हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी

हिमपातले गाउँ फर्कनै पाएनन् मनाङवासी

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १७, २०७५

मनाङ । मङ्सिरमा जाडो छल्न बाहिरिएका जिल्लावासी खेतीपातीको सिजन सुरु हुँदा पनि जिल्ला फर्कन सकेका छैनन् । 

वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा एक महिनादेखि हिमपात परिरहेको छ ।

चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङले हिमपातका कारण सर्वसाधारण, कर्मचारी, किसानलगायत प्रभावित भएको बताउनुभयो । ‘अहिले मानिसहरू जिल्ला भित्रिएर आफ्नो व्यवसाय र खेतीपाती धमाधम सुरु गर्नुपर्ने बेला हो । तर, गाउँबस्ती सुनसान छन्,’ उहाँले भन्नुभयो, ‘कोहीले पहिले नै जिल्ला छाडे, कोही हिमपात पर्न थालेपछि जिल्ला बाहिरिए ।’ उहाँका अनुसार अघिल्ला वर्षमा माघ १५ भित्र मनाङवासी जिल्ला भित्रिसक्थे । 

जिल्लाका लागि आवश्यक सामान लिएर आएकाहरू हिमपातका कारण लमजुङ बेँशीसहरमा नै अड्किएका छन् । ‘गाउँ जान हिँडेको तीन पटक भयो, अझै गाउँ फर्कन सकिएको छैन,’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले भन्नुभयो । उहाँका अनुसार पर्यटकको सिजन सुरु भएसँगै विदेशी तथा आन्तरिक पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ । ‘गाउँभरी मानिस खेतीपाती र आफ्नो व्यवसायमा व्यस्त हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ,’ उहाँले भन्नुभयो । 

अहिले मनाङका चार गाउँपालिकामध्ये मनाङ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका सुनसान छन् । 

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले महिना दिनसम्म निरन्तर परेको हिमपातले जिल्लामा रहेका मानिस पनि जिल्ला बाहिरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्न थालेपछि बिदा लिएर झर्न थालेका छन् । 

उता नार्पाभूमि गाउँपाकिाका कर्मचारी गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामेबाट नै गाउँपालिकाको कामकाज गरिरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालिका कर्मचारीविहीन भएको गाउँपालिकाका लेखापाल कृष्णराज तिमल्सिनाले बताउनुभएको खबर राससमा छ ।