प्रेमप्रतिको एक दृष्टिकोण, जसले तपाईंलाई बचाउन सक्छ
फाल्गुन २, २०७६

यो लेख तिनका लागि लेखिएको हो, जो प्रेममा पागल बनेका छन्, विक्षिप्त बनेका छन् र आत्महत्याको मुखमा पुगेका छन् । यसको एक मात्र लक्ष्य हो, मान्छेले प्रेमको प्रकृति बुझून् र प्रेममा आएका भावनात्मक उतारचढावलाई सजिलै जितून् र आफ्नो जिन्दगी उही रौनकका साथ बाँचून् ।

जिन्दगी प्रेमका लागि हो, जिन्दगी रहे प्रेम फेरिफेरि हुन सक्छ तर जिन्दगी नै विक्षिप्त भए सबै संभावना समाप्त हुन्छ । त्यसैले यहाँ प्रेमको प्रकृतिलाई दिमागले बुझ्ने गरेर बुझाउन खोजिएको छ । जब दिमागले बुझ्छ, त्यसले मजाले बुझेको कुरामा आफ्नो मनलाई सहजै बुझाउन सक्छ । त्यसले हामीलाई प्रेमका भावनात्मक उतारचढावबाट बाहिर निस्कन मद्दत गर्नेछ ।

सर्वप्रथम प्रेमलाई युनिभर्सल/कस्मिक र लैंगिक गरेर दुई भागमा वर्गीकरण गरौँ । पहिलो प्रेम व्रह्माण्डका सबै कुरालाई प्रेम गर्ने किसिमको होलिस्टिक प्रकृतिको छ, त्यो व्रह्माण्डका सबै वस्तुमा समभावमा पोखिने अखण्ड प्रेम धारा हो । व्रह्माण्डमा रहेका दुई–चार चीजको विभेदकारी प्रेमभन्दा माथि उठेको प्रेम हो । यसलाई धर्तीको सबैलाई उत्तिकै रूपमा अन्न दिने वा आश्रय दिने, आकाश र वायुको सबैलाई उत्तिकै स्पेस वा हावा दिने, सागरको सबैलाई उसरी नै विना कुनै पक्षपात पानी दिने समग्र प्रकृतिको सजीव तथा निर्जीव वस्तुहरूप्रतिको प्रेमको पूर्ण रूपमा बुझ्न सकिन्छ । त्यसलाई विभाजन गर्न सकिन्न ।

यहाँ विभाजन गरेर हेर्न खोजिएको प्रेम लैंगिक प्रेम हो, जुन आजको विश्वका मान्छेका लागि आनन्दको स्रोतभन्दा पीडाको स्रोत बढी बनिरहेको छ ।

एउटा कुरा सधैँ याद राखौँ, लैंगिक प्रेम युनिभर्सल वा कस्मिक प्रेमको अवस्थातर्फ जानका लागि कखरा हो, सुरुवाती बाटो हो किनभने मान्छे बोधगम्य कुराको आकर्षणमा छिटो पर्छ, त्यसको प्रेममा छिटो पर्छ । सुरुमा देखिने र मन आकर्षित गर्ने कुरालाई नै प्रेम गरिन्छ, यसको विकल्प पनि छैन । जसरी समुद्रमा पौडी खेल्नुअघि सानो खोलामा पौडी खेल्न सिक्नु जरुरी छ, त्यसरी नै कतै न कतै कुनै कुरालाई प्रेम गर्न नै नसिकी मान्छे प्रेमको कस्मिक उचाइमा पुग्दैन ।

त्यसैले लैंगिक प्रेम त्यतिकै आवश्यक छ, जति युनिभर्सल/कस्मिक प्रेम । यो युनिभर्सल प्रेमकै यात्राको सुरुवाती प्रस्थानविन्दु हो, बाटो हो । यो नाजायज छैन, यो हुनुपर्छ र हुन्छ । त्यसैले प्रेम गरेर तपाईंले कुनै गल्ती गर्नुभएको होइन, तपाईंले यात्रा सुरु गर्नुभएको हो । त्यो बाटो हिँडेर मात्र तपाईं त्यसबाट माथि उठ्न र त्यसको उच्चतम संभावना अर्थात् युनिभर्सल प्रेममा पुग्न सक्नुहुन्छ ।

तर, समस्या के छ भने, मान्छे बाटोमै विक्षिप्त बन्छ, बाटोमै हराउँछ, बाटोलाई चिन्नु र त्यसमा नहराउनु, विक्षिप्त नबन्नु र निरन्तर हिँड्नु आवश्यक छ, जुन मान्छेले बुझ्दैन ।

