किन बढ्छ सन्तान र आमाबाबुबीच असमझदारी वा दूरी ?

किन बढ्छ सन्तान र आमाबाबुबीच असमझदारी वा दूरी ?

राजकुमार महर्जन  |  दृष्टिकोण  |  फाल्गुन ५, २०७६

पुरानै जिज्ञासा

आज पनि पुरानै जिज्ञासा– किन सबैजसो आमाबाबु आफैँले जन्माएका सन्तानसँग पूर्ण रूपमा खुसी हुँदैनन् ? किन सबैजसो छोराछोरीहरू आफ्नै जन्म दिने आमाबाबुसँग पूर्ण रूपमा सन्तुष्ट हुँदैनन् ? के त्यस्तो लुकेको कारण छ, जसले बाबुआमा र छोराछोरीहरूलाई एउटै माहोलमा रम्न दिएको छैन ?

हरेक बालबालिकाले आफ्ना पाँच ज्ञानेन्द्रियको सहायताले हेरेर, छोएर, सुनेर, सुँघेर, अनुभव गरेर वा स्वाद लिएर कुनै पनि वस्तु वा परिस्थितिका बारेमा जानकारी लिने, तिनको विश्लेषण गर्ने गर्छन् भन्ने कुरा यसअघि पनि चर्चा गरिसकेको छु ।

जसरी एउटा खेलौनाबाट बच्चाले सिक्नुपर्ने कुराहरू सिकिसक्छ, तब उसको खेलौनाप्रति मोहभंग हुन्छ र अर्को नयाँ खेलौना वा वस्तुको माग गर्छ, त्यसैगरी उसले आफ्ना अभिभावकहरूलाई पनि खेलौना सरह नै व्यवहार गरेको हुन्छ । हाम्रा सन्तानहरूमा बाहिरबाट हेर्दा जति बालापन देखिन्छ, भित्रबाट उनीहरू त्यति नै धेरै चलाख पनि हुन्छन् । आमाबाबुका हरेक क्रियाकलापलाई उनीहरूले सूक्ष्म ढंगले अध्ययन र विश्लेषण गरिरहेका हुन्छन् ।

आमाबाबुले गरेको एउटै गल्ती वा चलाखीलाई पनि उनीहरूले कहिल्यै माफ गर्दैनन् । जुन दिनसम्म आमाबाबुबाट नयाँ कुरा सिक्न पाउँछन्, उनीहरू आमाबुबाप्रति विनम्र बन्छन् । जुन दिनदेखि उनीहरूले आमाबाबुमा क्षमता कम, कमजोरी बढी छ भन्ने कुरा थाहा पाउँछन्, त्यतिबेला आमाबाबुलाई पनि पनि थोत्रो खेलौना सम्झेर फ्याँकिदिन्छन् ।

त्यहीँबाट सुरु हुन्छ असमझदारी । यही नै बाबुआमा र छोराछोरीहरूबीचको सम्बन्धमा दरार पैदा गर्ने पहिलो कारण बन्छ । यसरी अन्जानमै रोपिएको असमझदारीको बिउ विस्तारै झांगिएर पछि विकराल रूप लिन सक्ने संभावना हुन्छ ।

के तपाईंलाई यो कुराको सम्झना छ ? तपाईंका छोराछोरीहरू सानो हुँदा तपाईं परिवारका अन्य सदस्य वा छरछिमेकी, इष्ट मित्रसँग कुरा गरिरहनुभएको, तपाईंको छोरा वा छोरी तपाईंहरू नजिकै आफ्नै तालमा खेलिरहेको, तपाईंले उनीहरूको उपस्थितिको ख्याल नगरीकन गर्नुभएका कुरा आदि । तपाईंलाई लागेको थियो होला, उनीहरूले केही सुनेका छैनन् तर पछि त्यही कुरालाई कुनै न कुनै तरिकाले उनीहरूबाट बाहिर निस्किएको हुनुपर्छ । अर्को, यदि तपाईंले उनीहरूलाई बारम्बार एउटै कुरामा अर्ति उपदेश दिइरहनुभएको छ भने उनीहरूले तपाईंको कुरा नसुनेजस्तो गरेका हुनुपर्छ ।

