रक्सी लतको पहिचान र उन्मुक्ति : उपचारका चार चरण

रक्सी लतको पहिचान र उन्मुक्ति : उपचारका चार चरण

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  दृष्टिकोण  |  फाल्गुन २, २०७६

आजकल नेपालमा मानिसहरूले अधिक रूपमा पार्टीहरूको आयोजना परिपाटीको रूपमा विकास हुन थालेको छ । जीवनका हरेक उत्सवहरूलाई पार्टीमा रूपान्तरण गर्न थालेको पाइन्छ । ‘बर्थडे, विवाह, वर्तमान, पास्नी, जंकु हुँदाहुँदै ‘म्यारिज एनिभर्सरी’मा समेत पार्टीहरूको आयोजना गर्ने चलनचल्तीले जरो गाडिसकेको छ ।

यसरी आयोजना हुने जुनसुकै भोजभतेरमा अन्य परिकारसँगै पेय पदार्थ अनिवार्य हुने गरेको छ । यसमा समान्य कोल्ड ड्रिङ्क्सदेखि हार्ड ड्रिङ्क्ससमेत राखने चलनचल्ती बेसी नै हुने गरेको छ ।  

हिजोआज आयोजना हुने यस्ता पार्टीहरूमा राखिने रक्सी भने ठूलै समस्याको रूपमा देखिन थालेको छ । नेपालको सन्दर्भमा  हेर्ने हो भने विगतमा रक्सी खाने चलन मतवाली जातिमा सीमित थियो । विशेषगरी मतवाली नेवार, राई, मगरलगायतहरूले मात्र खाने भन्ने चलन थियो । तर, अब अहिले कुनै पनि जातकाले मात्र खाने कुरा भन्ने चलन हरायो र सबै जातको खाने कुरामा रक्सी रूपान्तरण भइसकेको छ ।

यस्ता पार्टीहरू, विवाह, ब्रतबन्ध, पास्नी वा जंकुहरूमा अधिक रूपमा रक्सी राख्ने ‘फेसन’का रूपमा विकास भएको छ ।  पार्टीहरूमा बियर, वाइन, ह्विस्की र भोड्का राख्ने चलन एकदमै समान्य हुन थालेका छन् ।  

नेपालको सन्दर्भमा र विभिन्न अध्ययनहरूले के देखाएका छन् भने यसता पार्टीमा सुरु गरेको रक्सीबाट नै मान्छे विस्तारै कुलतमा फसेको पाइएको छ । कहिल्यै नखाने मानिसलाई ‘आज त हो !’ ‘कहिलेकाहीँ त हो !’ भनेर अभिभावकको अगाडि नै करमा परेर नखाने मान्छेलाई खुवाउने चलन बढ्दै गएको छ । त्यो अभ्यास अधिक रूपमा किशोर किशोरीमा हुने गरेको छ ।

हिजोआज त कतिसम्म देखिन थालेको छ भने, सामान्य साथीभाइहरूको जमघट, पिकनिकहरूको आयोजना गर्दासमेत बियर वा रक्सी अनिवार्य हुने गरेको छ । हाम्रो समाज एउटा यस्तो विकृतिमा फस्दै गएको छ ।  

रक्सी लतमा रूपान्तरणको चरण

सुरुसुरुमा खाने भनेको देखासिकी गर्ने, रमाइलोका लागि खाने भनेर सुरु गर्ने गरेको पाइन्छ । विस्तारै त्यसमा चस्का र चासो बढ्दै गएपछि रक्सी नभई नहुने चरणमा पुग्ने गर्छ अथवा थाहा नै नपाई यो लतमा परिणत भइसकेको हुन्छ । यस्तो अवस्थालाई हामीले ‘अल्कोहल डिपेन्डेन्ट सिन्ड्रोम’ भन्ने गरेका छौँ ।

हामीले अलिअलि खाने भन्ने त अर्को पक्ष हो । त्यसमा खासै समस्या हुँदैन । जब मानिस दैनिक खान थाल्छ र ‘अल्कोहल डिपेन्डेन्ट सिन्ड्रोम’को चरणमा प्रवेश गर्छ, तब रक्सी नभई नहुने वस्तुमा परिणत भएको हुन्छ  ।