आदर्श प्रेमका कथाहरू हामीले पढ्दै आएका छौँ, मुना–मदन, रोमियो–जुलियट, हीर–राझाँ, शाहजहाँ–मुमताज र अझ त्यसभन्दा बढी राधा–कृष्णको प्रेमलाई प्रेमीहरू उदाहरण बनाएर पेस गर्छन् । लैंगिक प्रेममा उच्चतम आदर्श खडा गर्न वर्षौंदेखि धेरै लेखक, कविहरू लागेका छन् ।

यो प्रयास लैंगिक प्रेममा नै युनिभर्सल प्रेमका गुण लाद्न खोज्ने प्रयास हो, जुन असंभव र हास्यास्पद कुरो हो । किनभने यसले लैंगिक प्रेमका पात्र आममानिस हुन् र तिनका परिस्थिति बदलिइरहन्छन्, समस्या फेरिइरहन्छन् भन्ने तथ्यलाई नजरअन्दाज गर्छ । त्यहाँ जसरी पनि, जस्तोसुकै अवस्था आए पनि प्रेमी–प्रेमिकाबीच एकैनास प्रेम हुनुपर्छ वा हुन्छ भनेर परिकल्पना गर्छ ।

लैंगिक प्रेममा नै प्रेमको उच्चतम रूप भेट्न खोज्नु समस्याग्रस्त कुरा हो । यसले मान्छेलाई विक्षिप्त बनाउनु नै पर्छ, बनाएरै छाड्छ । त्यसैले आदर्श प्रेमका कथा निर्माण गर्नेहरू आजको समाजका सबैभन्दा ठूला दुश्मन हुन् किनभने तिनले बनाएका कथा/डिस्कोर्सले लाखौँ मान्छेको जिन्दगी बर्बाद गरेका छन् ।

यसै कारण मानिसहरू दुखी छन् । मान्छे दुखी छन् किनभने तिनीहरू लैंगिक प्रेममा वर्षौं लगाएर थोपरिएका आदर्श खोजिरहेका छन् । लैंगिक प्रेममा आदर्श थोपर्नेहरू मानव इतिहासका कलंकहरू हुन्, तिनीहरू मानव समाजका सबैभन्दा ठूला हत्याराहरू हुन्, तिनले प्रेमको व्यावहारिक पक्षलाई नजरअन्दाज गर्दै त्यसमा आदर्शवादी भ्रम पोतेर लाखौँ मान्छेलाई मर्न विवश बनाएका छन्, लाखौँलाई मर्नु र बाँच्नुको दोसाँधमा छाडेका छन् ।

प्रेमको पात्र मान्छे हुन्छ, जसको समय र परिस्थितिअनुसार प्रेम हुन्छ, भावनात्मक आवश्यकता वा आकर्षण हेरेर पनि प्रेम हुन्छ, समय र परिस्थिति बदलिन सक्छ, मान्छेको भावनात्मक आवश्यकता बदलिन सक्छ, हिजो प्रमुख आवश्यकता बनेको कुरो आज गौण र हिजो गौण आवश्यकता बनेको कुरो आज प्रमुख हुन सक्छ भन्ने बुझ्दैनन् र प्रेमको नाममा जीवनको बलिदानी दिन्छन्, विक्षिप्त भएर बाँच्छन्, रोगी भएर बाँच्छन् ! यसबाट माथि उठ्न सकिन्छ, बस्, लैंगिक प्रेममा लादिएका आदर्शहरूको प्रकृति बुझ्नु यसका लागि प्रमुख कुरा हो ।

अर्को कुरा, तपाईं कुनै पनि अवस्थाभन्दा माथि उठ्न चाहनुहुन्छ भने त्यो अवस्थालाई विभाजन गरेर त्यसका हरेक अवयवहरू गौर गरेर हेर्नुपर्ने हुन्छ र तिनलाई कुन बढी महत्त्वपूर्ण र कुनचाहिँ कम महत्त्वपूर्ण भनेर छुट्याउनुपर्ने हुन्छ । तब मात्र तपाईंले त्यो चिज कस्तो हो र त्यसले मलाई किन असर गर्नुपर्ने भन्ने कुराको जानकारी पाउनुहुन्छ ।

