१८ गते

१८ गते

रूपक अलङ्कार  |  साहित्य  |  माघ २५, २०७६

१८ गते म पशुपति पारिपट्टि मृगस्थलीमा थिएँ । मेरो शिरमाथि पीपलका हाँगा फिँजारिएका थिए । म पीपलको काखमा विश्रामस्थ थिएँ । आधा घण्टाभन्दा नि पहिलेदेखि म परम् मित्र शान्तिरामको अधीर प्रतीक्षामा थिएँ । अझै पनि ऊ आइसकेको थिएन र आइहाल्ला जस्तो लक्षण पनि थिएन । 

ऊ चाँडै आइहाल्ने प्राणी होइन भन्ने तथ्यको शत प्रतिशत जनकार आफू हुँदाहुँदै पनि आउँछ कि भन्ने आशा मैले त्यागेको थिइनँ । किनभने ऊ आउने आशा सकिनेवित्तिकै म नै त्यहाँबाट हिँड्नुपर्थ्यो । त्यसो गरिहाल्ने पक्षमा म तयार थिइनँ । 

१२ बजेभन्दा पछाडिको समय भए पनि मृगस्थलीमा शीतल थियो । पशुपतिबाट उकालो लागेर गए पनि गुह्येश्वरीबाट उकालो लागेर गए पनि भेटिएर विश्वरूपतिर तेर्सेपछि देब्रेतिर बडेमानको बोधीवृक्ष छ । हो, त्यहीँ बसेर म शान्तिरामको प्रतीक्षा गर्दै थिएँ । दायाँबायाँ मान्छे र बाँदर सरोबर थिए । 

कहिले बाँदरले मान्छे सताउने र कहिले मान्छेले बाँदर सताउने क्रम म आउनुभन्दा पहिलेबाटै जारी थयो । म हातमा गीता प्रेस गोरखपुरबाट प्रकाशित ईशोपनिषद्को कृषकाय पुस्तक लिएर दायाँबायाँको आनन्दमय वातावरण अवलोकन गर्दै थिएँ, शान्तिरामको प्रतीक्षामा । ऊ आएको थिएन । 

भर्खर फोन गरेर आउनै लागेको कुरो जानकारी गराएको थियो र म रिसाउन नभ्याउँदै फोन राखेको थियो । भेट हुन तोकिएको समयभन्दा आधा घण्टा पछाडि म आएको थिएँ । ४५ मिनेट भइसकेको थियो । त्यसपछि फोन गरेर उसले आफू आउनै लागेको कुरो बतायो । मसँग पत्याउनुको विकल्प पनि थिएन । 

मध्याह्नमा मृगस्थली जस्तो ठाउँमा एक्लै बस्नु कम्ती सकसपूर्ण काम होइन । मेरा वरिपरि यस्ता धेरै जोडी बसेका थिए, जसलाई मेरो कुनै वास्ता थिएन तर म उनीहरूको खुब वास्ता गरिरहेको थिएँ । तर पनि मेरो हातमा उपनिषद्को पुस्तक थियो र म शान्तिरामको प्रतीक्षा अशान्त भएर गरिरहेको थिएँ । 

खासमा हामी डेढ महिनापछि आउनै लागेको परीक्षाको तयारीमा थियौँ । मैले कोठामै पनि परीक्षाको तयारी गर्ने निकै तयारी गरेको हुँ । बिहान उठेर तयारी थाल्ने विचार थियो । चिया नखाई के पढ्नु भनेर खरीबोट निस्किएँ । चिया पिएँ । काकाको काभ्रेली कफी सपमा । 

एकछिन पत्रिका पढ्नै पर्छ जस्तो लाग्यो । हो त नि भनेर लागेँ काकाकै पत्रिका पसलतिर । काकाले ‘फिरी’मा पत्रिका पढ्न दिन थालेका छन्, दोस्ती बढ्दै जाँदा । पढ्नै पर्‍यो । फर्किने बेलामा अच्युत आइपुग्यो । गफ गर्नै पर्‍यो । फुको गफले गला लाग्ला भन्ने डर । चिया पिउनै पर्‍यो । पौने नौ बज्नै आँटेकाले कोठातिर लागेँ परीक्षाको तयारीमा लग्न । 

फेरि भात नखाई के पढ्नु भन्ने विचार पलाएपछि भात पकाउन थालेँ । एकचोटि तरकारी लिन, अर्कोचोटि तेल लिन र अर्कोचोटि नुन लिन गरेर तीननचोटि खरीबोटसम्म पुगी आई खाना बनाई गर्दा बज्यो साढे दश । 

