‘खतबात’, समाचार र प्रधानसेनापति पूर्णचन्द्र थापा !

‘खतबात’, समाचार र प्रधानसेनापति पूर्णचन्द्र थापा !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ४, २०७६

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले गरेको भ्रष्टाचार र अकुत सम्पति आर्जनलाई छानबिन गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण विभागलाई निर्देशन दिने तयारी गरिरहेको छ ।

संसदभित्रबाट क्षत्रीमाथि छानबिनको तयारी चलिरह‌ँदा वहालवाला प्रधानसेनापति पूर्णचन्द्र थापालाई समेत ‘सेनामा राजीनामा दिने बढे, प्रधानसेनापतिले नातावाद–कृपावादलाई निरन्तरता दिए, स्वेच्छाचारी सेनापति, सेनापति आफैँ सुधारका बाधक बने’ भनेर संचार माध्यममा जेहाद छेड्ने क्रम बढ्दै छ ।

नेपाली सेनाभित्र भने विगतका प्रधानसेनापतिहरूको तुलनामा केही सुधार गर्न खोजेको भनेर प्रशंसासमेत भइरहेको समयमा किन प्रधानसेनापति थापामाथि एकाध संचार माध्यमले ‘खतबात’ लगाउने केसिस भइरहेको छ ? यस विषयमा यथार्थ के हो ? यस विषयमा लोकसंवादडटकमले सूक्ष्म अध्ययन गरेको थियो ।

नेपाली सेनाभित्र नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा कडाइ र ठेक्कापट्टा विधिसम्मत गर्न खेज्दा केही भ्रष्ट अधिकृत, ठेकेदार, पेटी ठेकेदारहरूले नेपाली सेना र त्यसका प्रधानसेनापति पूर्णचन्द्र थापामाथि निशाना साँधिरहेका हुन् भन्ने विषयमा सैनिक अधिकृतहरू निष्कर्षमा पुग्न थालेका छन् ।

के थिए त यसरी प्रधानसेनापतिमाथि ‘खतबात’ नै लगाएर जेहाद छेड्न काम । यसमा केही घटनाहरू जिम्मेवार देखिन्छन् ।

मामा–भान्जासँगको असहमति र विवाह बहिष्कार

पूर्वउपरथी भुवन अधिकारीको मुलुकमा सशस्त्र द्वन्द्व चलिरहँदा २०६१ सालमा तत्कालीन शाही नेपाली सेनाको जंगी अड्डा भद्रकालीस्थित आर्थिक प्रशासन विभागअन्तर्गत बजेट महाशाखामा प्रवेश भएको थियो । अधिकारीको त्यसपछि कहीँकतै सरुवा भएन । आर्थिक प्रशासन विभाग मातहतको बजेट महाशाखामा बसेर अधिकारीलाई मेजर (सेनानी)देखि उपरथीसम्म बढुवा हुने अवसर प्राप्त भयो । यो अवसर प्राप्त हुनुमा प्रधानसेनापतिहरूलाई आर्थिक र्‍यालमा चोपल्दै अधिकारीको सिंगो आर्थिक प्रशासन विभागकै प्रमुख हात परेको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापा आर्थिक विभाग प्रमुख अधिकारीका सहोदर भान्जा हुनुहुन्छ । अरू प्रधानसेनापतिलाई त आफ्नो इसारामा नचाउन सफल अधिकारीले भान्जा नै प्रधानसेनापति भएपछि आर्थिक प्रशासन विभागमा अझ बढी मनमोजी गर्ने योजना बनाउने गरेको सँगै काम गर्नेहरूले बताउने गरेका छन् ।

तर, प्रधानसेनापति थापा मामाको योजनाका बाधक बनेपछि अधिकारीसँग चाँडै दूरी बढेको बताइन्छ । आफैँ आर्थिक अनुशासनमा बस्नुपर्छ भन्ने प्रधानसेनापति थापाले अधिकारीलाई अनियमिततामा चालिएका कदममा रोक लगाउन थालेपछि असज महसुस गरी जागिरै छाड्ने अवस्था सिर्जना भएको विषय नेपाली सेनभित्र चर्चित घटनाका रूपमा लिने गरिन्छ ।

आर्थिक अनुशासनमा बस्न कडाइपूर्वक निर्देशन दिएपछि अधिकारीले डेढ महिनाअघि राजीनामा दिएर घर जान वाध्य हुनुपरेको थियो ।

