सामर्थ्यको अहंकार, राजकुमार र बिर्सिएको विगत

सामर्थ्यको अहंकार, राजकुमार र बिर्सिएको विगत

शर्मिला खड्का  |  दृष्टिकोण  |  फाल्गुन २, २०७६

मानिस आफ्नो जवानी, जोस, बुद्धि, बल र सामथ्र्यलाई बेसी नै महत्त्व दिएर सुख, सुविधा र उच्च जीवनशैलीको अभिमान देखाउँदै अरूलाई हेयको भावनाले हेर्ने गरेको पाइन्छ । चाँडै, कम परिश्रममा धेरै धन आर्जन गर्नेहरूबाट यस्तो घमण्ड र दम्भ प्रदर्शन हुने गरेको छ ।

यस्तो घमण्डले मानिसको जीवनमा ठूलै अर्थ राख्ने गर्छ ।  यस्तो प्रवृत्ति देखाउने मानिसको समाजमा त्यस्तै किसिमको छवि निर्माण भइरहेको हुन्छ भन्ने कुरामा समेत समान्यतया ख्याल गरिराखेको हुँदैन । यस्तो दम्भका कारण स्वयं व्यक्तिको जीवन कष्टकर र दुःखी  हुँदासम्म खास ख्याल नगरी समाज र साथीसङ्गीका बीचमा बोक्रे अभिमान, आडम्बर र देखावटी स्वाङ प्रदर्शन गरिरहेका हुन्छन्  ।

घमण्डी र दम्भी स्वभावका बारेमा समाजमा विभिन्न लोककथाहरू पाइने गरेका छन् । त्यसमा पनि एउटा राजकुमारको कथा सान्दर्भिक हुन जान्छ ।

एक जना सुखी र सम्पन्न राजकुमार शिक्षा हासिलका लागि  दैनिक रूपमा आश्रम धाउने गर्थे । यसरी आश्रम जानेबेलामा एक जना अशक्त व्यक्ति बाटोमा बसेर भीख मागिरहेको सधैँ देख्ने गर्थे । बटुवासँग पैसा र खानेकुरा मागेर आफ्नो जीवनको गुजारा चलाउने दैनिकी थियो ती अशक्त मानिसको ।

कतिसम्म भने, कसैले दिएको खानेकुरा पकाएर खानसमेत सक्ने अवस्थामा ती अशक्त व्यक्ति थिएनन् । शरीर मात्र कमजोर होइन, गरिबी र अभावसमेत प्रष्टैसँग देखिन्थ्यो ।    

कुुनै कुराको अभाव नझेलेका राजकुमारसँग पनि अन्य बटुवालाई जसरी नै ती अशक्त व्यक्ति भीख मागिरहेका हुन्थे । तर, राजकुमार देखेर पनि नदेखे जसरी हिँड्ने मात्र होइन, अशक्त व्यक्तिलाई भने पटक्कै मनपराउँदैनथे ।

एक दिनको कुरा हो, राजकुमारले भीख मागिरहेका अशक्त व्यक्तिलाई कुनै सहयोग गर्नुको सट्टा प्रश्न सोधेछन्, ‘तिमीसँग केही चिज पनि छैन । बाटोमा रातदिन मागेर बस्छौ ।  किन  बाँच्न चाहन्छौ ? किन भगवानलाई चाँडै नै बोलाउन प्रार्थना गर्दैनौ ?’

कहिल्यै पनि सहयोग नगर्ने राजकुमारको यो कुरा सुनेर ती अशक्त व्यक्ति आश्चर्य मान्दै भनेछन्, ‘म हरेक बिहान–बेलुका भगवानसँग आफ्नो जीवन कुनै कामको नभएको र मलाई लैजान भन्दै अनि चाडै बोलाउँन प्रार्थना गर्ने गरेको छु । तर, यसरी मैले गरेको पुकारा भगावनले सुन्दै सुन्नुहुन्न ।’

अशक्त व्यक्तिले राजकुमारलाई थप भनेछन्, ‘कुनै बेला मसँग जोस जाँगर पनि थियो । मसँग धन पनि थियो । मेरो जवानी पनि थियो । मसँग सुख सुविधा थियो । तर, मैले जोकोहीलाई पनि मान्छे गन्दिनथेँ । मैले कहिल्यै पनि कोही मानिसलाई मद्दत गरिनँ । मसँग जवानी र धनमा धेरै घमण्ड थियो । अब मेरो सबै कुरा नष्ट भएको छ । मसँग बस्नका लागि वास छैन । खानका लागि खानेकुरा छैन । लगाउनका लागि लत्ता कपडा छैन ।’