भात खाएपछि निश्चित रूपमा परीक्षाको तयारी थाल्नुपर्छ भन्ने दृढ संकल्पसहित भात खाएँ । भात खाइसक्दा नसक्दै अल्छी लागेर आइहाल्यो । नुहाएर अल्छी पखाल्छु भनेर नुहाएँ पनि । जाँगर जागेर आयो । हातार हतार पढ्न बसेँ । 

भित्तापट्टि सिरानी राखेर, अगाडि सानो टेबुल राखेर, टेबुलमा किताब राखेर, छेउमा कलम–कापी राखेर, बीचमा आफू बसेर परीक्षाको तयारी थालेँ । एकैछिनमा ज्यान तातेर आयो । भुइँमा बसेर हुन्छ कि त भनेर खाटबाट भुइँमा हामफालेँ । अहँ भएन । 

सुतेर ‘ट्राइ’ मार्नुपर्‍यो भनेर लम्पसार परेँ । भूत लागेजस्तो गरी निद्रा लागेर आयो । जुरुक्क उठेर पिसाब फेर्न गएँ । भात खाएर कोठामा बसेर एक्लै पढिन्न भनेजस्तो लागेर आयो । पढ्न र पिरती लाउन २ जना चाहिन्छ भन्ने शास्त्रवचन पनि भएकाले शान्तिरामलाई फोन गरेँ । 

सुतेर परीक्षाको तयारी गर्ने मेरो जस्तै बानी उसको पनि भएकाले त्यसै गर्दै रहेछ । एकछिनमा उसको आवाज सङ्लिएर आयो । आधा घण्टामा मृगस्थलीमा भेट्ने र सँगै परीक्षाको तयारी गर्ने मेरो प्रस्ताव भुइँमा खस्न नपाउँदै उसले अनुमोदन गर्‍यो । त्यसको आधा घण्टापछि कोठाबाट निस्केर मृगस्थली पुगेर म उसको प्रतीक्षारत थिएँ तर ऊ आएको थिएन बरु अरू नै आइरहेका थिए । गइरहेका थिए । 

म बसेको भन्दा केही पर गजुर ढल्केको मन्दिर थियो । मन्दिरको द्वारमा साँढे घुत्रुक्क बसेको थियो, भित्र महादेव पसेको दिनदेखि । साँढेलाई दाहिनेतिरबाट अँगालो हालेर एउटी अधबैँसे बसेकी थिई । ऊसित मौजुद मान्छे तरह तरहले उसकै फोटो खिचिरहेको थियो । 

त्यसपछिको एउटा मन्दिरभन्दा पछाडिको अर्को मन्दिरको पछाडिपट्टिको भित्तामा अडेस लागेर कुनै कलेजका छात्रछात्रा बसेका थिए, करिब ६० प्रतिशत टाँसिएर । विश्वरूप मन्दिरको सुरक्षाकर्मी आएको देखेपछि उनीहरू करिब १५ प्रतिशत मात्र टाँसिएर बसे । म भने त्यतिबेलासम्म पनि शान्तिरामकै प्रतीक्षामा अशान्त थिएँ । 

अझै पनि मैले परीक्षाको तयारीका लागि भनेर किताब पल्टाएको थिइनँ । अब भएन भनेर पल्टाएँ किताब र लगाएँ दृष्टि । ईशावाश्यमिदम् सर्वम् यत्किञ्च जगत्यञ्जगत् । यस संसारका कणकणमा ईश्वरको उपस्थिति छ भन्ने सामान्य अर्थ बुझे पनि शंकराचर्यको भाष्यमा झरेपछि औधी लामो हाई लागेर आयो । तनक्क आङ तानेँ । दायाँ फर्कें । बायाँ फर्कें ।

बायाँतिर परम् सुन्दरी लावण्यवती युवतीको अचानकको उपस्थितिले मलाई आतङ्कित बनायो । रूपसौन्दर्यले लवालव यस्ती यौवना कतिखेर आई ? किन आई ? कसरी आई ? जस्ता हजारौँ प्रश्नले मलाई तत्काल आक्रमण गरे । 

