बैराग

बैराग

शेखर ढुङ्गेल  |  साहित्य  |  फाल्गुन ३, २०७६

दशकौँ भयो किरण बेखबर भएको, इष्टमित्र, गाउँ, शहर, स्कुल, कलेजका साथी सबैबाट । अरू त अरू आफ्नै जोडी बच्चाकी आमा जीवन संगिनी, जन्म दिने आमासित बिछोडको पीडाले समेत छोयो कि छोएन उसलाई ?

कसैले अनुभूति गर्ने मौका पाएका छैनन् । फर्कने वा नफर्कने ? जिउँदो छ कि मरिसक्यो ? कसैले अनुमान लगाएको छैन । किरणको छायासमेतको आभास कतैबाट नभएको धेरै भयो । चिन्ने जान्नेहरू कहिलेकाहीँ कुरा काट्छन्– अतिआदर्शवादी र अतिमहत्त्वाकांक्षी थियो ऊ ।

उसको आदर्शले उसैलाई खायो पनि भन्छन् कोहीकोही । ‘यस्तो मान्छे त युरोप, अमेरिकामा जन्मनुपथ्र्यो, हाम्रो देशमा के काम ?’, अर्कोले थपेको थियो ।

किरणको आँसु र पीडा बुझिदिने कोही थिएन ।

जिन्दगीमा केके न गर्छु भनी टुप्पी कसेर बीएसम्म पास गरेको थियो किरणले । समाजको रीत र आमाको अनुरोध लत्याउन नसकी पढाइको क्रममा नै वैवाहिक बन्धनमा बाँधिएको थियो किरण ।

न त साथीभाइसित बसेर पिउँथ्यो, न त धुवाँ नै उडाउँथ्यो । बदनियत पनि थिएन उसमा । अरूको भाग र हक खोसिने देखे ऊ टाढै हुन्थ्यो, आफ्नै भाग खोसिए पनि अधैर्य हुँदैनथ्यो । समाजमा न्यायसम्पादनको कुरो उसको रुचि हुन्थ्यो । ्

साथीहरू ‘यसरी माथि चढिँदैन, कुनै न कुनै हाँगो त समाउन नै पर्छ’ भनी सल्लाह दिन्थे तर ऊ एक्लै संघर्ष गर्नुको तीतो अनुभवलाई मीठो मानी सहर्ष स्वीकार गथ्र्यो र आफ्नो टेक्ने धरातलविना त्यो अस्थिर हुन्छ भन्ने जवाफ दिन्थ्यो ।

एक, दुई दिन, महिना गर्दै वर्षौं बित्यो किरणले हातमा प्रमाणपत्र बोकी हिँडेको । प्रमाणपत्रको लेमिनेसन पनि पत्रपत्र भई फाटिसकेको थियो । उसको सोझोपन र आदर्शले विस्तारै आवारा, गफाडी अनि घमन्डीको भारी बोकाइरहेको थियो ।
घरायसी व्यवहारको बोझ उठाउने क्षमता नहुँदा ऊ आफन्तबाटै गैरजिम्मेवार भनी अरोपित भइसकेको थियो ।

कहिलेकाहीँ अनुनय विनय गर्दा दुई–चार रुपैयाँको सहयोग गर्ने पनि तर्की हिँड्न थाले । उधारोको बोझले दिनभन्दा रातलाई प्यारो बनाइसकेको थियो किरणले । सन्तानको बेवास्ता, संगिनीको दैनिक ठाकठुक र घुर्की, आमाको यसो छैन उसो छैनको गनगनले भित्रभित्रै विक्षिप्त बन्दै गएको थियो किरण ।

हरेक बिहानीले उसका सपनालाई लोप्पा खुवाउँदै गएका थिए । अरूको मात्रै होइन, अब त किरण स्वयंको भरोसामा सशंकित हुन पुगेको छ ।

मामा–माइजूको आक्रोशपूर्ण गुनासो थियो, ‘कुन्नि के नामको व्यापार गर्छु भनी पैसा माग्या’ थिए, नदिएर रिसाएका छन् ।’

आफ्नो लाचारीप्रति प्रायश्चित गर्‍यो । आफू र समाजसित माफी माग्यो अनि बाटो लाग्यो– अदृश्य गन्तव्यतिर । बाटोमा भेटिएका कसैसित पनि बोलेन । लगाम लगाएको घोडाझैँ सिधा हिँडिरह्यो ।