अभिभावकको रूपमा खेलौना

भाषा नजान्दा हामी बालकालिकाहरूसँग थुतुनो जोडीजोडी छुनुमुनु छुनुमुनु गरीगरी निकै खैल्छौँ । उनीहरूले पनि हाम्रा हरेक क्रियाकलापलाई निकै नियालेर हेरिरहेका हुन्छन् ।

बच्चा जब बामे सर्न थाल्छ, हामी ऊ जस्तै बनेर ऊसँग खेल्छौँ । हामीले जुन तरिकाले ओठ, मुख चलाएर आवाज निकालेका हुन्छौँ, उसले पनि त्यस्तै आवाज निकाल्ने प्रयास गर्छ । हाम्रा हरेक क्रियाकलाप उसका निम्ति नौला हुने भएकाले हरक्षण हामीसँग रमाइरहेको हुन्छ । जब ऊ टुकुटुकु हिँड्न थाल्छ, हामी अत्यन्त खुसी हुन्छौं । हामी पनि ऊसँग रमाईरमाई खैल्छौँ ।

उमेर र सिकाइको चरण

३ वर्षको उमेरपछि उनीहरूलाई हिँडडुल मात्र गरेर पुग्दैन । आफू र वरिपरिको परिवेशलाई नियाल्न थालिसकेका हुन्छन् । त्यतिबेला पनि हामी बालबालिकासँग मज्जैले खेल्छौँ र रमाउँछौँ ।

उसले सोधेका हरेक कुराको जवाफ दिने गर्छौं । उनीहरूका किन ? र कसरी ? को जवाफ दिने प्रयत्न गर्छौं । जब किन र कसरी ? को मात्रा बढ्दै जान्छ, हामी उनीहरूलाई एकै पटकमा चुप लगाउने प्रयत्न गर्छौं । प्रश्न सोध्ने उनीहरूको मुखमा बुझो लागाउन थाल्छौँ ।

७ देखि १२ वर्षको उमेरमा बालबालिका शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपले परिपूर्ण हुन चाहन्छन् । यी सबै पक्षमा आमाबाबुले उनीहरूलाई सहयोग गर्न सक्दैनन् । शारीरिक विकासका लागि बालबालिकालाई प्रकृतिले नै धेरै चल्ने, छुकछुक गर्ने र दौडिने बनाएको हुन्छ ।

यतिबेला धेरैभन्दा धेरै खेल्न, कुद्न मनपराउँछन् । हामी आमाबाबुहरू सन्तानलाई माया र हेरचाह गर्ने नाउँमा उनीहरूलाई केही गर्न दिँदैनौँ । तपाईं हामी उसलाई नचल, नउफ्र, नखेल भन्न थाल्छौँ । एक किसिमले ‘प्यारालाइज्ड’ बनाइदिन्छौँ । त्यस्तो अवस्थामा हाम्रो मायालु व्यवहार उसको निम्ति शत्रुवत् बन्न पुग्छ ।

सानैदेखि १२ वर्षसम्मको उमेरमा भाषिक विकासका लागि केटाकेटीहरू बेस्सरी बोल्न रुचाउँछन् । उनीहरूले गरेका गरेका क्रियाकलापहरू सुनाउन आतुर हुन्छन् । ठूला मान्छे कुरा गरिरहेका ठाउँमा भाग लिन खोज्छन् । हामी भने ठूलाको कुरामा सानाहरू बोल्नुहुँदैन भन्छांँ । संज्ञानात्मक विकासका लागि उनीहरू धरै प्रश्न गर्न रुचाउँछन्– किन ? कसरी ? कहाँबाट ? अदिआदि ।

