छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २३, २०७६

काठमाडौं । काठमाडौं, बारा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । 
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित अण्डरपास सडकमा हाल नम्बर नखुलेको टिपरले प्रदेश नम्बर २–०३–००४ प ५५० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कठहरिया गाउँपालिका–४ घर भएका १९ वर्षीय राकेश कुमार चौधरी र सोही गाउँपालिका–७ घर भएका २४ वर्षीय मुन्ना चौधरीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बारा,जितपुर सिमरा उपमहानगरपालिका–२ निम्बु फारमस्थित सडकमा ना.७ त १४५५ नम्बरको ट्याक्टरको टेलरबाट खसेर गम्भीर घाइते भएका पर्सा सखुई जमुनी गाउँपालिका–२घर भएका ३५ वर्षीय लालबाबु पटेललाई उपचारको लागि अल्पाईन अस्पताल सिमरातर्फ लैजाने क्रममा बुधबार दिउँसो बाटोमै मृत्युभएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
मकवानपुर, बाग्मती गाउँपालिका–७ पाथिभरास्थित सडकमा ग.१४ प ३७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भईबुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल वतन नखुलेका २३ वर्षीय नरेश घर्तीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका(४ बस्ने १८ वर्षीय समिर गुरुङलाई थप उपचारको लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।