलोपटक बूढासुब्बाले प्रयोगमा ल्याउन लागेको क्लबका अध्यक्ष राईले जानकारी दिनुभयो ।