हामीलाई भने उनीहरूको प्रश्न सोधाइ अनावश्यक हल्ला लाग्ने गर्छ, त्यसैले हामी उनीहरूलाई हप्काउँछौँ– ‘चुप लागेर बस । ज्ञानी मान्छे धेरै बोल्दैनन् ।’

आफ्नो घर परिवारभन्दा बाहिरका साथी–समुदाय नै सर्वोपरि हो भन्ने कुराले उनीहरूको मनमा जरा गाडिसकेको हुन्छ । बाहिरी बजारमा राम्रै मान्छेहरू मात्र रहन्छन् भन्ने छैन । राम्राको मात्र संगत गरे त बेसै हुन्छ तर नराम्राको संगत गरे भने ...?

त्यसपछि उनीहरू विस्तारै नबोल्ने बन्दै जान्छन् । सामाजिक र भावनात्मक विकासका लागि उनीहरूले धेरै साथीहरूसँग संगत गर्न रुचाउँछन् । साथीहरूको माया–घृणा, साथ र धोकाबाट धेरै सिक्नुपर्ने समय हो भन्ने समान्य हेक्का पनि राख्दैनौँ हामी । समाजमा राम्रा–नराम्रा, असल–खराब व्यक्तिहरूका क्रियाकलापहरू देखेर सिक्छन् । यतिबेला पनि हामी भने आफ्ना बच्चाहरूसँग छुनुमुनु छुनुमुनुकै व्यवहार गर्न खोज्छौँ । उनीहरूलाई अफ्नो मुट्ठीमै बाँधिरहन खोज्छौँ ।

शालिक र सन्तान

सुरुमा बालबालिकालाई चल्नबाट रोक्छौँ । त्यसपछि बोल्न पनि रोक्छौँ । चल्न र बोल्न रोकिएका हाम्रा सन्तान विस्तारै शालिकमा परिरणत हुन्छन् ।

के तपाईंले देख्नुभएको छ ? प्रायः सडकका चोकचोक र पार्कहरूमा मान्छेका प्रतिमूर्तिहरू युगौँदेखि असाध्यै ज्ञानी देखिने गरी एकै ठाउँमा हलचल नगरी उभिएका हुन्छन् । तपाईं हामीले भनेजस्तै नचलेर, नबोलेर ज्ञानी देखिएका ती मानव प्रतिमूर्ति कुनै नयाँ काम गर्न सक्षम भएका छन् त ? ती ज्ञानीहरू अरू कोही नभएर शालिक हुन् । हामीले आफ्ना सन्तानलाई शालिक बनाएर खुब पुरुषार्थ गरेँ भन्ठान्छौँ अनि त्यहीँबाट सुरु हुन्छ असहजता र उकुसमुकुसपन ।

अप्रत्यासित परिवर्तनको सामना

१३ वर्षभन्दा माथिको उमेर अझै जटिल र रहस्यमय उमेर हो । यतिबेला बालबालिकाहरू काल्पनिक दुनियाँमा रमाउने र आलोचनात्मक हुन्छन् । उनीहरूको शरीरमा आएको परिवर्तनसँगै मानसिक रूपमा सन्तुलन कायम गर्न नसक्ने अवस्थाका हुन्छन् ।

आत्मसम्मानको खोजी

यस उमेरमा प्रवेश गरेका बालबालिकाहरूमा आफ्नो अस्तित्वको बोध भइसकेको हुन्छ । त्यसैले उनीहरू हरेक अवस्थामा सम्मानजनक उपस्थिति खोज्छन् । अर्कातर्फ उनीहरूले विभिन्न श्रोतबाट असंख्य सूचनाहरू संकलन गर्न सक्षम भइसकेका हुन्छन् । हामी भने आफूलाई दुनियाँकै विद्वान् सम्झेर उनीहरूलाई अर्ति उपदेश दिनमै व्यस्त हुन्छौँ । उनीहरूका अगाडि फुर्ती लगाउँछौँ ।

