डोको बुन्न भ्याइनभ्याइ

डोको बुन्न भ्याइनभ्याइ
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १६, २०७५

पाल्पा । रामपुर नगरपालिका–५ सानीअमराई बस्ने चिमनारायण मानन्धरले ५६ वर्षको समय डोको बुनेर बिताउनुभयो । मानन्धरको डोको बुन्ने कार्यमा अझै पनि जवानी अवस्थाकै जस्तै जोश जाँगर देखिन्छ । 

यो उमेरमा पनि उहाँ आफैँ बाँसको चोया काँढेर डोको बुन्ने गर्नुहुन्छ । ‘आफै बाँस खोज्न गाउँगाउँमा जान्छु, घर ल्याएर चोया काँढ्छु, दिनभर डोको बुन्छु,’ उहाँले भन्नुभयो । दिनमा चोया काँढेर उहाँले एक वटा डोको सिध्याउनुहुन्छ । 

मानन्धरले एक वटा डोकोको मूल्य रु २५० देखि ३०० सम्ममा बिक्री गर्नुहुन्छ । ‘डोकोको माग गाउँघरमा बढिरहेको छ, डोको बुनेर नसक्दासम्म ग्राहक पर्खेर घरमै बसिरहन्छन्,’ उहाँ भन्नुहुन्छ, ‘हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने र बूढेसकालमा दिन बिताउने बाटो पनि बनेको छ ।’ उहाँले सानै उमेरदेखि बाउँबाजेसँग डोको बुन्ने सीप सिकेर व्यावसायिक रुपमा जीवनभर यो पेशा अंगाल्नुभएको हो । 

‘डोको बुनेर पहिला त छोराछोरीको पढाइ तथा घरखर्च चलाउँथे, अब त छोराछोरी सबै आआफ्नै पेशा व्यवसायमा लागेका छन्, डोको बुनेको केही रकम बैंकमा जम्मा गर्दै आएको छु,’ मानन्धरले भन्नुभयो । जीवनको अन्तिम समयसम्म पनि डोको बुन्ने उहाँको इच्छा छ । यस क्षेत्रमा डोको बुन्ने जनशक्ति कम हुँदा मानन्धरलाई डोको बुन्न यतिबेला भ्याइनभ्याइ छ । डोको बुन्ने व्यवसाय सँगसँगै किराना पसल पनि उहाँले चलाउनुभएको छ । पसलमा बसेर डोको बुन्ने गर्नुहुन्छ । 

विदेशको खाडीमुलुकमा गएर पसिना बगाउनुभन्दा घरमै बसेर डोको बुनी परिवार पाल्न युवापुस्तालाई उहाँ अनुरोध गर्नुहुन्छ । ‘हातमा सीप भयो भने जीवन बिताउन समस्या छैन,’ उहाँ भन्नुहुन्छ । ज्येष्ठ नागरिक मानन्धरको व्यवसाय सबैका लागि उदाहरणयोग्य रहेको खबर राससमा सुशीला रेग्मीले लेख्नुभएको छ ।