मानिसले रक्सी मात्र खोजिरहन्छ, रक्सी कहाँबाट ल्याउने ? कहाँ पाउँछ ? कताबाट ल्याउने ? भन्ने मानिसलाई हुन्छ । मानिसलाई तलतल लाग्ने र बिहानैदेखि रक्सी खाने अवस्था आउँछ । कहाँ गएर खोज्ने ? के गर्ने ? भन्नेजस्तो व्यवहार देखाउन थाल्छ । त्यस्तो समयमा उसलाई समाज, परिवार, आफ्नो काम, आफ्नो उत्तरदायित्व सबै बेवास्ता गर्न थाल्छ । त्यस्तो अवस्थामा मानिसले रक्सी मात्रै खोज्दै जाने संभावना बढी हुन्छ ।

दोस्रोमा पहिलो दिन जति खाएको हो, त्यो परिमाणभन्दा अलिकति बढाउनुपर्ने अवस्था आउँछ । अथवा मात्रा बढ्दै जान्छ । पहिला उसले ३० एमएल खान्थ्यो भने ६० एमएल खाँदा उसलाई रमाइलो हुन्छ । पछि त्यसलाई ६० एमएलले हुँदैन, ९० एमएल या १०० एमएल गर्दै मात्रा बढाउँदै लगेको हुन्छ ।

यसरी ‘इन्कुइज टोलरेन्स क्यापासिटी’ विस्तारै–विस्तारै विकिसित हुँदै जान्छ । मानिसको अल्कोहल खाने मात्रा बढ्दैबढ्दै जान्छ । र, तेस्रो चरणमा के भावना विकास हुन्छ भने, उसलाई मैले त धेरै खाएँ, अब मैले त्यसलाई ‘कटअप’ गर्नुपर्छ भन्ने निष्कर्षमा मानिस पुग्छ ।

यस्तो चरणमा पुगेको मानिसले रक्सी छाड्न खोज्छ । त्यस्तो अवस्थामा शरीरमा विभिन्न खालका समस्या देखापर्न थाल्छन् । जस्तो ः हातहरू काँप्ने, राती निद्रा नपर्ने, पसिना चिटचिट आउने आदि कुराहरू हुन थाल्छन् ।

त्यस्ता मानिस ती समस्यासँग प्रतिरोध गर्न रक्सी खाने गर्छन् । रक्सी खानासाथ यी समस्या हट्छन् अथवा हातहरू काँप्न थालेका छन् भने रक्सी खानेवित्तिकै त्यो कम हुने गर्छ अनि यसको उपचार त ‘रक्सी’ हो भन्ने रूपमा बुझ्न थाल्छ र झनै   रक्सी खान थाल्छ ।

तनाव र अल्कोहलको सम्बन्ध

सुरुवाती चरणमा मानिसले रक्सी खाने विभिन्न कारणहरू हुन सक्छन् । लत बस्नेगरी खानेहरूमा कुनै पनि समस्या आयो वा कुनै पनि चित्त नबुझेका कुराहरू आए भने रक्सी खाने गर्छन् ।  त्यो समस्यासँग जुध्न ऊ सक्दैन र उसका लागि समस्या व्यवस्थापन गर्न के गर्ने ? भन्दा रक्सी खाइदियो भने उसलाई समाधान हुन्छ भन्ने लाग्छ ।

त्यो समस्यालाई लिएर रक्सीको पछाडि लुक्न जाने भनेको जस्तो हो । त्यसैले गर्दा रक्सी खाएपछि उसलाई आनन्द हुन्छ, त्यो सबै बिर्सेको जस्तो हुन्छ ।

जब भोलिपल्ट त्यो तनाव झनै बढ्दै जान्छ, तब अर्को ‘अल्कोहलको पार्ट’मा जाने हो भने ऊ ‘डिपेन्डेन्ट पार्ट’मा पुग्छ र सबै काम छाडेर रक्सी मात्र खाने निष्कर्षमा पुग्छ । बिहानदेखि बेलुकासम्म रक्सी मात्र खाने हुन्छ ।

