अभाव र दुर्गमतालाई छिचोलेर प्रतिस्पर्धामा खराे उत्रन सफल लोकगायक पृथी जिम्बा अर्थात् पृथीकुमार तामाङ

अभाव र दुर्गमतालाई छिचोलेर  प्रतिस्पर्धामा खराे उत्रन सफल लोकगायक  पृथी जिम्बा अर्थात्  पृथीकुमार तामाङ

शर्मिला खड्का  |  लोकरञ्जन  |  माघ २५, २०७६

पृथीकुमार तामाङ अर्थात् पृथी जिम्बा । शिक्षक पृथीकुमार तामाङ भन्यो भने कमै मानिसले चिन्छन् । चिन्छन् त आफूले पढाएका विद्यार्थी र आफू बसोवास गर्ने खोटाङको खिदिमा आसपासदेखि दिक्तेलसम्मका मानिसले । 

तर, गीत तथा संगीत क्षेत्रका बारेमा केही जानकार मानिसहरूका बीचमा कुनै परिचय गराइरहनुपर्ने नाम भने होइन पृथी जिम्बा । पूर्वी ग्रामीण वस्तीमा बसेर पूर्णकालीन शिक्षण पेसामा सरिक भई ८० भन्दा बढी गीतमा संगीत भर्ने काम कम चुनौतीपूर्ण थिएन । तर, पूर्वको दुर्गम जिल्ला खोटाङको खिदिमस्थित सिद्धेश्वर माविका शिक्षक जिम्बाले काठमाडौंको सांगीत बजारसँग प्रतिस्पर्धासहितको यात्राको बाटो तय गर्नुभयो । यो यात्रा आफैँमा अप्ठ्यारो र कठिन थियो । त्यो अप्ठ्यारो र कठिन बाटोमा उहाँ सफलतापूर्वक हिँडिरहनुभयो ।

यसरी यात्रा गर्ने कुरामा पृथी जिम्बालाई न दुर्गमताले छेक्यो, न त अभावले । उहाँको पर्खाइ हुन्थ्यो, कहिले विद्यालयको छुट्टी हुन्छ र काठमाडौं गएर नयाँ गीत रेकर्ड गर्ने भन्ने । 
जिम्मा भन्नुहुन्छ, ‘मेरो घरैमा संगीत साधना कति कडा रहेछ भने जति पनि स्टुडियोमा रेकर्ड गर्दा कहिले पनि पुनः ‘टेक’ लिनुुपरेको छैन । किनभने मैले त्यसको अलिक लामो नै तयारी गर्दो रहेछु सायद !’

सायद त्यसैको परिणामा हो, तामाङ सेलो, पूर्वेली झर्रो लोकगीतका क्षेत्रमा पृथी जिम्बाको नाम नलिई नहुने नामका रूपमा स्थापित बनायो ।

जन्म, बाल्यकाल र शिक्षा

पृथीकुमार तामाङ (पृथी जिम्बा)को जन्म वि.सं. २०३१ मा पूर्वी पहाडी जिल्ला खोटाङको साविक खिदिमा– ८ (हाल साकेला गाउँपालिका– ३)मा भएको हो । मध्यम वर्गीय किसान  परिवारमा जन्मिनुभएका पृथीका बुबा भने बेलायती सेनामा जागिरे हुनुहुन्थ्यो । बुबाको जागिर नै पृथीको पढाइ र संगीत साधना सफलताको टेको सावित हुन पुग्यो ।  
पृथी तामाङको बाल्यकाल खिदिमको गाउँको घर र खर्कमा नै बित्यो । उहाँले प्रथामिक तहको शिक्षा भने साविक छितापोखरी– ९, हाल दिप्रुङ चुुइचुुम्मा– ६ को बाँस्तोलास्थित मामाघरमा बसेर नजिकै रहेको पञ्चकन्या प्राविबाट  पूरा गर्नुभयो । त्यसैगरी निम्नमाध्यमिक शिक्षा पृथीको मावल बाँस्तोलामा बसेर निमावि धिप्लुङबाट पूरा गर्नुभयो । 