मामा–भान्जाको सम्बन्ध कतिसम्म बिग्रियो भने, यही माघको दोस्रो साता प्रधानसेनापति पूर्णचन्द्र थापाका छोराको विवाह भयो । भान्जाको छोराको जन्तीदेखि थापाले दिएको ‘पार्टी’मा समेत अधिकारीको उपस्थिति भएन ।  

ठेकेदारदेखि मन्त्रीसम्मको र्‍याल चुहाइ

नेपाली सेनाभित्र रासन, चुस्ता, बर्दीदेखि पुनर्निर्माणसम्मको ठेक्का नेताहरूको भनसुन, धम्की, कम गुणस्तर र कमजोर कागजपत्रहरू पेस गरेर लिने÷दिने पुरानो चलनका रूपमा रहिआएको छ । तर, प्रधानसेनापति भएपछि पूर्णचन्द्र थापाले विधिसम्मतबाहेकका ठेक्कापट्टा बन्द गर्न निर्देशन दिनुभयो ।

कतिसम्म भने, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका कान्छा छोरा नै काठमाडौं–तराई मधेस दु्रर्तमार्गको एउटा पेटी ठेक्का आफू निकट पात्रहरूलाई दिलाइदिन आग्रह गर्दै जंगी अड्डा धाउँदासमेत विभागीय रक्षामन्त्रीको छोराको भनसुनसमेत काम लागेको थिएन । यस्ता घटनाले विक्षिप्त बनेका सेनाभित्रका एकाथरी भ्रष्ट कर्णेल–जर्नेल ठेकेदार, पेटी ठेकेदारहरू रक्षामन्त्री निकट भएको बताउँदै नेपाली सेनाबाट स्वार्थसिद्ध गर्न खोज्ने समूह प्रधानसेनापति थापाका विरुद्ध जेहाद छेड्न आफूअनुकूल संचारकर्मी र कार्यालयमा सम्पादन कक्षसम्म धाइरहेका भेटिन थालेका छन्  ।

यी दुई प्रतिनिधिमूलक घटना उदाहरण मात्र हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापालाई आफूअनुकूल चलाउन नसकेपछि अनियमितता गर्नेहरूको एउटा ठूलै समूह सक्रिय रहेको बताइन्छ । नेपाली सेनाभित्र आफूअनुकूल राइँदाइँ र अनियमितता गर्न नपाएपछि जंगी अड्डाभित्रको होस् वा बाहिरको, ठूलै समूह प्रधानसेनापति थापालाई आफू जस्तै बेइमान देखाउन न्वारनदेखिको बल निकालेर लागिरहेको निष्र्षमा प्रधानसेनपतिको सचिवालय पुगेको बताइन्छ ।

यसरी नेपाली सेनाका कुनकुन अधिकारी संचार माध्यम धाउने गरेका हुन्, सूची नै तयार गर्नसमेत निर्देशन दिइएको छ ।

जंगी अड्डा भद्रकालीमा कार्यरत एक महासेनानीका अनुसार घृणित प्रयत्न कतिसम्म गरिँदै छ भने उपरथी रघु भण्डारी पाल्पाका यादव रायमाझीका ज्वाइँ हुनुहुन्छ । रायमाझी नेपाली सेनाको रथीबाट अवकास भएका अधिकृत हुनुहुन्छ । यता, प्रधानसेनापति थापाले पनि काठमाडौं, लैनचौर निवासी रायमाझीकै छोरी दीपासँग घरजम जोड्नसभएको छ ।

भण्डारी र थापाले एउटै थरभित्र विवाह गर्नु एउटा संयोग मात्र भएको र यसबाहेक उहाँहरूको कुनै नातासम्बन्ध पर्दैन । तर, भण्डारीलाई जबर्जस्ती प्रधानसेनापति थापाका साढुभाइ हुन् भनेर नाता सम्बन्ध कायम गरी संचार माध्यममा लेखाउने गरिएको छ ।

त्यस्तै, अर्का सैनिक अधिकृत राजेन्द्र कार्कीकी श्रीमती सरिता साहित्यकार नीरविक्रम प्यासी (राणा)की छोरी हुनुहुन्छ । नीरविक्रमलाई प्यासी ‘उपमा’ राजा महेन्द्रले दिएका थिए । प्यासीकी छोरीसँग विवाह गरेका कार्कीलाई समेत प्रधानसेनापति थापाको साढुभाइ नाता कायम गरी नतावाद–कृपाबाद भएको भनी प्रचार प्रसार गर्न लागेको विषय पनि सैनिकबीच ठूलै चर्चाको विषय हुने गरेको छ ।

