जीवनको परिभाषा हरायो

जीवनको परिभाषा हरायो

हरिविनोद अधिकारी  |  साहित्य  |  फाल्गुन ३, २०७६

बादलको किनाराबाट
एउटा चाँदीको रेखा देखियो
अलिक पर,  अलिक पर
कालो बादलको किनारामा
एउटा चाँदीको घेरा देखियो
अलिक वर, अलिक वर ।

जीवनको पूर्वार्द्धमा देखिएथ्यो
एउटा लालिमा सँगैसँगै
हाँसोसँगै, खुसीसँगै, बादलसँगै
तर सेतो बादलसँगै
त्यही बादल कहिले सेतो देखिन्छ आकाशमा
कहिले कालो देखिन्छ मनको आकाशमा
आँखा चिम्लेर हेर्दा ।

जीवनको उत्तराद्र्ध
एउटा शङ्काको घेरामा बाँच्ने समय
सोच्यो थोरै हुन्छ त्यो समय
जीवनको लम्बाइमा
तर जब लम्बिन्छ, तनाव हुन्छ परिवारमा
लाग्छ, त्यो समय किन आयो आफैँमा तन्किएर ?

मध्याह्न कुन हो थाहा छैन जीवनको
तर सबै समय पूर्वाद्र्ध जस्तै
मध्यान्ह जस्तै र उत्तराद्र्ध जस्तै
कसैको पनि नापो छैन जीवनको
के गर्ने, के नगर्ने थाहा छ र पनि
एउटा मन हुन्छ, नगर्ने गर्नुपर्छ भन्छ
अराजक मन आफैँमा बाँधिन चाहँदैन
फुक्काफाल बन्छ
अर्को आदर्श मन हुन्छ, के गर्ने के नगर्ने
बडो ध्यान दिन्छ तर त्यसको कुनै सीमा छैन ।

कानुनमा कतै सीमा छैन
कानुनको व्याख्या जसले गर्छ
पहिले उसैले त्यसको सीमा तोड्छ
र, भन्छ– ‘सीमा तोड्न पाइँदैन’
कानुनलाई एउटा व्याख्याभित्र
अपव्याख्या गर्न सकिन्छ
तर एउटा व्याख्यालाई अपव्याख्या गर्न
अर्को कानुनको जरुरत पर्छ ।

खोलालाई कानुन छैन सलललल बग्छ
तर प्रकृतिको अविचल कानुन कडा छ
पानी आउने ठाउँ निश्चित छ, वर्षाबाहेक
वर्षामा ढुंगाको कापबाट पनि पानी उम्रिन्छ
स्वाद मीठो छ
जताततै पानीको मूल फुट्छ
प्रकृतिको कुनै नियम छैन
तर नियम त प्रकृतिको नै छ
र त प्राकृतिक न्याय भनिन्छ ।

कुनै निरंकुश दयावान् हुन्छ
कुनै प्रजातन्त्रवादी निरंकुश हुन्छ
यो त स्वभाव र परिस्थितिको परिणाम हो
हिटलर पनि त प्रजातन्त्रको दुरूपयोगको उपज थियो ।

मान्छेमा एउटा कला हुन्छ जन्मँदैदेखि
पन्छिन्छ आफैँसँग
तर आफैँलाई भने कसरी ढाँट्न सक्थ्यो र ?
पश्चात्ताप गर्ने कला पनि मान्छेमा हुन्छ
क्षमा र दया पनि त मान्छेमा हुन्छ
तर कति निष्ठुर छ मान्छे
हेर्नुहोस् समाचारहरू
सधैँ कतै न कतै
मान्छेले नै त त्यो पत्ता लगाउँछ र भन्छ नि
– मान्छे कति निष्ठुर पनि हुन सक्छ !