आफू बिकट गाउँमा बसेर सङ्गीत साधना गरेर शहर काठमाडौंसम्म गीत रेकर्ड गर्न आउँदा पृथी जिम्बा पटकपटक ठगिनुभएको छ, सङ्गीत क्षेत्रका दलालहरूबाट । खासगरी भोलि भोलि भनेर १५ दिनसम्म समय गुजारेकाे  र त्याे समयमा अतिरिक्त बजेट र खाजापानीकाे अपेक्षा राखेकाे र व्यहाेरेकाे  पीडादायी अनुभव छ उहाँसँग ।

पृथीले खोटाङ जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारस्थित भगवती मावि खोटाङबजार (हाल दिनानाथ भगवती मावि)बाट एसएलसी पास गर्नु भएको हो । घरबाट हरेक आइतबार सामल र गुन्द्रुक लिएर आएर डेरामा बसेर पढ्नुपर्ने र हरेका शुक्रबार घर जानुपर्ने हुन्थ्यो । त्यसरी शुक्रबार घरमा गएर सामलको जोहो नगर्ने हो भने एक हप्तासम्म भोकै बस्नुपर्ने भएका कारण शुक्रबार घर जाने र एक हप्ताका लागि सामल, खाजा, तिहुन, तरकारी लिएर डेरा बसेको ठाउँ खोटाङबजारको नजिक बड्का दियाले पुगेर पढ्नुपरेको अनुभव सुनाउनुहुन्छ उहाँ । 

एक दिनको कुरा हो, भगवती माविमा खोटाङबजारमा कक्षा नौमा पढिरहेको समयमा स्थानीय खोलामा साथीहरूसँग मिलेर स्थानीय सावा खोलामा माछा मार्न जानुभएछ । संयोग कस्तो परेछ भनेर डेरा बसेको छोरोको बसाइ र पढाइका बारेमा जान्ने इच्छा राखेर बुबा डेरामा आउनुभएछ । 

बेलुका डेरामा आउँदा बुबा आएको देखेर पृथी साह्रै डराउनुभएछ । कतिसम्म भएछ भने उहाँ आफैँले साथीको सल्लाहमा सावा खोलामा गएको र आइन्दा नजाने भनेर बुबा समक्ष साविती हुनुभएछ र आइन्दा त्यस्तो गल्ती नगर्ने बचन दिनुभएछ । आज उप्रान्त एकातिर जान्छु भनेर अर्को काम गर्ने ठूलो शिक्षा लिएको बताउनुहुन्छ । 

यसरी एसएलसी उत्तीर्ण भएपछि जिल्ला सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पसबाट उच्च शिक्षा आईए र बीएसम्मको शिक्षा पूरा गर्नुभयो । आफूले पढ्ने विद्यालयको कुनै कार्यक्रम वा क्याम्पसका कुनै पनि कार्यक्रममा तामाङ आफूसँग भएको संगीत र गीतको प्रतिभा देखाउने गर्नुहुन्थ्यो । 

जबजब त्यस्ता कार्यक्रमहरूमा प्रतिभा देखाउने गर्नुहुन्थ्यो, तबतब शिक्षकदेखि साथीभाइसम्म सबैको एउटै भनाइ हुन्थ्यो– ‘स्वर परीक्षामा भाग लिनू ।’ 

स्वर परीक्षा र शिक्षण पेसामा प्रवेश

पृथीकुमार तमाङ दिक्तेल बुहमुखी क्याम्पस पढ्दै हुनुुहुन्थ्यो । क्याम्पसका कार्यक्रमहरूमा, गोठाला र साथीसँगीहरूको बिचमा पुर्वेली लोकगीत गाएर प्रभावित बनाउने कार्य गर्दै आउनुभएको थियो । 

