बालबालिका, खेलौना र आमाबाबुको सम्बन्ध
माघ २७, २०७६

पहिलो तथ्य

हरेक आमाबाबुले आफ्ना सन्तानहरूलाई ठूलाठूला सपना देख्दै हुर्काउने गर्छन् । उनीहरूको लालनपालन, शिक्षादीक्षा र सेवा, सुविधामा कुनै पनि कमी नआओस् भनेर सबै खालका प्रयत्नहरू गर्छन् ।

आफ्नो बाल्यकालमा नपाएका हरेक सुख सुविधा छोराछोरीहरूलाई दिन प्रयत्नशील रहन्छन् । त्यसैले त आफू हारेर सन्ताललाई जिताउँछन्, आफू भोकै बसेर उनीहरूलाई खुवाउँछन् । आफू रोएर सन्तानलाई हँसाउँछन् । बाबुआमाहरू आफ्ना सन्तानका निम्ति यतिसम्म गर्न पछि पर्दैनन् कि आफू मरेर पनि उनीहरूलाई बचाउँछन् ।

तपाईंलाई याद छ, जीवनमा यतिबिघ्न माया गरेर हुर्काएका सन्तानसँग पनि समयको अन्तरालसँगै प्रायः आमाबाबुहरू असन्तुष्ट र दुःखी बनेका हुन्छन् । आखिर किन यस्तो हुन्छ ?

अर्को तथ्य

सानो उमेरमा हरेक बालबालिकाका लागि आफ्ना बुबा सलमान खानभन्दा ह्याण्डसम लाग्ने गर्छन् । जोनसिना भन्दा बलियो र कुनै पनि धर्मग्रन्थका भगवानभन्दा अन्तरयामी लाग्ने गर्छन् । सो उमेरसम्म बालबालिकाहरूका लागि उनीहरूका आमा दीपिका पादुकोणभन्दा सुन्दर, देवीभन्दा शक्तिशाली र मदर टेरेसाभन्दा दयालु लाग्ने गर्छन् ।

तर, उनीहरू जतिजति हुर्किंदै जन्छन्, उतिउति आफैँलाई जन्माउने बाबुआमासँग असन्तुष्ट हुन्छन् । यतिबिघ्न विश्वास गरेका बाबुआमा पनि उनीहरूका निम्ति पछि किन ‘आउट डेटेड’ र वाहियात लाग्ने गर्छन् त ?

गहन प्रश्न

निचोडमा भन्नुपर्दा किन सबैजसो आमाबाबु आफैँले जन्माएका सन्तानसँग पूर्ण रूपमा खुसी हुँदैनन् ? त्यस्तै गरी किन सबैजसो छोराछोरीहरू आफ्नै जन्म दिने आमाबाबुसँग पूर्ण रूपमा सन्तुष्ट हुँदैनन् ? के त्यस्तो लुकेको कारण छ, जसले बाबुआमा र छोराछोरीहरूलाई एउटै माहोलमा रम्न दिएको छैन ?

माथिका यावत् प्रश्नहरूको सही जवाफ खोज्ने हो भने आज हामीले गहन तरिकाले बहस र विश्लेषण गर्न जरुरी हुन्छ । छोराछोरी सोच्ने गर्छन्, बाबुआमा सधैँ अनावश्यक रूपमा कचकच मात्र गर्छन् । बाबुआमा सम्झिन्छन्, छोराछोरीहरूले जति भने पनि अटेर गर्छन् ।

सानो छँदा मर्ला भन्ने डर, ठूलो भए पछि मार्ला भन्ने डर । यस्तैयस्तै केके सम्झेर दुःखी हुन्छन् आमाबुबा । यसमा दोषी को ? आमाबाबु या छोराछोरी ? के कुनै पनि बालक जन्मिँदा खराबै जन्मिएको हुन्छ त ? जसरी पानीको मूल हुन्छ, त्यसरी नै कुनै पनि समस्याको कारण हुन्छ । हामीले जे चिजलाई समस्या मानेका हुन्छौँ, ती त लक्षण मात्र हुन् । त्यसैले आउनुहोस्, माथिका समस्याका कारणहरूबारे चर्चा गरौँ ।

