मेटावोलिक सिन्ड्रोमको ज्ञानदेखि उपचारसम्म

मेटावोलिक सिन्ड्रोमको ज्ञानदेखि उपचारसम्म

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  फाल्गुन ६, २०७६

खुसीको खानी ज्ञान हो । ज्ञान प्राप्त गर्न अध्ययन गर्नुपर्छ । स्वास्थ्य ज्ञानले मानिसलाई खुसी पार्नुका साथै रोगीहरूको कष्ट कम गराउन पनि मद्दत गर्छ । मेटावोलिक सिन्ड्रोमको विषयमा राम्रो जानकारी प्राप्त गरेपछि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयका उच्च पदाधीकारीहरूले यस रोगसम्बन्धी ज्ञान प्राप्त भएपछि यसलाई नियन्त्रण गर्न देशव्यापी रोग निवारण कार्यक्रम संचालन गर्न सक्छन् । यस रोगलाई नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तनका साथसाथै खानपिनमा परहेज गर्नुपर्छ ।

प्रत्येक नेपालीको घरदैलोमा यो रोग नियन्त्रण गर्न आवश्यक स्वास्थ्य शिक्षा पुग्नुपर्छ । सबै नेपालीमा मेटावोलिक सिन्ड्रोमको ज्ञान र आवश्यक जीवनशैलीमा परिवर्तनको सोच आयो भने मात्र पनि यस रोगबाट धेरै हदसम्म छुटकारा दिलाउन सकिन्छ ।

मेटावोलिक सिन्ड्रोम के हो ?

उच्च रक्तचाप, चिनी रोग, ठूलो भुँडी, ज्यादा ट्राइग्लिसेराइड र कम एचडीएल कोलेष्ट्रोलमध्ये कुनै तीन कुरा पाइएमा मेटावोलिक सिन्ड्रोम भएको मानिन्छ । मेटावोलिक सिन्ड्रोममा प्याँक्रियाजबाट उत्पन्न इन्सुलिसन ज्यादा हुने भए तापनि क्रियाशील हुँदैन । फल स्वरूप ग्लुकोज र फ्याटी एसिडलाई कोषहरूले प्रयोग गर्न सक्दैनन् ।

ग्लुकोजलाई कोषहरूले प्रयोग गर्न नसक्दा रगतमा ग्लुकोज ज्यादा हुन्छ । मेटावोलिक सिन्ड्रोममा मधुमेह हुनुको कारण इन्सुलिन क्रियाशील नभएर नै हो ।

भुँडीका बोसोका कोषहरूलाई एडिपोसाइट भनिन्छ । यी कोषहरूबाट एडिपोकाइन्स पैदा हुन्छ । एडिपोकाइन्स, ज्यादा ट्राइग्लिसेराइड, कम एचडीएल कोलेष्ट्रोल र उच्च रक्तचापले रगतका नलीहरू खास गरेर मुटु र मस्तिष्कमा रक्त संचार गराउने रगतका नलीहरूको भित्री पत्र अर्थात् इण्डोथेलियमलाई नराम्रो प्रभाव पार्छन् ।

इण्डोथेलियमका कोषहरूले रगतका नलीहरूलाई स्वस्थ्य बनाई राख्न नाइट्रिक अक्साइड नामक पदार्थ पैदा गर्छन् । स्वस्थ इण्डोथेलियमले रगतका नलीभित्र रगत जम्न पनि दिँदैैन । धुम्रपानले पनि इण्डोथेलियमलाई नराम्रो प्रभाव पार्छ । यसरी मेटावोलिक सिन्ड्रोम भएका व्यक्तिहरूका मुटु र मस्तिष्कमा रक्त संचार गर्ने रगतका नलीहरूमा नराम्रो प्रभाव पारेर साँघुरिनुका साथै रगत पनि जम्न सक्छ ।

यसरी रगतका नलीहरू रोगग्रस्त हुने अवस्थालाई ‘एथेरोस्क्लेरोसिस’ भनिन्छ । मेटावोलिक सिन्ड्रोममा हृदयघात र पक्षघात हुने कारण रगतका नलीहरूमा प्रभाव परेर नै हो ।

हाम्रो रगतमा ‘प्लाज्मिनोजन’ नामक प्रोटिन हुन्छ । यो प्रोटिनलाई ‘प्लाज्मिनोजन एक्टिभेटर’ले क्रियाशील बनाएर प्लाज्मिनमा परिणत गराउँछ । प्लाज्मिनमा जमेको रगतलाई नष्ट गर्ने अथवा पगाल्ने गुण हुन्छ । प्रकृतिले रगतका नलीहरूभित्र रगत जम्न नदिन र जम्न आँटेकोे रगतलाई नष्ट पार्ने यस्तो व्यवस्था गरेको हुन्छ ।

