कांग्रेसलाई चिन्ता  काखा-पाखा गरेकोमा छ कि गच्छदार परेकोमा !

कांग्रेसलाई चिन्ता  काखा-पाखा गरेकोमा छ कि गच्छदार परेकोमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २४, २०७६

कमै मात्रै सदन अवरुद्ध गर्ने नेपाली कांग्रेसले बिहीबार प्रतिनिधिसभा अवरुद्ध गर्‍यो ।

बानी नपरेकै कारण होला प्रतिपक्षको अगाडिको बेञ्चमा बसेकी पार्टी कोषाध्यक्ष तथा सांसद सीतादेवी यादव विरोध स्वरूप उठ्नै बिर्सनुभयाे । पछाडिको ‘रो’बाट सांसद दिलेन्द्र बडूले कोट्याउनुभयाे । किन र कसले कोट्याएको भनेर पछाडि हेर्दा उहाँले सबै उठेको देख्नुभयाे र उठ्नुभयाे ।

जे होस् , २०७६ माघ २३ गते बिहीबारकाे प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गर्‍यो । 

कांग्रेसले किन अवरुद्ध गरेको स्पष्ट सन्देश भने दिन सकेन । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले पार्टी उपसभापति विजय गच्छादारको विषयमा केही जानकारी गराउनुभयाे । नेपालको राजनीतिमा उहाँको योगदान स्मरण गराउनुभयाे, उहाँलाई राजनीतिक पूर्वाग्रह राखेको आराेप लगाउनुभयाे ।

नेपालको राजनीतिक परिघटनामा बुधबारको घटना महत्त्वपूर्ण थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महत्त्वपूर्ण कदम चालेको हो । बहालवाला न्यायधीशदेखि आफ्नै पूर्वप्रमुख आयुक्तमाथि पनि मुद्दा दायर गरेको छ ।

कांग्रेसका एकथरी कार्यकर्ता भन्दै छन्, 'कांग्रेस सुदृढीकरणमा कम्युनिस्ट लाग्यो । यदि अदालतप्रति विश्वास राख्ने हो भने गल्ती नगर्ने मान्छे फस्ने छैनन् । गच्छदार पनि निर्दोष भए छुट पाउनुहुनेछ । छाती ठूलो बनाएर कांग्रेसले देखिस् भन्न पाउला !

फर्कौ‌ सदन अवरुद्धतर्फ नै । सांसद भुषालले भन्नुभएकाे छ, 'हाम्रा नेतामाथि भएको अन्यायको खातिर आजको दिन यो सदन चल्न सक्दैन ।' अझ अर्को बैठक चल्छ वा चल्दैन तर बिहीबार कांग्रेसकाे त्यस्ताे कुनै शर्त भएजस्तो देखिएन । शुक्रबारबाट कांग्रेस भ्रातृ संगठनले विभिन्न किसिमका आन्दोलन घोषणा गरेका छन् ।

त्यो समयमा सभामुख अग्निप्रसाद सापकोटाले भन्नुभएकाे एउटा कुरा महत्त्वपूर्ण छ । उहाँले भन्नुभएकाे छ, 'हामीलाई थाहै छ, हाम्रो कार्यक्षेत्र कहाँकहाँ छ भनेर । अझ
अदालतमा मुद्दा लगेको संवैधानिक निकाय अख्तियारले हो ।'

सरकारले गठन गरेको शारदाप्रसाद त्रिताल नेतृत्वको आयोगले दिएको प्रतिवेदनकै आधारमा अख्तियारले थप अनुसन्धान गरी यो स्थितिसम्म पुगेको हो । विगतमा जोडदार रूपमा उठाउन नसके पनि कांग्रेसले सदनमा पटक-पटक यो विषय स्मरण गराएकै हो ।

ललिता निवासको जग्गा हिनामिना गर्नेमाथि कारबाही हुनुपर्छ । कांग्रेसको पनि माग हो । हो, कांग्रेसले अख्तियारको भूमिकामा शंका गर्नु सत्तारुढ दलका सांसद जोगिनुले सत्ताको प्रभाव पर्‍यो भन्नु स्वाभाविक देखिएला तर बिहीबार कांग्रेसले गरेको सदन अवरुद्ध र सचेतकले बोलेका शब्दले सबै नपरेको, काखा पाखा गरेको वा सत्तारुढ दलका नेता जोगिएको भन्दा पनि उपनेता गच्छदार परेको कारण प्रष्टै देखिन्छ ।