जतिजति गीत गाउनुपर्ने थियो, त्यति नै स्वर परीक्षा पास गर्ने दबाब थियो । तत्कालीन समयमा कलाकार हुनका लागि पहिलो खुट्किलो मानिन्थ्यो रेडियो नेपाल लिने ६/६ महिना स्वर परीक्षा । यसरी परीक्षा पास गरेपछि कलाकारको मान्यता पाउने चलनका कारण पनि स्वर परीक्षा तामाङका लागि पनि अनिवार्य  थियो । सोही योग्यता प्राप्त गर्न प्रवीणता प्रमाणपत्र पढ्दापढ्दै २०५१/०५२ सालमा लिएको स्वर परीक्षणमा दिने सोच बनाउनुभएछ । 

तत्कालीन रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट स्वर परीक्षाको सूचना सुनेर तामाङ सुनसरीको धरान झर्नुभएछ स्वर परीक्षाका लागि । रेडियो नेपालको क्षेत्रीय प्रसारण कार्यालयमा फर्म भर्नुभएछ । 

स्वर परीक्षा धरानबाट नै दिनुपर्ने थियो तर काम विशेषले उहाँ काठमाडौं आउनुभएछ र त्यही धरानमा भरेको फर्म भरेको निस्साको आधारमा २०५२ सालमा स्वर परीक्षा दिनुभएछ ।  स्वर परीक्षा दिनुभएका तामाङले लोकगीततर्फ २०५३ सालमा स्वर परीक्षा उतीर्ण गर्नुभएछ । 

यसरी लिएको स्वर परीक्षाको नतिजा आउन करिब ६ महिनादेखि एक वर्षसम्म लाग्ने गथ्र्यो । ६/६ महिनामा स्वर परीक्षा दिनुपथ्र्यो । त्यसै बेला रेडियो नेपालको सूचना सुनेर धारनमा झरेर स्वर परीक्षाको फारम भर्नुभयो– २०५३ सालमा स्वर परीक्षा पास हुनुभयो । 

तर, त्यो गीत रेकर्ड गराउन आउन सक्नुभएन । रेडियो नेपालमा रेकर्ड गराउन सकिएन अथवा सायद साइत जुरेन भन्नुहुन्छ  जिम्बा ।  आफ्नो बीएसम्मको अध्यन पूरा गर्नुभएका तामाङ आफ्नो गाउँको विद्यालय सिद्धेश्वरी मावि २०५४ सालबाट शिक्षण पेसा पनि सुरु गरेको बताउनुहुन्छ । 

यसरी शिक्षण पेसा अतिरिक्त उहाँ विशेष संगीत साधनामा सक्रिय हुनुभयो । खासगरी बिहानबेलुका घरैमा सांगीतिक माहोल सिर्जनामा सक्रिय रहने गरेको उहाँ बताउनुहुन्छ । 

प्रतियोगितादेखि एल्बमसम्म

रेडियो नेपाललगायतका संघसंस्थाहरूले विभिन्न खालका राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने गर्थे । त्यसबेलाको रेडियो नेपालका प्रत्येक सूचनालाई चाख दिएर सुन्ने गर्नुहुन्थ्यो उहाँ । त्यहीअनुसार रेडियो नेपालले २०५६ सालमा विभिन्न भाषाभाषीको फूलबारी गीत सम्मेलन आयोजना गर्‍यो ।  

त्यस प्रतियोगितामा खोटाङ जिल्लाको तर्फबाट ‘तामाङ सेलो’ गाउनुभएछ जिम्बाले । त्यसबेला त्यो तमाङ सेलो टप टेनभित्र परेछ । यसरी गाएको तामाङ सेलो रेडियो नेपालले रेकर्ड गर्नुका साथै नेपाल टेलिभिजनले म्युजिक भिडियो नै निर्माण गरेको थियो । यो नै तामाङको रेकर्ड भएको पहिलो गीत थियो । त्यसलाई उहाँ संगीतयात्राको खुट्किलोका रूपमा लिनुहुन्छ ।  

