सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २४, २०७६

काठमाडौं । बाग्लुङ, महोत्तरी, कञ्चनपुर र बैतडीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

बाग्लुङ, तमानखोला गाउँपालिका–३ बुलबुलेस्थित सडकमा म्याग्दीको मालिकाबाट जन्ती लिएर जाँदै गरेको ग.१ त ५७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार म्याग्दी मालिका गाउँपालिका–२ जेम बस्ने २१ वर्षीया रिता पुन समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्वास्थ्य चौकी बोङ्गादोभानमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङतर्फ पठाइएको छ । 

महोत्तरी, पिपरा गाउँपालिका–५ सहोडवास्थित सडकमा ज.१ ख ७५८ नम्बरको बसले ज.७ प ८५४५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक पिपरा गाउँपालिका–५ बस्ने १७ वर्षीय राजेन्द्र शर्माको घट्नास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कञ्चनपुर, भिमदत्त नगरपालिका–१९ बागफाँटास्थित सडकमा म.२ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री ८० वर्षीया तुलसी देवी चन्दको महाकाली अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बैतडी, दशरथचन्द नगरपालिका–२ हुसिल्लामोडस्थित सडकमा बा.६ प ९१९९ नम्बरको कार अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका–४ शाहिलेक बस्ने २८ वर्षीय हरीश तिरुवाको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका कारमा सवार दार्चुला शैल्यशिखर नगरपालिका–९ बस्ने ३६ वर्षीय डिकर देब पाण्डेलाई थप उपचारको लागि धनगढीतर्फ पठाइएको छ। 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।