यस्तो अवस्थामा मानिसले आफ्नो कामलाई पूर्णतया बेवास्ता गर्न थाल्छ । उसको काममा बाधा पर्न थाल्छ । अफिसमा रक्सी खाएर गयो भने ह्वास्स गन्ध आइरहेको हुन्छ अनि उसलाई गाली गर्ने नै भयो नि !  त्यसपछि उसले काम गर्न जान छाडिदिन्छ या त हाकिमसँग झगडा गर्न थाल्छ । अथवा अर्को पार्ट भनेको मापसे गरेर मोटरसाइकल वा गाडी हाँक्दा प्रहरीसँग झगडा पर्न थाल्छ र उसलाई रक्सी यसरी खानुपर्ने बेला आउँछ कि उसलाई पैसाको पनि खाँचो पर्न थाल्छ ।

यसरी पैसाको खाँचो भएपछि चोर्ने कि ! धम्क्याउने कि ! हरेक कुराहरू गर्न थालेको हुन्छ । यसले गर्दा अपराधमा उन्मुख भएर जान्छ अनि अपराध र रक्सीको सम्बन्ध अपराधमा पुग्छ । किनभने ऊसँग पैसा हुँदैन । उसले ढाँट्ने हुन्छ, यसलाई हामीले ‘प्याथलोजिकल लायर’ भन्छौँ । यसको अर्थ गर्नुपर्ने कुरा गर्न नसकेपछि उसले रक्सी खाएको हुदाँ पनि रक्सी खाएको छैन भन्ने हुन्छ ।  

उसले रक्सीका लागि पैसा कहाँ जोरजाम गर्ने भन्ने मात्र ध्यान दिन्छ र चोर्ने हदसम्म पुग्छ ।

यस्तो चरणसम्म मानिस पुग्छ कि रक्सीको तलतल आउँदाखेरि आफ्नो सारा सम्पति सिध्याउने, श्रीमतीको साडी, जुत्ता, ब्याग, गहना आदि सबै बेचेर रक्सी खाने चरणमा पुग्छ । यसले गर्दा घरमा कलह हुने भयो । श्रीमतीसँग, आमा–बुबासँग वा परिवार सबै जनासँग झगडा र कलह निम्त्याउने सामान्य हुन्छ ।

यसले गर्दाखेरि यसको ‘कम्प्लिकेसन’ मात्र होइन, धेरै समस्याहरू निम्त्याउने गर्छ । यस्ता समस्याहरू कतिपयका शारीरिक रूपका हुन्छन् त कतिपय मानसिक रूपका अनि कतिपय सामाजिक रूपका पनि समस्या हुन सक्छन् ।

मानसिक समस्याका रूपमा हेर्ने हो भने रक्सी खाएर हात काँप्ने, चिटचिट पसिना आउने, धेरै झगडा गर्न मन लाग्ने, कसैलाई केही कुरा भन्न नसकेका बेलामा रक्सी खाएपछि झगडा गर्न पनि तयार हुने मात्र होइन, कुनै पनि कुराको जवाफ दिन पनि तयार हुने हुन्छ ।

लतको पहिचान

यसको लतको पहिचान गर्ने तरिका भनेको व्यक्ति बिहानदेखि बेलुकासम्म रक्सी मात्र खोजेर बस्ने हुन्छ । उसको ध्यान नै त्यसमा मात्र जाने हुन्छ । यस्तो मानिसलाई केही पनि काम मनपर्दैन, काम गर्नै सक्दैन । ड्राइभिङ गर्नुपर्ने मान्छेहरूको हात काँप्न थाल्छ वा कामै गर्न सक्दैन ।

लेख्नुपर्ने छ भने पनि हात काँपेर गर्नै सक्दैन । अनि बिहानैदेखि हात काँप्न थाल्छ । उसले रक्सी खाएपछि हात काँप्न छाड्छ । उसलाई अहो मैले बढी रक्सी खाएँ भन्ने कुरा नै महसुस हुँदैन ।  उसलाई आफूले गरेको कुरा ठीकै हो भन्ने मात्र लाग्न थाल्छ ।

केही सिकेर आफ्नो व्यवसाय गर्न सकोस्, आय आर्जन गर्न सकोस् भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ । हामीले रक्सी खायो भनेर रिह्याबिलिटेसनमा लगेर राख्छौँ । त्यो एकदम गलत हो किनभने त्यहाँ गएर ट्वाइलेट पुछ्ने र खाना पकाउने मात्र काम गराएर, भाँडा माझ्ने काम गराएर र पी.टी. खेलाएर मात्र राखेको हुन्छ । यो तरिका होइन ।

