कन्स्पिरेसीको घीनलाग्दो राजनीति
माघ २७, २०७६

भर्खरै नेमकिपाका नेता नारायणमान बिजुक्छेले एउटा अजीव र सनसनीखेज अनुमान अगाडि सार्नुभयो– चीनको वुहानमा सुरु भएर विश्वलाई नै आतंकित गरिरहेको कोरोना भाइरस पैदा हुनु र फैलनुको पछाडि अमेरिकाको हात हुन सक्छ ।

उहाँको अनुमान थियो यो । यस्ता अनुमानयुक्त अभिव्यक्तिहरू कन्स्पिरेसी सिद्धान्तअनुसार आएका हुन्छन् र एक हिसाबले हेर्दा सत्य पनि हुन सक्छन् भन्ने किसिमका हुन्छन् । साथै यिनले निश्चित समूहको स्वार्थअनुसार तिनलाई फाइदा पुर्‍याउने काम गर्छन् ।

अमेरिका र चीनबीचको महाशक्ति राष्ट्र बन्ने होडमा एकले अर्कालाई अवरोध पुर्‍याउनु र एकले अर्कालाई कुनै संकटमा फँसाएर त्यसका आर्थिक, राजनीतिक गतिविधि कमजोर गर्नु, विश्वमा तिनको नकारात्मक छवि विकास गरिदिनु हुनै नसक्ने कुरो होइन भनेर बुझ्ने मानिस निकै छन् । तसर्थ बिजुक्छेको कथनलाई अमेरिकाविरोधी तथा चीन समर्थक क्याम्पप्रति सहानुभूति राख्नेहरूले होइन भन्ने भन्दा हो नै भनेर पत्याउने संभावना  रहन्छ ।

त्यसमा पनि थुप्रैले चिनियाँ विदेश प्रवक्ता आफैँले चीन एउटा महामारीको चपेटामा पर्दा अमेरिकाले चीनलाई सहयोग गर्नुको साटो त्यसका बारेमा विश्वमा नकारात्मक प्रचार बढी गरेको आरोप लगाएको धेरैलाई थाहा छ । त्यसले अन्तर्राष्ट्रिय जगतलाई दुखी बनाएको समेत थाहा छ भने अस्ट्रेलियनहरूले यही कोरोना महामारीलाई लक्षित गर्दै एसियनहरूप्रति हुने रंगभेदलाई बढावा दिन खोजेको पनि कसैबाट छिपेको छैन । यसर्थ बिजुक्छेको कन्स्पिरेसी सिद्धान्त चर्चित हुनु एकदमै सामान्य कुरो मान्न सकिन्छ ।

कन्स्पिरेसी सिद्धान्तलाई सामान्य अर्थमा कुनै घटना, दुर्घटनाको व्याख्या गर्दा तिनको पछाडि कुनै ‘शक्तिशाली र कुत्सित मनसाय भएका समूहको हात रहेको’ विश्वास गर्नु भनेर बुझ्न सकिन्छ (गोजल, १९९४) ।’ स्विफ्ट, २०१३ का अनुसार ‘एक तिहाईभन्दा बढी अमेरिकीहरू ग्लोवल वार्मिङ एउटा हावादारी प्रचार मात्र रहेको विश्वास गर्छन्’  भने ‘आधाभन्दा बढी अमेरिकीहरू राष्ट्रपति जोन एफ केनेडीको हत्यामा ली हार्वे ओस्वल्ड एक्लै आफूखुसी संलग्न भएका हुन् भनेर पत्याउँदैनन् (जनसेन, २०१३) ।’ यसर्थ यी घटनाहरूमा कन्स्पिरेसी सिद्धान्तहरू प्रचारित छन् ।

विभिन्न समूहलाई रिझाएर आफ्नो झारा टार्ने वा कुनै फाइदा लिने किसिमको नेपाली नेताको शैलीलाई आमजनताले बुझ्दै आएका देखिन्छ । त्यसैले धेरैले नेताका कथनलाई तथ्य भन्दा पनि कुनै निश्चित स्वार्थपूर्तिका लागि नेताले बोलेको हावादारी कथन भनेर मान्छन् । यदि त्यसो नै भए पनि कोरोना जस्तो पेचिलो मुद्दामा कन्स्पिरेसी सिद्धान्त प्रयोग नगरेको भए हुने वा त्यस्ता कुरामा राजनीति गरेर फाइदा नलिएको भए हुने भन्ने नै एउटा सचेत नागरिकको आग्रह रहन्छ ।

मदन भण्डारी हत्याकाण्ड, दरबार हत्याकाण्ड, राजतन्त्रको अन्त्य, संघीयताको सुरुवात, सीके राउतको देश विखण्डनको पक्षमा उत्थान र पतन आदि कुरामा धेरै कस्पिरेसी सिद्धान्तहरू प्रचारित छन् । कन्स्पिरेसी सिद्धान्तहरू एकै घटनामा एकभन्दा बढी पनि हुन सक्ने र निश्चित समूहले अलगअलग मान्यता र धारणामा विश्वास गर्नेसमेत हुन सक्ने संभावना देखिन्छ ।