म बेहोस हुँला कि हुँला कि जस्तो भएँ तर बेहोस भने भइहालिनँ । एक मन त त्यहाँबाट उठेर हिँडूँहिँडूँ जस्तो पनि लाग्यो । अर्काे मन लाग्यो, लास्टै कायर पनि त हुनु भएन नि ! कुनै केटी नजिकै बस्दैमा मेरो ब्रह्मचर्य भङ्ग हुने हो र ? म फेरि उपनिषद्मा घोरिएँ । घोरिएँ के भन्नू घोरिएजस्तो गरेँ । उसको वास्तै नगरेजस्तो गरी । 

मलाई आफू बसेको ढुङ्गो तात्दै आएको हो कि झैँ लाग्यो । दुईचोटि घाँटी बजाएर घाँटी सफा गरेँ तर झन् आप्ठ्यारो भयो । 

‘तपाईं त कस्तो भीडमा पनि पढ्नसक्नु हुँदोरहेछ’, वर्षौंदेखि चिने जसरी उसले भनी । म मलाई भनेको हो कि होइन भनेरै समस्यामा परेँ । नजिक कोही अर्काे मूर्ति मौजुद नभएकाले मलाई नै भनेको होला ठानी हाँसेजस्तो पनि गरेँ । मलाई लाग्छ, मेरो मुखमुद्रा भने रोएजस्तो भयो होला । 

‘के पढ्नु भा’को त्यसरी ?’, फेरि सोधी ।

हे प्रभु ! मलाई के आपत आइलाग्या होला यो ? 

‘उपनिषद्’, एक शब्दमा जवाफ आयो मेरो मुखबाट ।

‘उपनिषद् ? ए उपनिषद् । गारो हुन्छ होला हगि ?’, लौ मार्‍यो यसले त उपनिषद् गारो हुन्छ भन्ने पनि थाहा पाएकी रहिछे । मान्छे पढालिखा नै हो कि क्या हो ?

‘अँ, गारै हुन्छ’, अब मैले वाक्यमा उत्तर दिनुपर्‍यो ।

‘मलाई नि संस्कृतका कथा खुब मीठा लाग्छन्’, सोध्दै नसोधे पनि यति भनी । 

अब मैले ऊ पुराणका केही चर्चित कथाहरू पनि जान्दछे भन्ने कुरो बुझ्न बेर लाउनुभएन । 

मैले ‘ए हो र ?’ भनेँ । 

‘तपाईं त अचम्मको मान्छे हुनुहुँदो रहेछ’, ऊ मेरो प्रशंसामा उत्रिई । म पनि अलिअलि पग्लिनै पर्ने भयो । 

‘किन र ?’, मैले जिज्ञासा व्यक्त गरेँ । 

त्यस्ती रहरलाग्दी युवतीसित नारिएर मृगस्थली जस्तो आमसर्वसाधारणको गमनागमन हुने ठाउँमा धेरैबेर बसिरहनु मेरो नैतिक र चारित्रिक स्वास्थ्यका लागि किमार्थ हितकारी थिएन । उसले आफू उठेर हिँडिहाल्ने लक्षण पनि देखाएकी थिइन ।

‘यस्तो भीडभाडमा पनि इस्टडी गर्न सक्नी भनेर नि !’, ऊसित नबोली सुख नपाउने छाँटकाँट देखेपछि यो मान्छे हेर्दा कस्ती रहिछे भनेर विचार गर्नै पर्ने भयो । 

पालिस र लिपिस्टिक पोतिएकी, टिसर्ट–प्यान्टले बेरिएकी, आँखामा हल्का गाजल केरिएकी मध्यम वर्गीय मेकअप र पोसाकको फेसनमा सजिएकी रसिली रसिली युवती लागी मलाई । 

माथिको शारीरिक तथ्यांक मलाई बढी नै लागेको पनि हुन सक्छ । यतिबेरसम्म यति पनि निक्र्योल गर्न नसकेकामा आफैँप्रति दया लागेर आयो । उसको सानो महिला ब्याग उसले आफ्नो बायाँपट्टि ढुंगामा राखेकी थिई । 

त्यस्ती रहरलाग्दी युवतीसित नारिएर मृगस्थली जस्तो आमसर्वसाधारणको गमनागमन हुने ठाउँमा धेरैबेर बसिरहनु मेरो नैतिक र चारित्रिक स्वास्थ्यका लागि किमार्थ हितकारी थिएन । उसले आफू उठेर हिँडिहाल्ने लक्षण पनि देखाएकी थिइन । यस मार्गबाट ओहोरदोहोर गरिरहने कुनै परिचितले देख्यो भने खरीबोटमा उभिन र वाल्मीकि क्यम्पसमा छिर्न मलाई कति सकस हुन्छ भन्ने कुरो ऊ के जानोस् ?