कम्तीमा कांग्रेसले अख्तियारले यस्तो कामको थालनी गरेकामा धन्यवाद दिँदै आफ्ना उपनेता दोषी भए सजाय र निर्दोष भए सफाई पाउँछन् भन्ने उदारता देखाएर जग्गा प्रकरणमा मुछिएका अरू नेताको विषयमा कुरा उठाएको भए केही हदसम्म कांग्रेस माथि हुन्थ्यो होला‍‍‍ ।

तर, सबै जनताले प्रत्यक्ष हेर्न सक्ने सदनमा कांग्रेसले त्यसो भन्न सकेन बरु कांग्रेस नेता गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्नुभएकाे छ र पहिलो नम्बर बुँदामा नै भन्नुभएकाे छ, 'ललिता निवासको जग्गा बिक्रीमा कांग्रेस नेता विजयकुमार गच्छदारको संलग्नताको विषय अदालत प्रवेश गरिसकेको छ । उहाँ सही हुनुहुन्थ्यो वा गलत त्यसको फैसला अदालतले गर्नेछ । अझ अदालतको निर्णय सबैले मान्नुपर्छ । कम्तीमा सदनमा कांग्रेसले यति कुरा रेकर्ड गराएको भए कांग्रेसको मुद्दा बलियो हुन्थ्यो कि ?'

विगतमा जस्तै कमजोर धरातल बनाएर निहीत स्वार्थमा मात्रै केन्द्रित गरेर मुद्दा उठाउने र केही समयमा गल्ने विगतको प्रवृत्तिमा नै कांग्रेस लागेको देखिन्छ । कांग्रेसले आफ्ना नेता परेकामा भन्दा बढी चिन्ता अरू नपरेकामा लिनुपर्ने थियो तर उसको सदनको स्वर गच्छदार नपर्दा मात्रै पुग्ने देखियो ।

कांग्रेसले विगतमा गच्छदारले नेपाली राजनीतिमा खेलेको भूमिकाको चर्चा गरेको छ, पटक पटक निर्वाचित भएको पक्षको चर्चा गरेको छ । उहाँ कारबाहीमा पर्दा जनताको अपमान हुने बताएको छ । यसले निर्वाचन जित्दै राजनीतिक आन्दोलनमा विगतमा अग्रपंतिमा उभिएको कारण गल्ती गर्नेमाथि छुट दिनुपर्ने होर ?  कांग्रेसतर्फ प्रश्न तेर्सिएको छ ।

कांग्रेसका एकथरी कार्यकर्ता भन्दै छन्, 'कांग्रेस सुदृढीकरणमा कम्युनिस्ट लाग्यो ।' यदि अदालतप्रति विश्वास राख्ने हो भने गल्ती नगर्ने मान्छे फस्ने छैनन् । गच्छदार पनि निर्दोष भए छुट पाउनुहुनेछ । छाती ठूलो बनाएर कांग्रेसले देखिस् भन्न पाउला !

अदालतमा गएको विषयलाई उतै छोड्दै अरूलाई कारबाही गर्न र अन्य अनियमितताका विषयमा अघि बढ्न दबाब दिँदा प्रतिपक्षमाथिको विश्वास बढ्ला अन्यथा उसले उठाउने अन्य मुद्दामाथिको विश्वास पनि कमजोर बन्दै जानेछ ।

राजनीतिक योगदानको विषय उसले गर्ने अनियमितता वा गल्तीसँग जोडियो भने त विगतमा स्व‌. खुमबहादुर खड्काको पनि कम थिएन होला । पूर्वसभामुख कृष्णबहादुर महराकोे पनि कम थिएन होला ।

राजनीतिक प्रतिशोध गरेको विषयसँग जुध्नुपर्छ तर कुन विषयमा कहाँ कसरी भन्ने विषयले भने अर्थ राख्छ ।