बोलीमा इमान्दारी, विश्वसनीयता र पहिचानको खाेजी

बोलीमा इमान्दारी, विश्वसनीयता र पहिचानको खाेजी

निर्जला कक्षपति  |  दृष्टिकोण  |  माघ २८, २०७६

मानिसहरू प्रायः अरूले भन्ने गरेका कुराले निकै दुखी हुने गर्छन् । घरमा हो भने सासूले मलाई यसो भन्नुभयो, बुहारीले आज यसो भनी । अफिसमा हो भने हाकिमले यसो भने, फलानो साथीले मलाई आज यस्तो भन्यो । 

यति मात्र नभएर फेसबुकमा यस्तो भनेर मलाई कमेन्ट गर्‍यो । यस्तैयस्तै अर्काका कुराले हामी आफूमाथि टेन्सन थुपार्छौं र दुखी भएर मनमा कुरा खेलाएर बस्ने गर्छौं । अरूको कुराबाट आफू दुखी हुनु भनेको कतिसम्मको ठीक होला ? यो ठीक र उचित दुबै नहुँदानहुँदै पनि हामी अरूले भनेका कुरालाई निकै नै मनमा लिने गर्छौं । कतिले त निकै चित्त दुखाउँछन् र रिस पनि साँध्ने गर्छन् । 

बोलीले मानिसको पहिचान पनि दिने गर्छ । पहिलोचोटि हामी बोल्नेवित्तिकै बोलीबाटै हाम्रो व्यक्तित्व पनि झल्कने गर्छ । तपाईं के बोल्नुहुन्छ ? बोलेका कुराले कति महत्त्वपूर्ण स्थान राख्छ अथवा भनौँ बोलीबाटै मानिसको आचरण र उसको बानी व्यहोरा थाहा पाउन मद्दत मिल्छ । त्यसैले मानिसको बोली त्यस्तो कुरा हो जुन, मानिस मरेर गए पनि उसले भन्ने गरेका कुराहरू सधैँ यादगार बन्ने गर्छन् ।

नमीठो बचनका कारण मित्रता टुट्न सक्छ । अरूले भन्ने गरेका कुरालाई मनमा नै नलिनु सबभन्दा राम्रो उपाय हो । एक कानले सुन्यो अर्कोले उडायो । यो कुरा हामी सबैलाई थाहा छ तर पनि हामी यस्तो गर्न सकिरहेका हुँदैनौँ । 

पहिले पहिलेका मानिस भन्ने गर्थे, मानिसको बोलीमा सरस्वतीको वास हुन्छ । त्यसैले अरूलाई मन दुख्ने गरी कसैलाई पनि बचन नलगाउँदा राम्रो हुन्छ भन्थे । 

हुन पनि हामी मीठो बोल्ने व्यक्तिलाई सम्झिरहन्छौँ । यसैगरी नराम्रो र नमीठो बोल्ने व्यक्तिलाई पनि सम्झिरहन्छौँ । तर, मीठो बोल्ने व्यक्तिको याद आउँदा मन नै दंग पर्ने हुन्छ भने नमीठो बचनहरू सम्झिँदा पनि साह्रै नरमाइलो र तिक्तता लाग्ने गर्छ । 

यही नमीठो बचनबाट नै मानिसहरू दुखी हुने गर्छन् । यही बोलीका कारण कतिको त सम्बन्धमा समेत दरार आउने गर्छ । कतिपय कुराहरू यस्ता हुन्छन्, जति नै रिस उठे पनि नरम भएर प्रस्तुत हुनुपर्ने हुन्छ । मानिसहरू रिसलाई नियन्त्रण गर्न नसकेपछि मुखमा जे आउँछ, त्यो बोलिहाल्ने भएका कारण पनि सम्बन्ध टुट्न जान्छ । 

बोली यस्तो कुरा हो, जहाँ इमान्दारी र विश्वसनीयता पनि लुकेको हुन्छ । बोलीकै कारण एक पटक विश्वास गुमाइसकेकाहरूले विश्वास कमाउन मुस्किल नै पर्छ । त्यसैले त कति मानिसहरू भन्ने गर्छन्, ‘मैले बोलेँ, मैले भनेपछि त विश्वास गर्नुहोस् ।’ 

हिजोआज मनमा जे लागेको छ, त्यो बोल्ने व्यक्तिलाई ‘बोल्ड’ भनिन्छ । राम्रो लागेको कुरा पनि फ्याट्ट भनिहाल्ने, नराम्रो कुरालाई पनि मनमा राख्नै नसक्ने, मुखबाट निकालिहाल्ने । आफूलाई जे लाग्छ, त्यो भन्नु राम्रो नै हो तर अरूलाई बचन लगाउँदा भने १० चोटि सोचेर बोल्नु नै राम्रो हुन्छ । यही नमीठो बचनका कारण मित्रता टुट्न सक्छ ।
अरूले भन्ने गरेका कुरालाई मनमा नै नलिनु सबभन्दा राम्रो उपाय हो । एक कानले सुन्यो अर्कोले उडायो । यो कुरा हामी सबैलाई थाहा छ तर पनि हामी यस्तो गर्न सकिरहेका हुँदैनौँ । 

मनमा अनगिन्ती कुराहरू खेल्छन् । अनावश्यक रूपमा हामी टेन्सन बोकेर हिँडिरहेका हुन्छौँ । स्वास्थ्यका हिसाबले पनि मनमा कुरा खेलाउनु र टेन्सन लिनु उचित होइन । टेन्सनका कारण हाम्रो शरीरमा अनेकौँ रोगहरू उब्जिन्छन् । रक्तचाप उच्च हुने, मुटुमा समस्या देखिने, टाउको दुख्ने, मधुमेहलगायतका अन्य रोगहरू पनि उब्जिन सक्छन् ।

त्यसैले आफू ठीक बाटोमा हिँडेको छ र सत्कर्म गरेको छ भने अरूले भनेका कुरादेखि डर मान्नुपर्दैन । कोही मानिसको स्वभाव हुन्छ, अरूलाई पछि पार्न, अरूलाई सानो बनाउन होच्याएर बोल्ने, नराम्रा कुराहरू गर्ने खालका हुन्छन् । 

यस्ता मानिसलाई मन र दिमागबाट नै निकै टाढा राख्नुपर्छ । आफ्नो मनले गलत ठहर्‍याएको व्यक्तिलाई नसम्झेकै राम्रो हुन्छ । 

कतिपय बोली यस्ता हुन्छन्, जो सधैँ सम्झन मन लाग्ने । सधैँ सामीप्यमा रहन मन लाग्ने । मीठो बोल्ने व्यक्तिले भनेका कुराहरूले आफ्नो जीवनमा उत्साह, उमंग र केही गर्न मन लाग्ने हुन्छ । 

‘फलानो व्यक्तिले मलाई यस्तो भनेको छ’ भनेर जीवनभर सम्झिरहन मन लाग्छ । त्यसैले त भन्ने गरिन्छ– ‘मानिसले बोलेका वाणीहरू सधैँ अमर बन्ने गर्छन् ।’