‘तपाईंले किन उपनिषद् पढ्नुभा’को ?’, उसले भयानक प्रश्न तेस्र्याई । किन भन्नू ? परीक्षा दिन भनूँ भने दिनभर स्पष्टीकरण दिनुपर्ला भन्ने भय छ । 

‘त्यत्तिकै । कस्तो हुँदो रहेछ भनेर’, यहाँनिर ढाँट्नुपर्छ जस्तो लाग्यो र ढाँटिदिएँ । 

‘त्यही भएर त अचम्मको मान्छे भनेको नि ! त्यत्तिकै पनि उपनिषद् पढ्ने !’ 

भो त अब ! यो उठेर नजाने भई । आफैँ उठेर हिँड्न पनि गतिलो निहुँ भेट्टाउन सकिनँ । यतिबेला भने शान्तिरामदेखि रिस उठेर आयो । ऊ बेलामा नआएकाले यस्तो प्रतिकूल अवस्था सिर्जना भएको हो । ऊ भएको भए यो केटीसित बोल्ने अवसर मैले उपयोग गर्नै पर्दैनथ्यो । कुरो प्रस्टै छ । 

‘हैन योसित गफ गरेर बस्, आजको दिनलाई सार्थक बना, यस्तो दिन जिन्दगीमा बारम्बार आउँदैन भाइ’, मनमा यस्तो सुविचारको उदय हुनै लागेको थियो । एउटा जब्बरे ढेडु बिजुलीवेगमा आयो र युवतीको झोला बोकेर रूख चढ्यो । न ढेडुलाई धपाउन भ्याइयो, न झोला समाउन भ्याइयो । 

‘ला, मेरो ब्याग बाँदरले लग्यो’, ऊ जुरुक्क उठी । म नि उठेँ । ‘बाँदरले अघि नै झोला लगिदेको भए नि हुन्थ्यो नि !’, एक मन त यस्तो पनि लाग्यो । तैपनि चिन्तित अनुहार लाउनै पर्‍यो । लागाएँ । 

ढेडु हामीतिर दाह्रा ङिच्च्याउँदै हाँगामा गएर बस्यो र झोला खोतल्न थाल्यो । बाँदरको चटक हेर्न निकै मानिस जम्मा भइसकेका थिए । कसैले बाँदरलाई गाली गरे, कसैले हप्काए । बाँदर टसको मस भएन । मैले ढुंगो टिपेर हानेँ । उसले छल्यो । मेरो पुरुषार्थ पनि खेरै गयो । 

कसैको केही नलागे पछि मानिसहरू ढेडुबाँदरले अब के गर्छ भन्ने कौतूहल मनमा बोकेर उभिइरहे । युवतीको मुखमा चिन्ताका धर्सा बढ्दै गए । बाँदरले चर्तिकला देखाउँदै गयो । 

पहिले त रूखको कापमा टाङ फारेर बस्यो आरामले र हामीलाई उसको ‘ऊ’ देखाइदियो अनि झोला खोतल्न थाल्यो । उसको हातमा लिपिस्टिकको भाँडो देखियो । ओल्टाइपल्टाई हेर्‍यो । एकपल्ट सुँघ्यो पनि र नराम्रोसित मुख बिगार्‍यो । 

त्यसपछि फालिदियो भुइँमा । सिसी ढुंगामा पछारिएर चकनाचुर भयो । युवतीले ढुंगामा आफ्नै ओठ फ्यात्त खसेर फुटे जसरी मुख बिगारी । 

‘कस्तो छुल्याहा बाँदर रेछ !’, कसैले बाँदरको निर्मम टिप्पणी गर्‍यो । 

‘त्यति पनि नगरे यसलाई कसले बाँदर भन्छ र ?’, अर्काेले बाँदरलाई पनि व्यङ्ग्य गर्‍यो ।

बाँदरले यस पटक झोलाबाट टप बिस्कुटको पोको निकाल्यो । झोला टाङमुनि च्याप्यो र बिस्कुट फोरेर खान थाल्यो । बिस्कुटका टुक्रा झर्दा आँ गरेर बाँदरको चर्तिकला हेरिरहेका मानिसका मुखमा पनि परे । तत्काल उनीहरूले थुथु गरेर मुख सफा गरे । दुई–चारवटा बिस्कुट खाएर उसले बाँकी तलतिर मिल्काइदियो । बिस्कुटको पोको मेरो तालुमा आएर बज्रियो । 

