मसूद अजहर पाकिस्तानमै रहेको स्वीकारोक्ति

भारतको आरोप पुष्टि

मसूद अजहर पाकिस्तानमै रहेको स्वीकारोक्ति
जैश–ए–मोहम्मदका सर्वाेच्च मुखिया मसूद अजहर । तस्बिर : ट्रिबुनइन्डिया डट कम ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १७, २०७५

काठमाडौं । जैश–ए–मोहम्मदको सर्वाेच्च मुखिया मसूद अजहर पाकिस्तानमै रहेको सार्वजनिक भएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीका अनुसार मसूद अजहर पाकिस्तानमै छ । अहिले ऊ एकदमै बिरामी छ र घरबाट बाहिर निस्कन पनि समर्थ छैन । 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी । तस्बिर : न्युजवन डट टिभी

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी । तस्बिर : वनइन्डिया डट टिभी । 

भारत–पाकिस्तानबीच उत्पन्न तनावको अवस्थामा पाक विदेशमन्त्री भनेका छन्, ‘हामी भारतसँग कुनै किसिमको तनाव बढाउन चाहँदैनौं, अहिलेको तनाव भारतद्वारा पाकिस्तानमा गरिएको आक्रमणका कारण उत्पन्न भएको हो ।’ 

गत महिनाको १४ तारिखमा काश्मिरको पुलवामा भएको आतंकवादी बम काण्डको जिम्मा जैश–ए–मोहम्मदले लिएको थियो । पाकिस्तान सरकारले भारत सरकारसँग पुलवामामा भएको बम विस्फोटमा जैश–ए–मोहम्मदको हात रहेको प्रमाण मागिरहेको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुलवामा बम विस्फोटको ‘डोजिएर’ माग गरिरहेका थिए । तर, भारतले पाकिस्तानलाई ‘डोजिएर’ सुम्पिनुभन्दा पहिला नै मसूद अजहरको आतंकी संगठन जैश–ए–मोहम्मदको बालाकोटस्थित अखडामा बम विस्फोट गरी ध्वस्त गरेको दाबी गर्यो । 

मसूद अजहरलाई आतंकवादी घोषणा गर्न भारतले संयुक्त राष्ट्र संघमै प्रस्ताव लगेको थियो, जुन प्रस्ताव चीनले भिटो प्रयोग गरी सफल हुन दिएन । पुलवामा आक्रमणपछि अमेरिका, फ्रास र इग्ल्याण्डले एक पटक फेरि मसूद अजहरलाई आतंकवादी घोषित गर्न संयुक्त राष्ट्रसंघमा प्रस्ताव राखेका छन् । 

भारतले पटकपटक मसूद अजहर पाकिस्तानमा बसेर आतंकवादी क्रियाकलाप चलाइरहेको आरोप लगाउँदै आएकोमा पाकिस्तानका विदेशमन्त्रीले सार्वजनिक रूपमै मसूद अजहर पाकिस्तानमै रहेको स्वीकार गरेको भारतका समाचार एजेन्सीले जनाएका छन् ।