त्यस्तै, २०५६ सालमा रेडियो नेपालले नै अधिराज्यव्यापी बालगीत प्रतियोगीतामा सिद्धेश्वरी माध्यमकि विद्यालयबाटै भाग लिनुभएछ । आफूले नै लेखेको र संगीत गरेको तामाङ भाषाको गीत लिएर बालगीत प्रतियोगिताका लागि छनोट त भयो तर आफ्नो विद्यालयले उक्त गीतको अभ्यास नगरेको र खोटाङदेखि बालबालिका ल्याउन गाह्रो भएको हुँदा तामाङले चलाखी गर्नुभएछ । उपाय निकाल्नुभएछ, जसले गीतमा अभ्यास गर्न र कार्यक्रममा भाग लिन सहज भएछ । 

उक्त बालप्रतियोगिताका लागि भक्तपुरका बालक ‘अनिल योञ्जन’लाई सिद्धेश्वरी माध्यमकि विद्यालयको विद्यार्थी बनाई गीत गाउन लगाउनुभएछ । उक्त प्रतियोगितमा सिद्धेश्वरी माध्यमकि विद्यालय तेस्रो भएछ । त्यसले पनि विद्यालयले तामाङको सांगीतिक यात्राकाे समय सहजता दिलाउने आधार दिलाएछ । 

यसरी केही प्रतियोगितामा भाग लिँदालिँदै २०६० सालमा भरत योञ्जनको शब्द  र गायन रहेको एल्बम झामेको दुःख (छोरीको दुःख) भन्ने आठवटा गीतमा संगीत भर्ने अवसर प्राप्त गरेको बताउनुहुन्छ उहाँ । त्यसैगरी भरत योञ्जनको एल्बम ‘सिन्धुली खुर्कोट’ मा चारवटा गीतमा संगीत दिनुभएको छ उहाँले । 

यसअघि नै २०५६/०५७ सलातिर  नै आफ्नै स्वर, सङ्कलन र सङ्गीतमा  ‘ट्याम्केको शिर’ नामक एल्बम बजारमा ल्याउनुहुने तामाङ २०५९ सालमा आएर भने उहाँ विवाह बन्धनमा बाँधिनुभएको हो । 

२०६१ सालतिर केशव भुमरीको  ‘छम्म खोला’ र राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङ दिक्तेलको प्रस्तुति रहेको  एल्बम ‘नौरङ्गी सपना’का लागि समय दिनुभएका जिम्माले हालसम्म ८० वटाभन्दा बढी गीतहरू श्रोताका लागि उहाँले पस्किसक्नुभएको थियो । उहाँले विष्णु आभूषणको ‘स्टेच’ नामक एल्बममा पनि सङ्गीत गर्नुभएको छ  ।

'नौरङ्गी सपना’  भन्ने गीत यहाँ सुन्न सकिन्छः

पहिलो संविधानसभाको विघटनपश्चात उहाँले लेख्नुभएको गीत वास्तवमा चर्चित बन्न पुग्यो । ‘यो देशमा फेरि अर्को आन्दोलन चाहिन्छ’ बोलको गीत खोटाङमा हुने सबै कार्यक्रममा नाचिएको र गाइएको गीतमा पर्छ  हाेला सायद पृथी  जिम्बा भन्नु हुन्छ । उहाँ भन्नुहुन्छ   '‘यो देशमा फेरि अर्को आन्दोलन चाहिन्छ’ मेराे गीत संगीत क्षेत्रकाे 'ब्रेकअप'  थियाे ।  

‘यो देशमा फेरि अर्को आन्दोलन चाहिन्छ’ यहाँ सुन्न सकिन्छः 

२०७२/०७३ सालतिर एकल एल्बम ‘सासाङ’ बजारमा ल्याउनुभएको छ उहाँले । स्व. क्षेत्रप्रताप अधिकारी, शिलाबहादुर मोक्तान, कालीप्रसाद रिजाल, डा. भोल रिजाल, बुद्धिवीर लामा र टेक तामाङका रचनालाई पृथी जिम्बाले स्वर र  संगीत दिनुभएको छ । 

उहाँको अर्को साह्रै श्रोताले मनपराएको गीत कुन हो भने र नाम लिनु पर्‍यो भने उहाँले नाम लिने गीत हो, ‘कमेजै मैलो अस्कोटै मैलो झनै मैलो सोतो कोट माया हजुर ।’