जनताले तपाईंहरूको कन्स्पिरेसीको गोटी बनेको कुरूप छवि कैद गरेर आफ्नो मस्तिष्कमा लामो समय राख्नेछन् । ख्याल गर्नुहोला, भोलि पनि तपाईंले राजनीति गर्ने भनेको यिनै नेपाली जनताबीच हो ।

माइकल क्रिकटनले आफ्नो उपन्यास ‘द स्टेट अफ फियर’मा ग्लोवल वार्मिङ कसरी एउटा कन्स्पिरेसी सिद्धान्त हो भन्नेबारेमा गतिलो तर्क अघि सारेका छन्, जसले जोकोहीलाई पनि यो सत्य भएको चाहिँ कस्पिरेसी सिद्धान्त अलिक तर्कसम्मत हो कि यो गलत भएको मान्यताचाहिँ बढी तर्कसम्मत छ भनेर सोच्न बाध्य बनाउँछ ।

क्रिकटनको उपन्यासको तर्क नाजायज लाग्दैन । विज्ञान र प्रविधि सीमित व्यक्तिको हातमा हुन्छ, शक्तिशाली स्वार्थ समूहले आफ्नो फाइदाका लागि तिनलाई आफ्नो प्रभावमा पार्न र चलाउन सक्छ भन्ने उनको तर्क छ । एउटा ग्लोवल वार्मिङको क्षेत्रमा काम गर्ने अत्यन्त शक्तिशाली गैरसरकारी संस्थाले बढीभन्दा बढी डोनेसन उठाउन ग्लोवल वार्मिङ र यससँग सम्बन्धित तथ्यांकहरू बढाईचढाई गरेर मात्र प्रचार गर्दैन, त्यसले साँच्ची नै ग्लोवल वार्मिङ छ र यसले विश्वलाई छिट्टै संकटमा लैजान्छ भन्ने सावित गर्न समुद्रभित्र बम पड्काएर छाल पैदा गर्नेजस्ता वातावरणीय आतंकवादमा समेत लगानी गरेर विश्वलाई आतंकित पार्ने पनि गर्छ ।

ती नतिजा देखाएर सकेसम्म बढी डोनेसन जम्मा गर्ने र ग्लोवल वार्मिङका तथ्यांकलाई तोडमरोड गरेर प्रचार गर्ने गरेकोसम्म पनि देखाइएको छ । कुरा क्रिकटनको उपन्यासले यस्तो संजाल विश्वभर काम गरिरहेको र ग्लोवल वार्मिङका यथार्थ र त्यसको गलत प्रचारमा थुप्रै पात्रहरू कार्यरत रहेको देखाएको छ । कन्स्पिरेसीकै लागि वा कुनै कुराको कुप्रचार वा गलत समर्थनकै लागि व्यक्ति हत्या गर्ने कार्यहरू पनि सामान्य रहेका कुरासमेत उनको उपन्यास पढ्दा थाहा हुन्छ ।

चाहे जुनसुकै फाइदाका लागि होन्, कन्स्पिरेसी सिद्धान्तहरू पैदा गर्नु र तिनको प्रचार गर्नु एउटा जिम्मेवार मानिसलाई सुहाउने कुरा होइन । कुनै पनि विश्वका महामारी विश्वकै शत्रु हुन् भन्ने कुरामा जिम्मेवार मान्छेहरू सचेत हुनुपर्ने आजको आवश्यकता हो ।

नारायणमान बिजुक्छे जस्ता धेरै जनताले विश्वास गरेका नेता यस किसिमले कन्स्पिरेसी सिद्धान्तको औजार बन्ने हो भने जनताले आफ्नो नेतृत्वप्रतिको विश्वास पूर्ण रूपमा गुमाउँछन्, जसको परिणाम भयावह हुन्छ भन्ने नेताहरूले बुझ्नुपर्छ । मानवीय संवेदनाका कुरामा कुनै पनि हालतमा कन्स्पिरेसी सिद्धान्तहरू स्वीकार गर्नुहुँदैन ।

त्यति मात्र होइन, आफ्नै मुलुकको प्राविधिक कमजोरीका कारण वुहानबाट नेपालीहरूको उद्धार गर्न नसकिएको सबैले बुझेको कुरा हो, त्यसमा समेत राजनीति भइरहेको छ । त्यहाँबाट उद्धार गरेर ल्याइएका नेपालीलाई कहाँ राख्ने भन्ने कुरामा समेत विवाद निकालेर नेपाली नेताले राजनीतिक एजेण्डा सकिएको र आफूमा मानवीय संवेदना पूर्ण रूपमा गुमेको परिचय दिएका छन् ।

जनताले तपाईंहरूको कन्स्पिरेसीको गोटी बनेको कुरूप छवि कैद गरेर आफ्नो मस्तिष्कमा लामो समय राख्नेछन् । ख्याल गर्नुहोला, भोलि पनि तपाईंले राजनीति गर्ने भनेको यिनै नेपाली जनताबीच हो ।


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।