कानकासुन्दरीका महिलाहरु ‘सुत्केरी भत्ता’बाट बञ्चित

कानकासुन्दरीका महिलाहरु ‘सुत्केरी भत्ता’बाट बञ्चित

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २, २०७६

जुम्ला ।  कानकासुन्दरी गाउँपालिका जुम्लाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाएका छैनन् । उनीहरुले गतवर्षको  भत्ता हालसम्म नपाएकोे बताइएको छ । गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत ८०० रुपैयाँ र सुत्केरी पश्चात् तीन हजार रुपैयाँ प्राप्त गर्दछन् । गाउँपालिकाबाट बजेट नआएको जवाफ पैसा माग्न जाँदा स्वास्थ्य संस्थाले दिँदै आएको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले जानकारी दिनुभयो ।  

हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पु¥याइए पनि हालसम्म भत्ता नपाएको सुत्केरी आमाले गुनासो राखेका छन् । 

यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषधी खुवाएबापत महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने रकम ८०० रुपैयाँ पनि नपाएको महिला स्वयंसेविकाले गुनासो गरेका छन् । कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा सुत्केरी भत्ता दिन नसकेको तर केही दिनभित्र सबै सुत्केरी आमा र महिला स्वयंसेविकाले भत्ता पाउने बताउनुभयो ।