चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १, २०७६

काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । 

फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलरफूल ट्रेलर सार्वजनिक गरिएको हो । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार–चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।
 
अभिनेता पल शाह यो चलचित्रमा पनि पलको भूमिकामा देखिएका छन् । पल एक चर्चित गायक र पूजा शर्मा उर्फ छाँया भने पलको गायनको फ्यान भएर देखिएकी छन् । ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् ।
 
दुई वर्ष अगाडिको सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान रहेको छ । पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो चलचित्रको दर्शक माझ निकै प्रतिक्षा भैरहेको छ ।

भिडियाे यहाँ हेर्न सकिन्छः