सबैभन्दा पहिला यस्तो मानिसले स्मरण शक्ति गुमाउँछ । सुरुमा बिर्सने र पछि पूरै स्मरण शक्ति गुमाउने हुन्छ । सुरुमा अहिलेको अहिल्यै बिर्सने, हिजो के खाएँ, के लाएँ, कोसँग के कुरा गरेँ भन्ने कुरा पनि थाहै पाउँदैन ।

‘मेमोरी प्रोब्लम’ आउने हुन्छ । अल्कोहल छोड्दा छारे रोग जस्तो हुने वा बेहोस भएर जाने पनि हुन सक्छ । उसका हात–खुट्टाहरू झमझमाउने र नसाहरूमा असर गर्न थाल्ने हुन्छ ।

कहिलेकाहीँ ठूलो ‘साइकोलोजिकल कम्प्लिकेसन’मा परिणत भई स्मरण शक्तिमा कमी हुँदै जान्छ । हिजो के गरेँ भन्ने नै थाहा हुँदैन । कोहीकोही त रक्सी अत्यधिक मात्रामा खाएर हिजो एकदम झगडा गरेर एकदम तहसनहस गराएको हुन्छ । भोलिपल्ट के गरेँ, कसो गरेँ भनेर उसलाई केही पनि थाहा हुँदैन । त्यो त्यस्तो लेवलमा आएको हुन्छ । ‘मेमोरी प्रोब्लम’ भनेको त्यही हो ।

साथसाथै शारीरिक रूपको कम्युनिकेसनका बारेमा कुरा गर्ने हो भने उसलाई टाउको दुख्नेदेखि लिएर भमिटिङ हुने,  पेट दुख्ने, कलेजोमा समस्या आउने, लिवर सिरोसिस हुने, कलेजोको क्यान्सर हुने इत्यादि हुन्छ । प्याँक्रियाटाइटिस हुने, ग्यास्ट्राइटिस हुने, मुटुमा समस्या आउने, हार्ट अट्याक आउने आदि समस्या हुन्छ । हात–खुट्टा झमझम भएर ‘पेरिफेरल न्यूरोप्याटी’ पनि हुन सक्छ । यी सबै रक्सीको लतले निम्त्याउने कुरा हुन् ।

उपचारका चार चरण

यस्तो समस्याको उपचारका क्रममा पनि गहन उपचार गर्नुपर्ने हुन्छ । सबै कुरा हेरेर मिश्रित रूपमा उपचार गर्नुपर्ने हुन्छ । एउटा अलकोहलको मात्र उपचार गरेर हुँदैन । उसको शारीरिक रूपमा, साइकोलोजिकल रूपमा र सामाजिक रूपमा समस्या आउने भएकाले यी तीनवटै चिजलाई सम्बोधन गरेर उपचार गर्नुपर्ने हुन्छ ।

उपचार गर्दाखेरि हामीले सबैभन्दा पहिले चारवटा चरणमा राखेर उपचार गराउनुपर्ने हुन्छ । पहिलो चरण भनेको ‘मोटिभेसनल काउन्सिलिङ’ भन्ने हुन्छ । उसलाई मोटिभेट गर्नुपर्‍यो । मैले अब यो रक्सी छाड्नुपर्छ है भन्ने कुरा उसले बुझ्नुपर्ने हुन्छ । अब मलाई रक्सी पुग्यो, मैले रक्सी खानुहुँदैन भनेर उसले आफैँ बुझ्नुपर्‍यो । यो किसिमको मोटिभेसनल काउन्सिलिङ उसलाई घरमा नै दिन पनि सकिन्छ या त उसलाई कुनै क्लिनिकमा वा कुनै हस्पिटलमा राखेर गर्न सकिन्छ ।

उसलाई रक्सीको खराबी र जटिलताका बारेमा बताउनुले उसलाई ‘मोटिभेट’ गराउने हुन्छ । उसलाई हो, अब मैले रक्सी छाड्नुपर्छ भन्ने कुरा बुझाउनुपर्छ । ‘मोटिभेट’ भएर उसमा अब मैले रक्सी छाड्छु भन्ने सोच आयो भने उसलाई दोस्रो चरणमा  ‘डिटक्सिफिकेसन’ गर्नुपर्छ । त्यो भनेको रक्सी उसको शरीरमा बिषको रूप धारण गरेर बसेको हुन्छ । त्यो ‘पोइजन’ भएर बसेको चिजलाई निकाल्नुपर्ने हुन्छ । त्यो निकाल्नका लागि उसलाई अस्पतालमा भर्ना गरेर राख्नुपर्ने हुन्छ । जस्तो ः हातहरू काँप्ने, निद्रा नलाग्ने हुन्छ ।

