सवारी दुर्घटनामा परी ३ को मृत्यु

सवारी दुर्घटनामा परी ३ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७६

काठमाडौं । काठमाडौं, पाँचथर र रुपन्देहीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । 
काठमाडौं, नागार्जुन नगरपालिका–६ स्वयम्भु हाईट गुम्बास्थित सडकमा बा.६५ प ६०१३ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका–२ घर भई हाल बुढानिलकण्ठ बस्ने ३० वर्षीय प्रदिप गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । 

पाँचथर, कुम्मायक गाउँपालिका–३ जयराम घाटस्थित सडकमा आइतबार दिउँसो लु.३ त ४९६२ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय आश बहादुर लिम्बु ट्याक्टरबाट खस्न गई मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देही, तिलोत्तमा नगरपालिका–५ नयाँमिलस्थित सडकमा लु.१ च ३८२६ नम्बरको बलेरो गाडी आइतबार दिउँसो अनियन्त्रित भई लु.१९ प ५३७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिएर दुर्घटना हुँदा बलेरो चालक दाङ राप्ती गाउँपालिका–५ पहरुवा बस्ने २५ वर्षीय आस कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।