हरेक बालक स्वभावैले चन्चले हुन्छ । उसले हेरेर, छोएर, सुनेर, अनुभव गरेर तथा स्वाद लिएर नयाँ कुरा सिक्ने गर्छ । त्यसबाहेक हरेक बच्चाको सिक्ने शैली फरक फरक हुन्छ । जस्तै, सुनेर, देखेर वा चलेर ।

आज म कुन बच्चाले कुन शैलीमा सिक्छ भनी चर्चा गर्नु भन्दा पनि समग्रमा उनीहरूले पाँच इन्द्रियहरूको मद्दतले कसरी सिक्छन् भन्ने कुरामा तपाईंलाई केन्द्रित गर्न चाहन्छु ।

खेलौना र सिकाइ

एक पटक याद गर्नुहोस् त ! के तपाईंले आफ्ना छोराछोरी सानो छँदा उनीहरूलाई खेलौना किनिदिनुभएको थियो ? तपाईंले दिनुभएको खेलौना उसले कति दिनसम्म मन लगाएर खेल्थ्यो ? एक दिन ? दुई दिन वा नफाटेसम्म ?

धेरैको जवाफ एक वा दुई दिन भन्ने नै आउँछ । एउटा खेलौना फाट्न त के, राम्ररी खेली भ्याएको सम्म हुँदैन, अर्को चाहिहाल्छ । किन ? यस्तो पनि हुन्छ र ? मैले माथि नै चर्चा गरिसकेँ कि हरेक बालकले हेरेर, छोएर, सुनेर, अनुभव गरेर तथा स्वाद लिएर आधारभूत ज्ञान हासिल गर्ने गर्छ । यसको मतलब उसले पाँच ज्ञनेन्द्रिय र दिमागको संयोजनमा सिक्ने गर्छ भन्न खोजेको हुँ ।

ऊ जहाँ जान्छ, त्यहीँ सिक्छ, जसलाई भेट्छ, उसैसित सिक्छ । आखिर ऊ त हरेक पलमा नयाँ कुराको प्रयोग गर्न र सिक्न जन्मेको हो । राम्रो या नराम्रोसँग उसलाई के मतलब ?

आँखाको प्रयोग

सबैभन्दा पहिले उसले खेलौनालाई ओल्टाईपल्टाई हेर्छ । आँखाको सहायताबाट उसले खेलौनाको आकार–प्रकार, रङ–रोगन, लामो–छोटो, ठूलो–सानो आदि कुरा छुट्याउन सक्ने बन्छ । उमेरअनुसार पछि त्यो खेलौना कसरी बनेको छ भनी खोलेर वा फुटाएरसम्म हेर्न भ्याउँछ ।

कानको प्रयोग

दोस्रो, उसले खेलौना हल्लाएर हेर्छ, कहिलेकाहीँ बजाएर वा बजारेर हेर्छ । यो अवस्था भनेको कानको सहायताले उसले खेलौनाले निकाल्ने आवाजका बारेमा जानकारी राखेको हो ।

स्पर्शमा सिकाइ

त्यस्तै गरी उसले खेलौनालाई मायाले मुसार्छ, स्पर्श गर्छ । यस चरणमा छालाको सहायताले खस्रोे–चिल्लो, तातो–चिसो, गोलो–चेप्टो, मोटो–पातलो आदि कुराहरूका बारेमा महसुस गर्छ ।

जिब्रो र सिकाइ

त्यतिले मात्र नपुगेर उसले त्यो खेलौनालाई चुम्बन गर्छ, टोक्छ । कहिलेकाहीँ चाट्न पनि पछि पर्दैन । उतिबेलै उसले आफ्नो जिब्रोको सहायताले स्वादबारे थाहा पाउँछ ।