उसको शरीरमा रक्सी पोइजन जस्तो भएर बस्ने हो । त्यसले गर्दा उसलाई वाकवाक आउने हुन सक्छ । सबै ‘कम्प्लिकेसन’ कम गर्नलाई हामीले उसलाई अस्पतालमा भर्ना गरेर राख्नुपर्छ । त्यसमा हामीले निश्चित औषधिहरू पनि दिनुपर्ने हुन्छ, जसले सजिलो पनि बनाउँछ, राती निद्रा पनि लाग्छ । कहिलेकाहीँ ऊ बेहोस भएर जान सक्ने संभावना पनि हुन सक्छ ।

रक्सी खाइराखेको व्यक्तिले छाडेको बेला छारेरोग जस्तो हुन सक्छ । त्यसैले उसलाई त्यो खालको उपचार पनि गर्नुपर्ने हुन्छ । अर्को तेस्रो चरण भनेको ‘रिल्याक्स प्रिभिन्सन’ भन्ने गरेका छौँ ।  त्यो ‘रिल्याक्स प्रिभिन्सन फेज’मा के हुन्छ त भन्दा अब रक्सी छोड्यो राम्रो भयो भनेर घर पठायो, त्यही दिनमा नै खाइदिने या एक महिनामा नै खाइदिने हुन सक्छ ।

त्यो अवस्थामा फेरि लत बल्झिन सक्ने संभावना बढी हुन्छ । हामीले हेर्नुपर्‍यो भने फेरि त्यो किन बल्झ्यो त ? के कारणले बल्झ्यो ? उसले किन खान्छ ? के कारणले खान्छ ? के आइपर्छ कि उसले रक्सी छाड्नै नसक्ने भयो ? भनेर हामीले त्यो हेर्नुपर्छ । त्यो किन खान्छ भन्दा प्रायजसो उसले कुनै पनि समस्यासँग जुध्न सक्दैन, समस्या आयो, तनाव आयो, त्यसलाई समाधान गर्न सक्दैन । कुनै पनि समस्यासँग जुध्ने क्षमता नै उसको एकदम कमजोर भइसकेको हुन्छ । यसले गर्दा त्यो पार्टमा उसलाई समस्या आयो भने उसलाई कसरी समाधान गर्ने भन्ने कुरा सिकाउने अवस्था आउँछ ।

पहिलो ‘पार्ट’ त्यो हुन्छ भने अर्को ‘पार्ट’ ऊ डिप्रेसनमा जाने हुन्छ । धेरै नै दिक्क हुने, उदास हुने इत्यादि कुराहरू पनि भइरहेका हुन्छन्, जसले गर्दा उसले आफ्नो ‘डिप्रेसन’लाई ‘ओभर कम’ गर्नका लागि उसले रक्सी खाइरहेको हुन सक्छ ।

अर्को पार्टमा एन्जाइटी पनि हुन्छ । त्यो भनेको कोहीसँग बोल्नलाई हिचकिचाउने हुन्छ । कसैसँग गएर समस्या समाधानका बारेमा कुरा गर्नुपर्‍यो भने उसलाई आँट आउँदैन । आँट उसलाई रक्सी खाएपछि मात्र आउने हुन्छ । त्यो एन्जाइटीका कारण हुने भएकाले उसले रक्सी खाएको हुन सक्छ ।

कसैकसैलाई व्यापारमा फसेका कारणले पैसा धेरैलाई दिइराख्नुपर्ने हुन्छ र पैसा धेरैलाई दियो भने पैसा लिन सकेन । सामान दियो, पैसा समयमा आइरहेको हुँदैन । पैसा लिन गयो, गाली गरेर पठाउँछ अनि लुरुक्क परेर आउनुुपर्ने हुन्छ  ।