जब कुनै कुरा दिमागले मजाले बुझ्छ, त्यसले मान्छेको मनलाई सहजै कुरा बुझाउन सक्छ । फलतः तपाईं त्यसबाट हुने भावनात्मक पीडाबाट जोगिनु हुनेछ । मानसिक तनाव, डिप्रेसन, कुलत र आत्महत्या जस्ता कुराबाट जिन्दगीलाई जोगाउनु हुनेछ ।

कसैले पनि कसैको आवश्यकता नै हल नहुने गरीको आदर्श वा बाचामा बाँधेर कसैलाई पनि कुराएर राख्नु बेइमानी हो किनभने भोलि प्रेमका कुनै अवयव बदलिन्छन्, आवश्यकताका स्वरूप फेरिन्छन्, त्यो बेला आफूले कुराएर राखेको मान्छे छाडेर अर्को मान्छे छान्नुपर्ने हुन सक्छ । त्यसलाई धोका मानेर कसैले एउटा जिन्दगी बर्बाद गर्न सक्छ ।

विपरीत लिंगीप्रतिको प्रेम यस्तो कुरो हो, जसले लाखौँ मान्छेको जिन्दगी बर्बाद गरेको छ र ती मान्छेहरू अझै पनि बाँच्नका लागि लायक छन् । हरेकको जिन्दगी महत्त्वपूर्ण छ, हरेकको जिन्दगी सुन्दर छ, त्यो जिन्दगी सामान्य भावनात्मक अभ्यासले जोगिन सक्छ ।

प्रेम धेरै कुराको योगफल हो, जसरी शरीर पनि धेरै कुराको योगफल हो, गाडी धेरै पूर्जाहरूको योगफल हो । निश्चित कुराको योगफल भएपछि त्यो एउटा सिस्टम बन्छ र त्यसले त्यसमा जोडिएका टुक्राटाक्री, पार्ट्स वा अवयवभन्दा पूरै सिस्टमले यति बढी काम गर्छ कि त्यो त्यसका पार्ट्स वा अवयवसँग तुलना गर्न मिल्दैन, सकिन्नँ ।

जस्तो: हात, खुट्टा, आँखा, दिमाग सबै शरीरका अवयव हुन् । तिनले एक्लाएक्लै हुने हो भने पूरै शरीरजति काम कुनै हिसाबले पनि गर्दैनन् तर जब ती एकत्रित हुन्छन् र शरीर बन्छ, तब तिनको योगफलबाट जुनसुकै कुरो हुन पनि संभव छ ।

यही कुरा प्रेममा पनि लागू गरेर हेरौँ ।

अवयवको हिसाबले प्रेमलाई विभाजन गरेर हेर्दा यसमा केही मुख्य अवयव देखिन्छन्– १) आकर्षण/आवश्यकता २) स्रोत, साधन (समय/फुर्सद, पैसा आदि) ३) माध्यम ४) विश्वास/अपेक्षा ५) इर्ष्या (जलन) ।

विपरीत लिंगीप्रतिको आकर्षण हर्मोनल कुराले, रूपको सौन्दर्य, व्यक्तित्व आदिले हुन सक्छ । त्यसले व्यक्तिलाई उसको आवश्यकताको महसुस गराउँछ । आवश्यकता बदलिइरहने कुरा हो । आज बढी आवश्यक भएको कुरा भोलि कम आवश्यक हुन सक्छ, आज कम आवश्यक भएको कुरा भोलि बढी आवश्यक हुन सक्छ । यसले गर्दा प्रेम एकै किसिमको रहँदैन ।

मान्छे एकैनास, एकै किसिमको प्रेम हुन्छ भन्ने आदर्शवादी भ्रममा हुन्छ ! यसले गर्दा मान्छे प्रेममा छिट्टै विश्वास गुमाउँछ र ‘तिमी मलाई पहिला जस्तै माया गर्दैनौ’ भन्न थाल्छ, प्रेम गरेकोमा दुःख मान्न थाल्छ ।

नपाउन्जेल कस्तोकस्तो, पाएपछि सस्तो, हातैमा जे धुलो झरेपछि त्यही सुनको फूल वा बिहेअघि जुनतारा झार्दिन्छु, बिहेपछि बंगारा झार्दिन्छु यसका प्रमाण हुन् ।

प्रेम गर्नलाई स्रोत र साधन चाहिन्छ, त्यो पनि अनियमित हुन्छ । फुर्सद र समय धेर भएको बेला बढी भेट्ने प्रेमी वा प्रेमिकाले व्यस्तता भएको बेला पातलो रूपमा भेटघाट गर्छन्, धेर गफ गर्न भ्याउँदैनन् अर्थात् स्रोत र साधन हेरफेर हुँदाको अवस्थामा पहिलाकै स्थिति रहँदैन । यसबाट पनि प्रेममा समस्या देखापर्छ र निराशा आउन सक्छ । भेटघाटका माध्यम फेरिन सक्छन्, यी पनि एकैनास रहँदैनन् । यसर्थ कुनै पनि अवस्थामा प्रेममा निराशा आउन सक्छ ।