उता, दिदी–भिनाजू कोस्दै थिए, ‘त्यस्तो काम धाम नभएकालाई पैसा सापट दिएर डुबाउनु छ र दुःख गरेर कमाएको सम्पति ? रिसाए रिसाओस् ।’

आफू चोखो बनेर खोटजति किरणको टाउकोमा थोपर्नेको एउटै स्वर हुन्थ्यो । परिस्थितिले किरणलाई संसारको भीडबाट एक्ल्याउँदै लगेको थियो । नजिक हुन खोज्यो, तर्किने धेरै थिए । सहपाठी, साथीहरू, जो धनाढ्य थिए, अनैतिक पेसामा इमान बेच्न हौस्याउँथे । त्यस्ता काम गर्न किरणले साहस गर्न सकेन । उसले इज्जत र नैतिकताको पर्खाल नाघ्ने हिम्मत गरेन । हौस्याउनेहरू उसलाई लाछी भन्थे ।

किरणको आदर्श र इमान्दारीले उसैलाई खाइसकेको थियो । मानसिक तनाव चरम अवस्थामा दौडँदै रहँदा दूर क्षितिजसम्म आशाको कुनै झल्को छैन उसको नजरमा । किरणसँग मर्नुभन्दा बहुलाउनु एक मात्र विकल्प थियो ।

सधैँझैँ आज पनि किरण झिसमिसेमै उठ्यो । संगिनीको निराश र मलीन अनुहारमा क्षमाप्रार्थी याचनात्मक भावमा हेर्‍यो । संगिनीले कुनै नौलो आभास र उत्साह देखाइनन् । निःशब्द किरण बच्चाहरूको कोठामा छिर्‍यो । दुनियाँदेखि बेखबर बाल सुलभ निद्रामा थिए । उसले मनमनै मुरीमुरी माया दियो । भावविभोर भएर टप्किनै आँटेको उसको आँसु पछाडि कसैको आवाजले रोकियो ।

थाहै नभएझैँ किरणले ध्यान कतै मोड्ने कोसिस गर्दै थियो तर काँधमा संगिनीको हात उसले महसुस गर्‍यो । उनका आँखामा हेर्ने साहस किरणले बटुल्न सकेन । बच्चाझैँ लपक्क अँगालो हाल्यो र आँसु खसाल्यो, लुकाएर । ऊ अझै निःशब्द नै थियो ।

मनमनै ऊ माफी माग्दै थियो सुख दिन नसकेकामा र सदाको लागि मनग्य माया लिँदै थियो उनीसित । मनभित्र एउटा अकल्पनीय निर्णय बोकेर ब्युँझिएको किरणले अप्रिय बाटो रोजेको थियो । संगिनीसित आँखै नजुधाई दैनिक बोक्ने गरेको एउटा ब्याग बोकी बाहिर निस्कियो ।

आमाले पूजाकोठामा बजाएको घण्टीले बच्चा पनि ब्युँझिसकेका थिए । ऊ अगाडि बढ्यो । माथि झ्यालबाट बच्चा र तल ढोकाबाट जीवन संगिनीले किरणलाई पछ्याइरहेको भान थियो । जब भर्‍याङबाट ओरालो लाग्नुपर्ने भयो, किरणले साहस गरी घरतिर फर्की हेर्‍यो । सबैका आँखाले उसलाई नै ताकेको ताक्यै रहेछन् । किरण थुचुक्क बस्यो र अनायास भक्कानो परेर धीत मरुन्जेल रोयो ।

आफ्नो लाचारीप्रति प्रायश्चित गर्‍यो । आफू र समाजसित माफी माग्यो अनि बाटो लाग्यो– अदृश्य गन्तव्यतिर । बाटोमा भेटिएका कसैसित पनि बोलेन । लगाम लगाएको घोडाझैँ सिधा हिँडिरह्यो ।

समयसँगै सन्तान जवान भइसके । संगिनी वृद्धा भइसकिन् । आमा परमधाम भइसकिन् । संगिनीका आँखा अझै बाटो हेरी टोलाइरहेका छन्– कतै किरण टुप्लुक्क आई पो हाल्छन् कि ? कतै हुलाकीले खबर पो ल्याइहाल्छन् कि भनेर ।