उत्कृष्ट चलचित्रको उपाधि ‘प्यारासाइट’ले जित्यो

उत्कृष्ट चलचित्रको उपाधि ‘प्यारासाइट’ले जित्यो

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २७, २०७६

काठमाडाैं । इतिहासमै पहिलो पटक ओस्कारमा उत्कृष्ट चलचित्रको उपाधि दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले जितेको छ । 

एकेडेमी अवार्डको ९२ वर्षको इतिहासमा विदेशी भाषाको चलचित्रले यो अवार्ड जितेको थिएन । उक्त चलचित्रले छिँडीमा बस्ने गरिब परिवार र भव्य महलमा बस्ने धनी परिवारबीचको भेद दर्शाउँदै सामाजिक व्यवस्थामाथि व्यङ्ग्य गरेको छ ।

चलचित्रको निर्देशन बङ जुन होले गरेका हुन् । उत्कृष्ट अभिनेत्रीतर्फ ‘जुडी’ चलचित्रकी अभिनेत्री रेनी जेलवेगरले अवार्ड जितिन् भने ‘जोकर’बाट जोआक्विन फिनिक्सले उत्कृष्ट अभिनेताको उपाधि हात पारेका छन् । 

उत्कृष्ट सहायक भूमिकाको अवार्ड पुरुषतर्फ ‘वन्स अपन अ टाइम इन हलिउड’का लागि ब्राड पिट र महिलातर्फ ‘म्यारिज स्टोरी’बाट लाउरा डेर्नले जितेका छन् । ‘प्यारासाइट’ले उत्कृष्ट चलचित्र र पटकथासहित कूल चार अवार्ड जितेको थियो ।