‘कमेजै मैलो अस्कोटै मैले झनै मैलो सोता कोट माया हजुर’ यहाँ सुन्न सकिन्छः 

जिम्बाको अबको सङ्गीतयात्रा

पृथी जिम्बा एकै पटक धेरैवटा गीतहरूको रेकर्डको चटारोमा भेटिनुहुन्छ । कोही रेकर्ड भइसकेका छन् र सार्वजनिक पनि भएका छन् । केही रकर्ड गर्ने तयरीमा हुनुुहुन्छ उहाँ । 
स्व. पूर्ण तामाङको पूर्वेली झर्रो गीत रेकर्डको तयारी गरिरहनुभएको छ जिम्बा ।  ‘सिलिचुङको सेरोफेरोमा जुनी बित्यो तेरो मेरोमा’ बोलको गीत गाउनुभएको छ उहाँले ।

त्यस्तै, ‘जिउन जाने जिन्दगी यो फूलै फूलको हुन्छ थुङ्गा’ बोलकोे एसएसपी टेक तामाङको रचना र शिव परियारको स्वर रहेको गीतमा संगीत भर्नुभएको छ उहाँले । ‘तालभित्र पौडिरहेँ प्यास कहिल्यै मेटिएन, आधा जीवन हिँडिसकेँ बाटो अझै भेटिएन’ बोलको पूर्वेली झर्रो लोकगीत आफ्नै रचनाका गीतहरु पनि रहेका छन् । 

पृथी जिम्बा निकट भविष्यमा खोटाङस्थित सरस्वती उच्चमावि धिप्लुङका प्रधानाध्यापक नरेन्द्र राई ‘निर्भिक’को रचना रहेको ‘बाच्छा चर्छ बच्चाकै लागि, माहु चर्छ माउकै लागि, अरूको लागि भने पनि मान्छे गर्छ आफ्नै लागि’ बोलको गीतको रेकर्डको तयारी गरिरहनुभएको छ । 

बाच्छा चर्छ बच्चाकै लागि, माहु चर्छ माउकै लागि भन्ने गीत यहाँ सुन्न सकिन्छः

त्यसैगरी गीतकार तेजनारायण सैँजुको ‘कहिले कहाँ पुग्ने होला, ठामको कुरा गर, भोलि बिहान झुल्ने घामको कुरा गर’ बोलको गीतको पनि तयारी गरिरहेको बताउनुहुन्छ ।  

आफू बिकट गाउँमा बसेर सङ्गीत साधना गरेर शहर काठमाडौंसम्म गीत रेकर्ड गर्न आउँदा पृथी जिम्बा पटकपटक ठगिनुभएको छ, सङ्गीत क्षेत्रका दलालहरूबाट । खासगरी भोलि भोलि भनेर १५ दिनसम्म समय गुजारेकाे  र त्याे समयमा अतिरिक्त बजेट र खाजापानीकाे अपेक्षा राखेकाे र व्यहाेरेकाे  पीडादायी अनुभव छ उहाँसँग ।

पृथी जिम्बा  हाल खोटाङको दिक्तेलस्थित  जनजागृति  आधारभूत विद्यालय (शुभद्रा मदन फाउण्डेशन सामाजिक अध्ययन केन्द्रकाे सहकार्यमा सञ्चालित)  मा सङ्गीत शिक्षकका रुपमा कार्यरत हुनु हुन्छ । कुनै औपचारिक रुपमा संगीत कक्षा निलई, शहर नबसेर अभाव र दुर्गतलाई ख्यालै नगररी  गाउँठाउँबाट नै गायन तथा संगीतको क्षेत्रमा चुनाैती दिइरहनु भएकाे छ ।  पृथीको साङ्गीतिक यात्रा तथा सङ्घर्षको कथा सुन्दा लाग्छ, वास्तवमै प्रतिबद्धता हुने हो भने कुनै पनि क्षेत्रमा अभाव र दुर्गमताले छेक्दैन । आवश्यक छ त प्रतिबद्धता र निरन्तरताको ।