झूटको अर्को अनुपम नमुना प्राविधिक सहायक रथी अरुणकुमार न्यौपाने उपरथीमा बढुवा नै नभई प्रधानसेनापति थापाले च्यापेर उपरथी  संचार माध्यमले बनायो । त्यस्तै, प्रमुख सेनानी (प्र.से.) बबी शाह, महासेनानी (म.से.)हरू माधव थापा, प्रकाश चन्द, मानबहादुर महरा र टंक भट्ट पनि प्रधानसेनापतिका कुनै नातेदार नभएका र यी अधिकृतहरूको आफ्नै क्षमता, योग्यता रहेको छ ।

नेपाली सेनामा गरेको योगदानका आधारमा उहाँहरूको आआफ्नो जिम्मेवारी रहेको बताइन्छ । संचार माध्यममा यस्तो समाचार आउनासाथ ठूलै हाँसोको विषय हुने गरेको छ । यसरी कुनै पनि पदमा कसैको बढुवा हुनासाथ नहुने असन्तुष्ट पक्ष संचार माध्यमा पुग्ने र विभिन्न लाञ्छना लाउने गरेको पाइएको विषयमा पनि चार्चा हुने गरेको छ ।

एक उपरथी भन्नुहुन्छ, ‘इमान्दारलाई पनि बेइमानसँगै छ्यासमिस गरेर सत्य के हो छेक्ने काम नगरौँ । ढिलो चाँडो सत्य उजागर भएरै छाड्नेछ । त्यसबेलामा हामीले बुझ्दै नबुझी हावाका भरमा लेखेका रहेछौँ भनेर पश्चात्ताप गर्नु नपरोस् ।’

जंगी अड्डामै कार्यरत अर्का उपरथीका भनाइमा थापाले विगतका प्रधानसेनापतिले जिम्मेवारी दिएकाहरूलाई नै निरन्तरता दिने अपेक्षा राखिएको तर त्यसो नगरिदिएपछि र लामो समयदेखि ‘मालदार’ ठाउँमा बसेर गुट चलाउनेहरूले त्यस ठाउँबाट हट्नुपरेका कारण र नेपाली सेनाभित्र संस्थागत सुधारमा असहयोग गर्नेलाई जिम्मेवारीबाट हटाउँदा प्रधानसेनापतिले थापाले ‘गुट चलाएको’ प्रचार गरिँदै आएको बताइन्छ ।

प्रचार गर्ने कुरामा संचार माध्यमा ‘परिचालित’ गर्ने गरिएको छ । यसका लागि सेनाभित्र केहीले बाहेक सबैले अवसर पाउनुहुन्न भन्ने सोच भएकाहरू नै संचार माध्यम परिचालनमा मजैले सल्बलाएको प्रमाणित भइरहेको बताइन्छ ।

स्रोतका अनुसार प्रधानसेनापति थापाले नैनराज दाहाललाई न्याय नदिएको आरोप छ । निरंकुश शैलीले कमाण्ड गर्ने, आर्थिक अनुशासनमा नबस्ने भए पनि दाहालमाथि सेनाले धेरै लगानी गरिसकेको हुनाले न्याय दिनकै लागि उहाँको प्रमाणपत्रमाथि लोकसेवा आयोगसँग परामर्श लिइएको थियो । तर, लोकसेवा आयोगले नै ‘खुला विश्वविद्यालयको प्रमाणपत्रलाई आजसम्म मान्यता दिइएको छैन’ भनेर पत्र लेखेपछि दाहालको बढुवा नभएको तिलजत्रो विषयलाई पहाड जस्तै विषयका रूपमा प्रचार गरिँदै छ ।  

लोकसेवाको पत्र लत्याएर बढुवा गरेको भए सायद समाचारको शीर्षक हुने थिए ‘थापाले लोकसेवाको निर्देशन पनि मानेनन्’, ‘लोकसेवाको सुझावलाई पनि नटेरी सेना निरंकुश ढंगले अघि बढिरहेको छ ।’

यस्ता घिसेपिटे विषयलाई उठाएर तिललाई पहाड बनाउने कार्यले संचारकर्मीलाई कसले उपयोग र परिचालन गरेको छ भन्ने बारेमा जंगी अड्डा सूक्ष्म ढंगले अध्ययन गरिरहेको छ । त्यसरी जवाफ दिने भन्दा पनि संचार माध्यममा धाउने अधिकारीका बारेमा लगत तयार गर्ने काम भइरहेको बताइन्छ ।  

