दैलेखमा फिजियोथेरापी सेवा सुरु, सेवा विस्तार गरेसँगै बिरामीलाई सहज

दैलेखमा फिजियोथेरापी सेवा सुरु, सेवा विस्तार गरेसँगै बिरामीलाई सहज

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २७, २०७६

दैलेख । पहिलो पटक जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा फिजियोथेरापी सेवा विस्तार गरिएको छ । पछिल्लो समय यससम्बन्धी बिरामी बढ्दै गएपछि फिजियोथेरापी सेवा सुरु गरिएको हो । 

सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरूले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताउनुभयो ।

फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेसनलले १० लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट ‘फिजियोथेरापिस्ट’ कर्मचारी राखिएको छ । यो सेवा दैलेखसँगै छिमेकी जिल्लाका बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मंँदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगहरू उपचार हुने फिजियोथेरापिस्ट धना खड्काले बताउनुभयो ।