यस्तो बेलामा रक्सी खाएर गयो भने त बोल्न सक्ने भयो, हिम्मतिलो भयो । कुनैकुनैको ‘पर्सनालिटी डिसअर्डर’ पनि हुन्छ । उसको आफ्नो पर्सनालिटी पनि एकदम मै हुँ भनेर जाने, अलिअलि खाएर के नै हुन्छ र ! भन्नेजस्तो लाग्ने र पुरानो गल्तीबाट आफूले कहिल्यै पनि पाठ नसिक्ने सबैभन्दा ठूलो कुरा त यो भयो ।

गल्ती गरेँ भनेर उसलाई कहिल्यै रियलाइज नै हुँदैन । उसले रक्सी खाएको कुरालाई गल्ती नै भन्दैन । रिल्याक्स हुन सक्ने अर्को एउटा कुरा के हो भने, रक्सीले गर्दा ऊ एउटा लेवलमा आइसकेको हुन सक्छ । जस्तो कि यो जँड्याहा, यो फटाहा, लुच्चा, यसले हामीलाई दुःख मात्र दिएको छ भनेर घरपरिवारका मान्छेहरू सबैले छिछि र दूरदूर गरेका हुन सक्छन् । त्यस्तो कारणले गर्दा उसलाई यो जँड्याहा काम नै नलाग्ने मानिस  भइसक्यो भनेर सबैले हेप्न खोजेका हुन्छन्  ।

यस्तो अवस्थामा मानिसलाई रिस हुन्छ– मलाई यस्तो भन्यो, उस्तो भन्यो भनेर । छाडेर आएपछि पनि मलाई यस्तो भन्यो भनेर उसलाई लाग्छ, जसले गर्दा मलाई यस्तो भन्छन्, म खाइदिन्छु भनेर फेरि खान सुरु गर्छ ।

एकदमै देखिएको यो पार्टमा अध्ययनहरू पनि भइरहेका छन् । यसले गर्दा यस्ता किसिमका घरका परिवारको नराम्रो वातावरण हुन्छ । उसलाई हेप्ने दृष्टिकोणले उसलाई हेरिएको हुन्छ । त्यो अवस्था आउने पनि हुन्छ ।

चौथो चरणमा ‘रिह्याबिलिटेसन’ नै हो । यो चरणमा पुगेको मानिससँग शिक्षा पनि हुँदैन, कुनै राम्रो काम पनि हुँदैन, कुनै राम्रा साथीहरू पनि हुँदैनन्, ऊ एक्लो भइसकेको हुन्छ । अब उसले के गर्ने त ? रक्सी छाड्यो अब घरमा आएर के काम गर्ने त ? केमा अल्झाउने ? केमा ‘बिजी’ हुने ?

कुनै किसिमको काममा व्यवस्था सम्हाल्ने भन्ने केही पनि हुँदैन । उसको बुद्धि, विवेक त ठीक हुन्छ तर उसलाई हामीले केही चिजमा संलग्न गराउनुपर्ने हुन्छ । त्यसका लागि उसलाई ‘रिह्याबिलिटेसन’मा राख्ने भनेको  हो ।

केही सिकेर आफ्नो व्यवसाय गर्न सकोस्, आय आर्जन गर्न सकोस् भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ । हामीले रक्सी खायो भनेर रिह्याबिलिटेसनमा लगेर राख्छौँ । त्यो एकदम गलत हो किनभने त्यहाँ गएर ट्वाइलेट पुछ्ने र खाना पकाउने मात्र काम गराएर, भाँडा माझ्ने काम गराएर र पी.टी. खेलाएर मात्र राखेको हुन्छ । यो तरिका होइन ।

त्यसका लागि उसले सीप सिक्ने काम गर्न सक्नुपर्छ । सीपमा उसलाई के सिक्न मन लाग्छ ? कसैलाई पेन्टिङ गर्न, कसैलाई पलम्बिङमा जान मन लाग्छ । उसले पेन्टिङ गरेर पैसा आय आर्जन गर्न सक्छ । यो चिज हामीले हेर्नुपर्ने हुन्छ । यो गर्न सक्यौँ भने राम्रो हुन्छ र यो एकदमै जरुरी हुन्छ  ।

त्यो कुरामा ध्यान सकिएन भने कुलतमा फसेको मानिस फेरि त्यही अवस्थामा जान सक्ने बढी नै संभावना हुन्छ ।