हामी त उनीहरूभन्दा केवल दुई–चार वर्षअघि यस धर्तीमा आएका हौँ भन्ने कुरा भुल्छौँ । कसैले सम्झाए पनि यो सत्यलाई हामी मान्न तयार हुँदैनौँ ।

यतिले नपुगेर हामीले आफ्ना छोराछोरीहरूलाई हरेक दिन वाक्क लाग्ने गरी सोध्ने प्रश्न हो, ‘तिमीले गृहकार्य गर्‍यौ ?’ उनीहरूलाई जहाँ भेटे पनि भन्ने एउटै मन्त्र हो, ‘गृहकार्य गर । पढ पढ पढ !’  उनीहरू जतिखेर नजिक आउँछन्, त्यतिखेर त्यही मन्त्र जपेर उनीहरूमा वितृष्णा पैदा हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसो गरेर उनीहरूलाई टाढाटाढा भगाउँछौँ । यतिन्जेलसम्ममा उनीहरूले घरभित्र भन्दा बाहिर ठूलो संजाल निर्माण गरिसकेका हुन्छन् ।

आफ्नो घर परिवारभन्दा बाहिरका साथी–समुदाय नै सर्वोपरि हो भन्ने कुराले उनीहरूको मनमा जरा गाडिसकेको हुन्छ । बाहिरी बजारमा राम्रै मान्छेहरू मात्र रहन्छन् भन्ने छैन । राम्राको मात्र संगत गरे त बेसै हुन्छ तर नराम्राको संगत गरे भने ...?

बाबुआमाको कचकच र बालविद्रोह

त्यसपछि बालबालिकाले बाबुआमाले केही कुरा गर्नै नहुने, झर्किने, रिसाउने आदि लक्षणहरू देखाउन थाल्छन् । उता, बाबुआमाका मनमा भने आफूले खाइनखाई दुःख गरी हुर्काएका छोराछोरीहरूले झर्कीफर्की गर्दा बाबुआमाहरूलाई रिस उठ्छ र चित्त पनि दुख्ने गर्छ ।

यसरी सानोमा परी र देवदूतझैँ लाग्ने सन्तान बाबुआमाका लागि विस्तारै बदमास लाग्न थाल्छन् । राक्षस जस्तै लाग्न थाल्छन् । उता, छोराछोरीहरूका लागि पनि सलमान र दीपिका जस्तै लाग्ने बाबुआमा रुखा, बूढो र ‘आउटडेटेड’ लाग्न थाल्छन् ।

आउनुहोस् अब केही गरौँ

क) छोराछोरीहरूसँगै खेलौँ, सँगै रमाऔँ ।
ख) उनीहरूको मतको कदर गरौँ ।
ग) सन्तानको उमेर सँगसँगै आउने परिवर्तनलाई स्वीकार गरौँ ।
घ) शालिक जस्तै हलचल नगरी बस्नु ज्ञानी हुनु होइन तसर्थ उनीहरूलाई मनग्य बोल्ने र चल्ने अवसर दिऔँ । हरबखत रचनात्मक क्रियाकलापमा व्यस्त गराऔँ । उनीहरूलाई अरू कोही जस्तो होइन, उनीहरू जस्तै बन्ने वातावरण दिऔँ ।
ङ) छोराछोरीहरूको दिमागलाई सूचनाको भकारी होइन, नयाँ कुरा सोच्ने र रच्ने मुहान बनाउन प्रेरित गरौँ ।
च) समयको परिवर्तनसँगै ज्ञान र चेतनास्तर पनि परिवर्तित हुन्छ भन्ने कुरालाई स्वीकारौँ । आफूलाई सोहीअनुरूप तयार पारौँ । हरेक दिन नयाँ कुरा सिक्ने गरौँ ।
ङ) उड्ने चरीलाई हिँडेर भेट्न सकिन्नँ भन्ने कुराको हेक्का राखौँ ।