किशोरी बेच्न खोजेको आरोपमा पक्राउ

किशोरी बेच्न खोजेको आरोपमा पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २७, २०७६

गोरखा । किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका– ७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो । 

यही माघ २४ गते ललाइफकाई किशोरीलाई बिक्रीका लागि लगेको र बालिकाले शङ्का लागि भागेर घर फर्किएपछि घटना सार्वजनिक भएको गोरखाका प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । ‘एक किशोरीलाई भिडियोमा खेल्न राम्रो कमाइ हुन्छ भनेर २३ गते भिडियोसमेत खिचेर २४ गते चितवनतर्फ लगेका रहेछन्’, उहाँले भन्नुभयो, ‘पछि उनी आफैँ भागी घर फर्किएर आमालाई घटनाबारे जानकारी गराएपछि सबै थाहा भयो ।’

पीडित किशोरीकी आामाले आफन्तसँगको सल्लाहमा ढकाल र दुतराजविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताउनुभयो । ‘कक्षा ९ मा अध्ययनरत बालिकालाई तिम्रो उचाइ पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने भाग्य चम्किन्छ, एक करोड रुपैयाँ पाउँछौ भनेर लगेको पाइयो’, उहाँले भन्नुभयो ।

पीडित परिवारले दिएको जाहेरीको आधारमा घटनामा संलग्न दुवैलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनेको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध बेचबिखन तथा मानव ओसारपसार कसुरअन्तर्गत प्रहरीले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।