सेनाको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा पन्ध्र सयले स्वास्थ्य सेवा पाए

सेनाको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा पन्ध्र सयले स्वास्थ्य सेवा पाए

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २७, २०७६

भीमदत्तनगर । भूपू सैनिक सम्मेलनको अवसर पारेर नेपाली सेनाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा सञ्चालन गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० भन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् ।

गत शुक्रबारदेखि सुरु भएको सो शिविरमा भूपू सैनिकका परिवारका सदस्यले स्वास्थ्य सेवा लिएको नेपाली सेनाले जनाएको छ । श्री नं. २५ फिएका गुल्मपति उपसेनानी डा. बबिता सिलवालले स्वास्थ्य शिविरमा ८१५ पुरुष र ७०८ महिला गरी एक हजार ५२१ ले स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका भूपू सैनिक र तिनका परिवारका लागि मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा वीरेन्द्र सैनिक अस्पताल, श्री नंं २५ फिए र श्री नं ५ फिएका विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

शिविरमा सामान्य शल्यक्रिया, फिजियोथेरापी सेवा, हाडजोर्नी, र आँखा तथा दन्त सेवा उपलब्ध गराइएको थियो । शिविरमा पाठेघरको समस्या, मधुमेह, आँखा र कानका बिरामीको सङ्ख्या अधिक रहेको डा. सिलवालले जानकारी दिनुभयो ।