भूपू गोर्खा सैनिक आमरन अनसन बस्ने चेतावनी

भूपू गोर्खा सैनिक आमरन अनसन बस्ने चेतावनी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ४, २०७६

काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले समान व्यवहार, सेवाको स्वच्छ मूल्यांकन र मानवीय व्यवहार नगरेको भन्दै एक महिनाभित्र आफ्ना मागहरु पूरा गर्न र आफ्ना मागहरु पूरा नभए आमरण अनसन बस्ने समेतकाे चेतावनी दिएका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, बयस्क छोरा–छोरीहरुलाई बेलायतमा निशर्त आवासीय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकहरुले आमरण अनसनको चेतावनी दिएका हुन् ।

विधवाहरुको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरुको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी मागहरु पूरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताउनुभयो ।

भूपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुवै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुआत गर्ने विश्वास लिएका छन् ।