प्रेमी वा प्रेमिका कसैसँग बोल्दाखेरि इर्ष्या हुनु, कसैसँग घुमेको देख्दा चासो हुनु, जलन हुनु पनि प्रेमको अर्को अवयव हो । यो पक्ष पनि प्रेमको अवस्था हेरेर फरक पर्छ । लैंगिक प्रेममा इर्ष्या पूर्ण रूपमा गुम्नु भनेको प्रेम समाप्त हुनु हो भने थोरैथोरै इर्ष्या हुनु एक हिसाबले केयर गरेको हो ।

भनिन्छ, प्रेम विश्वासमा अडेको हुन्छ । उक्त विश्वासले प्रेमी वा प्रेमिकाप्रति निश्चित अपेक्षा सिर्जना गरेको हुन्छ । ती अपेक्षा आफूले सोचेकै हिसाबले पूरा हुन्छन् भन्ने हुँदैन, जसले मान्छेलाई दुखी बनाउँछ ।

यी अवयवहरू एकै पटक सक्रिय रहन्छन् र प्रेमको सिस्टम बनाएका हुन्छन्, जसको प्रभाव मान्छेमा यी अवयव बेग्लाबेग्लै रहेका बेला हुने प्रभावभन्दा तीव्र र उच्च रहन्छन् । प्रेम भइरहेको बेला मान्छेले यो धेरै बदलिइरहने अवयव मिलेर बनेको छ भनेर सोच्दैन । त्यो सोच्न सक्ने क्षमता कम मान्छेसँग हुन्छ । फलतः मान्छेले प्रेमको कुनै पनि चरणमा चरम निराशा महसुस गर्न सक्छ ।

यहाँ बुझाउन खोजिएको कुरो के हो भने, प्रेम धेरै अवयव मिलेर बनेको हुन्छ र ती अवयव मिल्नु वा मिल्ने वातावरण बन्नुले प्रेम पैदा गर्छ । यसर्थ यी अवयव मिल्ने वातावरण भोलि पनि बन्न सक्छ । आज कुनै पनि अवयव नपुगेर प्रेमको अन्त्य भयो भने त्यो जिन्दगीको अन्त्य होइन, प्रेमका एउटा, दुइटा अवयवको तालमेल नमिलेको मात्र हो । त्यसैले प्रेम सकिएको चिन्ता लिएर बस्नु वा आफूलाई बर्बाद गर्नु जिन्दगीप्रतिको बेइमानी हो ।

यिनै अवयवहरूले गर्दा प्रेम अवस्थाजन्य कुरो बन्छ । मान्छेले आफ्नो आवश्यकताअनुसार प्रेम गर्ने हो । कसैले पनि कसैको आवश्यकता नै हल नहुने गरीको आदर्श वा बाचामा बाँधेर कसैलाई पनि कुराएर राख्नु बेइमानी हो किनभने भोलि प्रेमका कुनै अवयव बदलिन्छन्, आवश्यकताका स्वरूप फेरिन्छन्, त्यो बेला आफूले कुराएर राखेको मान्छे छाडेर अर्को मान्छे छान्नुपर्ने हुन सक्छ । त्यसलाई धोका मानेर कसैले एउटा जिन्दगी बर्बाद गर्न सक्छ ।

त्यसैले कसैलाई पनि नकुरौँ, नकुराऔँ, अवस्थाजन्य र आवश्यकताको हिसाबले जरुरी र सबै अवयव मिल्ने किसिमको प्रेम गरौँ । हामीले यति मात्र सोच्ने हो भने दुनियाँमा रहेका प्रेमसम्बन्धी समस्या धेरै हल हुनेछन् । जसरी दुनियाँमा केही अपरिवर्तनशील छैन, त्यसरी नै अपरिवर्तनशील प्रेम पनि छैन, यो केही परिवर्तनशील अवयवको योगफल मात्र हो, सदावहार र जुनीजुनी टिक्ने आदर्शवादी लेप लाएर प्रेमलाई, अरू कसैको जिन्दगीलाई र आफ्नो जिन्दगीलाई दुख नदिऔँ ।

सबैको कल्याण होस् !


अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।