युवतीको झोलाबाट अब बाँदरले अर्काे सामान निकाल्यो । रुखको हाँगामा ट्वाक ट्वाक हान्यो । मोबाइलको डिस्प्ले बल्यो । ढेडुले फेरि हामीतिर हेरेर आफ्ना सबै दाँत देखाइदियो । 

मोबाइललाई अलिकति पनि माया नगरी हावामा हुत्याइदियो । मोबाइल घुम्दैघुम्दै आएर युवतीको खुट्टानिर पछारियो । मोबाइल १० खण्डमा खण्डित भयो । मैले क्षतविक्षत मोबाइलका टुक्राटुक्रा जम्मा गरेर युवतीलाई बुझाइदिएँ । उसको मुखमुद्रा पनि मोबाइल जस्तै चकनाचुर भयो । 

बाँदरले अझै पनि झोला खसाल्ने जाँगर देखाएन बरु झोलाबाट एक मुठी नोट निकालेर हावामा उडायो । धुम थ्रीमा बिल्डिङबाट डलर झरे जसरी नोटहरू झरे । सबैले टिपेर मलाई पो दिए । अब भो त ? जनमानसले मलाई युवतीको मान्छे भन्ने ठानिसकेछन् । मैले सबै पैसा युवतीलाई बुझबुझारथ गरेँ । उसले थ्याङ्क्यु भनेजस्तो लाग्छ । 

ढेडुले झोलामा निकैबेर खोतलखातल गर्‍यो । सबैले सोचे होलान् अब झोला खाली भएछ तर ढेडुले एकछिनमै अर्काे पोको झोलाबाट निकाल्यो । तलबाट अनुमान गर्न पनि गाह्रो भयो के निकाल्यो के ? ढेडुले त्यो पोको निकाल्न पनि धेरै बेर लगायो । निकै निज्ञासु भएर हेर्‍यो । 

केहीबेरपछि बेवास्तासित त्यो पोको हुर्‍यायो । पोको बतासिएर आयो । बाँदरको चर्तिकला हेरिरहेका एक जना साधुको स्टिलको कमण्डलुमा खस्यो । साधुले हनुमानले दिव्य प्रसाद दिएझैँ भएर कमण्डलुमा टप्किएको फल टिपेर हेरे । तर, यही चिज हो भन्ने निष्कर्षमा साधु तत्काल पुग्न सकेनन् । 

‘ये क्या चिज है भाइ ?’, उनले बुढी औँला र चोरी औँलाले च्यापेर भीडतिर देखाएर सोधे । बल्ल थाहा भयो, त्यो कन्डमको प्याकेट रहेछ । भीड हाँसी मात्र रह्यो ।

‘ये आप के कामका चिज नहीं है बाबाजी !’, कसैले सुझाव दियो । बाबाले कुरो बुझेझैँ गरी प्याकेट भुइँमा फ्याँकेर बाटो लागे ।

कन्डमको प्याकेट बाँदरले झोलाबाट निकाल्नेवित्तिकै हाम्रो ध्यान ढेडुतिर बढी गयो । अन्त ध्यान कसैको थिएन । पछि मैले भीडको बीचमा युवतीलाई खोजेँ । युवती थिइन् । भीडका मानिसले पनि युवतीलाई नै खोजिरहेका थिए । परैसम्म आँखा डुलाउँदा देखेँ युवतीको पिठ्युँ मात्र । युवती मृगस्थलीबाट पशुपतितिर सिँढी ओर्लिंदै थिई । 

त्यसपछिका सबै अप्ठ्यारा मेरै थाप्लामा ओइरिए । भीडको कटाक्षपूर्ण दृष्टि मतर्फ सोझिएको थियो । हिँडूँ कि, उभिऊँ कि, हाँसूँ कि ! बडो असमञ्जस्यमा म परेँ । म मूर्तिवत् उभिइरहेँ । बाँदर झोलाको खानतलासी सकेर गइसकेको थियो ।

‘ल त यो झोला बोक्ने मान्छे हजुरकै हो जस्तो छ । जिम्मा लिनुहोस् आफ्नो दौलत’, भीडबाटै कसैले मलाई युवतीको झोला काँधमा थमाएर बाटो लाग्यो । अघिसम्म रमिता हेरेर बसेका मानिस पातलिँदै गए । म चिन्दै नचिनेको अनि भर्खर नियतमा प्रश्न चिह्न लागेकी युवतीको झोला एक हातमा र एक हातमा ईशोपनिषद् बोकेर उभिइरहेँ पीपलको फेदमा ।