नाकको प्रयोग

जतिबेला बालकले खेलौनालाई चुम्बन गर्छ वा टोक्छ, त्यतिबेला उसको नाकले खेलौनाको सुगन्धको बारेमा चाल पाइसक्छ ।

यति गरिसक्दा बालकले त्यस खेलौनाका बारेमा सबैजसो जानकारी प्राप्त गरिसकेको हुन्छ । प्रकृतिको वरदान शक्तिशाली दिमागको प्रयोगले उमेरअनुसार खेलौनाको विश्लेषण गर्न भ्याइसकेको हुन्छ । सिक्नुपर्ने कुरा सिकिसक्छ ।

जब त्यो खेलौनाबाट अर्को नयाँ सिक्ने कुनै पनि कुरा बाँकी रहँदैन, तब उसले त्यो खेलौनामाथि हाफ्नो मोह भंग गर्छ र नयाँ वस्तुको माग गर्छ ।

हामी यहीँनेर चुक्छौँ । उसले अर्को खेलौना माग्दा गाली गर्छौं । खेलौना खेल्दा वा फुटाएर जोड्न खोज्दा नराम्ररी सातो खान्छौँ । उसलाई समयमै अर्को चिज उपलव्ध गराउँदैनौँ या अर्को रचनात्मक क्रियाकलापमा सहभागी गराउँदैनौँ ।

हामीलाई यो कुराको हेक्का हुन्न कि ऊ त धेरै अघि बढ्न जन्मेको हो । प्रकृतिले उसलाई सिक्ने प्रतिभा दिएर जन्माएकी हुन् । तपाईं हाम्रो छेकबारले कहाँ रोकिन्थ्यो र ? उसलाई हामीले राम्रो क्रियाकलापमा नलगाएर के भयो त ! नराम्रै सही, ऊ अर्को क्रियाकलापमा सहभागी भइहाल्छ ।

ऊ जहाँ जान्छ, त्यहीँ सिक्छ, जसलाई भेट्छ, उसैसित सिक्छ । आखिर ऊ त हरेक पलमा नयाँ कुराको प्रयोग गर्न र सिक्न जन्मेको हो । राम्रो या नराम्रोसँग उसलाई के मतलब ?

अब एकछिन रोकिनुहोस् है ! ध्यान दिएर सोच्नुहोस् त ! तपाईंलाई थाहा नहुन सक्छ, तपाईंका छोराछोरीहरूका लागि तपाईं पनि खेलौना सरह नै हुनुहुन्छ । उनीहरूले तपाईंबाट हरेक दिन केही न केही कुरा सिक्न चाहेका हुन्छन् । नयाँपन अनुभव गर्न चाहेका हुन्छन् ।

जुन दिनसम्म तपाईंबाट नयाँ कुरा सिक्न पाउँछन्, उनीहरू तपाईंप्रति विनम्र बन्छन् । जुन दिनदेखि उनीहरूले तपाईंमा क्षमता कम, कमजोरी बढी छ भन्ने कुरा थाहा पाउँछन्, त्यतिबेला तपाईंलाई पनि थोत्रो खेलौना सम्झेर फ्याँकिदिन्छन् ।

अनि त्यहीँबाट सुरु हुन्छ असमझदारी, रिक्तता, तिक्तता र खिन्नता । यसरी अन्जानमा रोपिएको असमझदारीको बिउ पछि गएर कसरी झाङ्गिन्छ भन्ने कुरा अर्को लेखमा प्रस्तुत गर्ने वाचाका साथ आजलाई यतिकैमा बिट मार्छु ।

क्रमशः


महर्जन भक्तपुरको बालकोटस्थित माउण्ट भ्यू ई. बो. स्कुलका संस्थापक प्रिन्सिपल, प्याब्सनका प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष हुनुहुन्छ ।