चरालाई हेर्नुहोस्
क्षमा मात्र छ
प्रकृतिसँगै चलायमान छ
पानीलाई हेर्नुहोस्
अविरल बगिरहेछ प्रकृतिको वरदानसँगै अकाट्य
बादललाई हेर्नुहोस्
कताबाट आउँछ र हराउँछ
भनेको मान्छ र आउँछ
अनि बिलाउँछ
हामी देख्छौँ
बादललाई थाहा छैन
तर यन्त्रवत् अनुशासनमा छ
रूखलाई केही थाहा छैन
र उसको नाम पनि थाहा छैन
हामीले बादल भन्यौँ, क्याउड भन्यौँ
हामीले बदली भन्यौँ
तर पहिचान नभएको प्रकृति
हाम्रो गुरु हो स्वतः सिकाउने हामीलाई
हामी नाम दिन्छौँ, पहिचान दिन्छौँ
तर जीवन बाँच्न उसले सिकाउँछ ।

हाम्रा केही गुण छन् अपरिवर्तनीय
ती सबै त प्रकृति हुन्
हाम्रा केही अप्राकृतिक गुण छन् आर्जित
ती सबै परिवर्तनशील छन् ।

जब हामीलाई अप्ठ्यारो हुन्छ
प्रकृतिको काखमा स्वतः जान्छौँ
जसको कुनै परिभाषा छैन, कुनै नियम छैन
तर नियम आफैँमा निर्मित छ
जडवत् छ भन्छौँ तर आफैँमा
परिवर्तनशील छ
जस्तो कि मान्छेको अवस्था छ ।

थाहा छैन मान्छे ५०० वर्ष बाँचे कस्तो हुन्छ ?
या १००० वर्ष बाँचे ?
भन्थे पहिले मान्छे दशौँ हजार वर्ष बाँच्थे रे !
अनि पो वेद बनाएका थिए वा ज्ञानी थिए
वा आफैँलाई पनि नियममा बाँध्न सक्थे
अहिले अरूलाई नियम बनाउने त हो
आफैँलाई स्वशासनमा बाँध्ने कहाँ हो र ?
आफू त सधैँ फुक्काफाल नै हो
जीवनको परिभाषामा जीवनको अर्थ छैन भन्छन्
जीवनलाई कतिवटा टुक्रामा बाँड्ने हो ?
कसले बाँड्ने हो ?
के हो नीति ? के हो नैतिकता ? के हो आदर्श ?
सीमा र परिभाषाको कुन मानक मान्ने हो ?

मान्छे त उही हो संसारमा
अनि कसको कुरा मान्ने हो ?
बाँदर त उस्तै हुन्छ, रूख उस्तै हुन्छ
नियम त रूखलाई पनि लगाइन्छ बाँदरलाई पनि
तर नियम कहाँ छ आफूलाई संयमित गराउने ?

पानी बगेकै छ कलकलकल सललल
कतै चुपचाप चुपचाप
हावा बगेकै छ
जस्तो संगत उस्तै गन्धको भारी बोकेर
माटो जमेकै छ
पृथ्वी बनेर चट्टान र बालुवाको रूपमा
वा पहाडको अनुहारमा
तर पहाडलाई, हिमाललाई थाहा छैन
पहाड भनेको के हो ? हिमाल भनेको के हो ?
पहिचानको खडेरी छ
तर उसको पहिचान हामी दिन्छौँ
हामीलाई आफ्नो पहिचान चाहिएको छ
आफ्नो अनुहारमा ।

दया र मायाको दोभानमा उभिएर
पहिचान आवश्यक छ
क्षमा र सहिष्णुताको समन्वयमा
आवश्यक छ पहिचानको अनुहार
हातमा अल्फ्रेड नोबेलको पहिचान छोपेर, बोकेर
बारुदको गन्धसँगै शान्ति पुरस्कार
उनकै नामको बोकेर
पहिचान चाहिएन अब भन्दा के हुन्छ ?
निर्दोष मान्छे मार्न पाइँदैन भन्दा के हुन्छ ?
बाँच्न देऊ किनभने तिमीले जन्माउन सकेनौ
वा मार्न सकौला तर बचाउन सक्छौ त्यसपछि ?
बाँच्न देऊ, नमार र मर्नलाई बाध्य नपार जिउँदै ।

तिम्रो पहिचानको, मानवताको
तिमीले नै हत्या ग¥यौ
र, हत्याको दोष अरूलाई लगाउँदै
फेरि हत्या सुरु गरेका छौ
शान्तिका नाममा, भनेको मानेन भनेर
पश्चात्ताप गरेनौ हत्यापछि
आफूलाई ढाँट्न सिपालु हुँदा नियम हरायो
जीवनको परिभाषा हरायो
तिमीले नै बनाएको ।