‘काठमाडौं–तराई मधेस द्रुत मार्गको ठेकेदार छनोटमा अनियमितता गरेको भन्दै आयोजना प्रमुख शरदलाल श्रेष्ठलाई निलम्बन गरी रथी शरद गिरीको अध्यक्षतामा ‘कोर्ट अफ इन्क्वायरी’समेत गठन गरिएको थियो । तर, छानबिनपछि ‘नियतसाथ कुनै बदमासी नभएको’ भन्दै श्रेष्ठलाई पुनः जिम्मेवारीमा फर्काइयो भनिएको छ ।

स्रोतका अनुसार यस घटनामा एकातिर श्रेष्ठलाई निलम्बन नै गरिएकै थिएन, अर्कातिर सत्यतथ्य बुझ्दै नबुझी समाचार आयो । श्रेष्ठका ससुरा काठमाडौं महानगरपालिकामा पूर्वएमाले कोटाबाट वडाध्यक्ष निर्वाचित हुनुहुन्छ । ससुराको शक्ति प्रयोग गरेर उनी प्रधानमन्त्री केपी ओली र विभागीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसम्म धाउनुभएको थियो । यसपछि बाध्य भएर श्रेष्ठलाई पुनः उक्त जिम्मेवारी दिन सैनीक नेतृत्व बाध्य भयो ।

जंगी अड्डा स्रोतका अनुसार प्रेम शाहीलगायतलाई दोहोरो जिम्मेवारी दिइएको भन्ने कुराले पनि स्थान पाउने गरेको अर्को विषय हो । यो नौलो वा आपत्ति मान्नुपर्ने विषय मानिँदैन ।  योग्य र क्षमतावानलाई दोहोरो जिम्मेवारी दिने प्रचलन विगतदेखि वर्तमानसम्म निरन्तर चलिरहेको विषय हो । काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनु गल्ती मानिँदैन ।

‘झूट कतिसम्म प्रचार गरिँदैछ भने, भने टंक भट्टलाई सिग्नल निर्देशनालयको जिम्मेवारी दिइएकै छैन’, स्रोत भन्छ, ‘सहायक रथी सन्तोषबल्लभ पौडेल सिग्नल निर्देशनालयका प्रमुख हुनुहुन्छ ।’

राजेन्द्र कार्कीलाई ‘फास्ट ट्र्याक’को प्रमुख बनाउनेजस्ता नितान्त आधारहीन र हास्यास्पद विषयलाई सतहमा ल्याइएको छ ।

नेपाली सेनाका अर्का उपरथीका अनुसार थापा प्रधानसेनापति भएपछि सम्भारको खरिद प्रक्रिया पारदर्शी, मीतव्ययी, नियमसंगत अनि निष्पक्ष गराउनुपर्छ भन्ने अवधारणाले प्रवेश पाएको छ । उहाँका अनुसार प्रधानसेनापति थापाको कार्यशैलीले केही कामचोर ठेकेदार र पेटी ठेकेदारहरू विक्षिप्त भएका कारण नेपाली सेना र सेनापति समाचारको शीर्षक बन्ने गरेका छन् ।

‘विगतमा केही अधिकृतहरूसँग मिलेमतो गरी सेटिङमा ठेक्कापट्टा गर्न पल्केका ठेकेदारको आरोपलाई सामान्य सोधपुछसमेत नगरी प्रधानसेनापति थापालाई हिलो छ्याप्ने काम भएको छ’, उहाँ भन्नुहुन्छ, ‘फिर्ता जान लागेको बजेटबाट विशेषगरी जवानहरूको भलाइका लागि वाटर ट्रिटमेन्ट प्लान्ट खरिद गरिएको विषयलाई समेत उछालिरहेका छन् ।’

कारबाहीमा पर्नेहरूको राजीनामा

सैन्य स्रोतका अनुसार अहिले नेपाली सेनामा सुधारका विषयमा बहस हुने गरेको छ । नक्कली प्रमाणपत्रधारी र भ्रष्टाचारीहरूलाई एकपछि अर्को गरी कारबाहीको दायरामा ल्याउन थालेपछि राजीनामासमेत गर्न थालेका छन् । सैनिक हवाई महानिर्देशनालयका प्रमुख उपरथी सुधीर श्रेष्ठ यसका एक उदाहरण हुनुहुन्छ ।