यस्तो कार्यलाई निरन्तता दिन सकिन्छ कि सकिँदैन भन्ने कुराको समान्य ख्याल राखिरहेका हुँदैनन् । मानिसले समय जुनसुकै बेला पनि परिवर्तन हुन सक्छ भन्ने ख्याल गरेको हुँदैन । ख्याल गरेका छन् त धनको घमण्ड र अहंकार ।

उल्टै राजकुमारलाई ‘नबाँच्ने उपाय केही छ कि ? राजकुमार र दरबारसँग कुनै उपाय छ कि ?’ भनेर उपाय सुझाउन ती अशक्त मानिसले अनुरोध गरेछन् । मानिसलाई दुःख, अभाव र कष्ट पनि हुन्छ भन्ने कहिल्यै थाहा नभएका मानिसले भगवानकहाँ जाने (मर्ने) सुझावलाई सहजै लिने अनुमान गरेर सुझाव दिने राजकुमारलाई नै अप्ठ्यारोमा पारेछन् ।

माग्नेलाई मन नपराउने र नदिने भावनाका राजकुमारले त्यसबेला मान्छेले चाहेर मात्र मर्न त्यति सजिलो रहेनछ र अभावमा पनि मानिसले जसरी नि जिउनुपर्नेरहेछ भनेर पाठ सिकेछन् । राजकुमारले जहिलेसम्म आश्रम धाए, तबसम्म ती अशक्त मानिसलाई सक्दो सहयोग नै गरेछन् ।     

सायद राजकुमारलाई लागेको थियो, अशक्त मानिस अभाव र अशक्त हुँदाहुँदै किन बाँचिरहेका छन् ? उनले सबल र सक्षम मनिस मात्र बाँच्ने भन्ने शिक्षा प्राप्त गरेका थिए । जब अशक्त मानिसले आफूले सुझाव दिनुपूर्व नै त्यो निष्कर्षमा पुगेको र अशक्त व्यक्तिको मर्ने चाहना हुँदाहुँदै पनि केही उपाय नभएर भीख माग्ने विकल्प रोज्नुपरेको रहेछ भन्ने राजकुमारले थाहा पाए, तब उनले  निष्कर्ष निकालेछन् कि वास्तवमा समाजमा सबल र सक्षम मात्र होइन, दुर्बल र कमोजर मानिस पनि हुुन्छन् ।

सबैखाले मानिस भएको मात्र समाज हुन्छ भन्ने पाठ सिकेछन् । उनलाई आश्रममा गुरुले सिकाएको चक्रका बारेमा याद भएछ– ‘समाजमा रहेको धनी मानिस कुनै पनि बेला गरिब हुन सक्छ र गरिब मानिस कुनै पनि बेला गरिब हुन सक्छ ।’     

सोही दिनदेखि राजकुमारले विगतका दम्भ र घमण्डलाई त्याग्ने निष्कर्ष पुगेछन् । यो त भयो कुनै अभाव नभएको राजकुमारको कथा । तर, समाजमा यस्ता मानिसहरू छन्, जुन मानिसको विगतमा अभावै अभाव थियो । मिहिनेत र परिश्रम गरेर धन आर्जन गर्नेहरूले समाजमा सामथ्र्यलाई प्रदर्शन गर्ने, अरूलाई हेयको दृष्टिकोणले हेर्ने र अहंकार चलन विकास भइरहेको छ ।  कतिसम्म भने विगतका सम्पूर्ण अभाव र गरिबीलाई बिर्सेर आडम्बर प्रस्तुत गरिरहेका हुन्छन् ।  

यस्ता खालका मानिस आफ्नो हैसियत बिर्सेर बोक्रे अभिमान र देखावटी स्वाङ पारिरहेका हुन्छन् । यस वर्गका मानिस सामान्यभन्दा सामान्य घरैमा गर्न सकिने ‘बर्थडे’ र ‘एनिभर्सरी’ जस्ता पार्टीहरू ठूलाठूला पार्टी प्यालेसहरूमा भोज भतेर लाउने गरेका छन् । विगतमा दाइजो प्रथाको विरोध गर्नेहरू समाजमा नै नकरात्मक असर पर्ने गरी दइजो दिने र लिने कार्यमा सरिक हुने गरेको छन् ।

यस्तो कार्यलाई निरन्तता दिन सकिन्छ कि सकिँदैन भन्ने कुराको समान्य ख्याल राखिरहेका हुँदैनन् । मानिसले समय जुनसुकै बेला पनि परिवर्तन हुन सक्छ भन्ने ख्याल गरेको हुँदैन । ख्याल गरेका छन् त धनको घमण्ड र अहंकार । मानिसले बिर्सन्छ सुख, दु:ख निरन्तर भइरहने प्रक्रिया हुन् । यी आइरहन्छन् ।