उहाँले गरेको आर्थिक अनयिमिततामाथि कडा निगरानीका साथ खोजीनीति भइरहेको छ । उहाँले गरेको आर्थिक हिनामिनामाथि छानबिन सुरु भएपछि नै राजीनामा दिनुभएको हो । सैनिक विद्यालयका सम्पर्क अधिकृत भूपालमान अधिकारीमाथि पनि छानबिन भइरहेको छ । राष्ट्रिय निकुञ्जका सहायक रथी कृष्ण सापकोटामाथि समेत छानबिन भइरहेको छ ।

सैनिक सामान उत्पादन महानिर्देशनालयका महानिर्देशक अजितवरसिंह थापामाथि समेत आर्थिक अनियमितताको आरोपमा छानबिन हुँदै छ । ‘विधि, नियम र मूल्य, मान्यताका आधारमा नेपाली सेना अघि बढ्नुपर्ने दबाब अधिकांश सकल दर्जाहरूले दिइरहेका छन्’, जंगी अड्डा भद्रकालीमा कार्यरत अर्का महासेनानीको भनाइ छ, ‘भ्रष्टाचार गर्ने त गर्ने नै भइहाले । त्यसविरुद्धको अभियानमा लागिरहेकालाई पनि हिलो छ्यापेर के सन्देश दिन खोजेको हो ? कसको पक्षपोषण गरेको हो ?’  

यो अहिले बहसको विषय बनिरहेको छ ।

काठमाडौं–तराई मधेस द्रुत मार्गको ठेक्का रद्द सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार गरिएको नेपाली सेना मुख्यालयले प्रमाण पेस गरिसकेको छ । त्यस आयोजनामा कार्यरत एक प्रमुख सेनानीको भनाइ छ, ‘नियमसंगत गर्दा पनि किन गलत प्रचार गरिँदै छ ?’

उहाँका अनुसार नेपाली सेनाका तीन जना उपरथीको बढुवा रोकिएको भन्ने विषय पनि सत्य होइन । हवाई निर्देशनालयको उपरथीमा बढुवा गर्नुपर्ने घनेन्द्रबहादुर शाहको प्रमाणपत्र प्रवीणता प्रमाणपत्र तहको मात्र छ । ‘विशिष्ट श्रेणीको पदमा योग्यता नै नपुगेको व्यक्तिलाई कसरी बढुवा गर्ने ?’, उहाा भन्नुहुन्छ ।

उपरथी भुवन अधिकारी र शिवराम खरेलको स्थानमा बढुवा प्रक्रिया अगाडि बढिरहेको समयमा यसरी समाचार प्रकाशन हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

अधिकारी र खरेलको स्थानमा निकट भविष्यमै उच्च नैतिकता भएका क्षमतावान् उपरथीलाई ल्याउने कि उनीहरू जस्तै ल्याउने भन्ने विषयले पनि स्थान पाउने गरेको छ  । एक उपरथी भन्नुहुन्छ, ‘इमान्दारलाई पनि बेइमानसँगै छ्यासमिस गरेर सत्य के हो छेक्ने काम नगरौँ । ढिलो चाँडो सत्य उजागर भएरै छाड्नेछ । त्यसबेलामा हामीले बुझ्दै नबुझी हावाका भरमा लेखेका रहेछौँ भनेर पश्चात्ताप गर्नु नपरोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको २ वर्ष पूरा भएको अवसरमा फागुन ३ मा संघीय संसदमा सम्बोधन गर्दै भन्नुभएको छ,– ‘सुशासनका संयन्त्रहरू क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरू मुर्मुरिँदा रहेछन् । यस्तो अवस्थामा ‘नील वर्ण श्रृगाल कथा’ स्मृतिमा आउँदो रहेछ !

‘सार्वजनिक जग्गा हडप्नेका विरुद्ध कारबाही सुरु गर्दा होस् वा राजस्व अपचलनका कसुरमा लाग्नेका विरुद्धको कार्यमा होस्, मैले पटक पटक खप्की खाएको छु । तस्करहरू समातिएपछि खोइ सुन भन्दै बुरुकबुरुक उफ्रिएको देखेको छु’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।  

कतै प्रधानमन्त्रीले भनेझैँ प्रधानसेनापतिमाथि ‘खतबात’ लगाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोजिएको त होइन ?