‘प्लाज्मिनोजन’लाई क्रियाशील बनाउने ‘प्लाज्मिनोजन एक्टिभेटर’लाई निष्क्रिय तुल्याउने ‘प्लाज्मिनोजन एक्टिभेटर इन्हिविटर’ नामक पदार्थ मेटावोलिक सिन्ड्रममा पैदा हुन्छ । यसले रगतका नलीहरूभित्र रगत जम्ने प्रक्रियालाई मद्दत गर्छ ।

मेटावोलिक सिन्ड्रोम भएका व्यक्तिहरूमा रगतका नलीहरूलाई नराम्रो प्रभाव पार्ने सिरिएक्टिभ प्रोटिन, इन्टरलुकिन– ६ आदि पदार्थहरू ज्यादा मात्रामा पाइएका छन् । मेटावोलिक सिन्ड्रोम हुनेहरूको मुटुमा रक्त संचार गर्ने रगतका नलीहरूमा असर परेर हृदयघात जस्तो घातक रोग हुने भएकाले समयमा नै सतर्क हुनु बुद्धिमानी हुन्छ ।

अनुसन्धनात्मक प्रस्तुतिहरूमा मेटावोलिक सिन्ड्रोम भएकाहरूलाई हृदयघात गराउने  करोनरी आर्टरी रोग करिव दुई गुणा (१.५३–२. १८) र चिनी रोग करिव पाँच गुणा (३.५३– ५.१९) ज्यादा हुने संभावना देखाइएको छ । चिनी रोग हुनेहरूलाई हृदयघात, पक्षघात र मिर्गौला रोग हुने संभावना हुन्छ ।

चिनी रोगमा छाला, स्नायु र आँखालाई पनि प्रभाव पर्छ । जीवाणु र विषाणुद्वारा संक्रमण हुने संभावना ज्यादा हुन्छ । रगतमा ग्लुकोजको मात्रा धेरै कम र धेरै ज्यादा भएर ज्यानलाई खतरा हुन सक्छ । चिनी रोग मेटावोलिक सिन्ड्रोम हुनेहरूमा ज्यादा हुने भएकाले समयमा नै मेटावोलिक सिन्ड्रोम हुन नदिने उपायहरू अपनाउनु बुद्धिमानी हुन्छ ।

मेटावोलिक सिन्ड्रोम कसरी थाहा हुन्छ ?

मेटावोलिक सिन्ड्रोम पत्ता लगाउन धेरै किसिमका क्राइटेरियाहरू उपलब्ध छन् । यी क्राइटेरियामध्ये सबैभन्दा ज्यादा प्रचलनमा आएको ‘नेसनल कोलेष्ट्रोल एजुकेसन प्रोग्राम एडल्ट प्यानल’ हो । यो क्राइटेरियालाई अमेरिकामा सन् २००१ मा सुरु गरिएको थियो । यसमा निम्न क्राइटेरिया समावेश गरिएका छन्–

१. भुँडीको नाप– पुरुषमा १०२ सेन्टिमिटर अथवा योभन्दा ज्यादा र महिलामा ८८ सेन्टिमिटर अथवा योभन्दा ज्यादा ।
२. खाली पेटको ब्लड सुगर– १०० मिलीग्राम अथवा योभन्दा ज्यादा अथवा चिनी रोग भएर औषधि प्रयोग गरिरहेको ।
३. ब्लड प्रेसर १३०÷८० अथवा योभन्दा ज्यादा अथवा उच्च रक्तचाप भएर औषधि प्रयोग गरिरहेको ।
४. ट्राइग्लिसेराइड १५० मिलीग्राम अथवा योभन्दा ज्यादा ।
५. एचडीएल कोलेष्ट्रोल– पुरुषमा ४० मिलीग्रामभन्दा कम, महिलामा ५० मिलीग्रामभन्दा कम ।
भुँडीको नापलाई इन्टरनेसनल डायवेटिज  फेडेरेसनले देशवासीअनुसार तोकेको छ । दक्षिण एसियालीहरू, चिनियाँ र जापानीहरूको भुँडीको नाप पुरुषमा ९० र महिलामा ८० सेन्टिमिटर अथवा सोभन्दा कम हुनुपर्छ ।

युरोपेलीहरूको भुँडीको नाप पुरुषमा ९४ र महिलामा ८० सेन्टिमिटर अथवा योभन्दा ज्यादालाई हुनुपर्नेभन्दा बढी मानिएको छ । भुँडीको नाप पुरुषमा ९०, महिलामा ८० सेन्टिमिटर अथवा योभन्दा ज्यादालाई नेपालमा पनि हुनुपर्नेभन्दा ज्यादा मान्नुपर्छ ।

माथि उल्लेख गरिएका पाँचवटा क्राइटेरियामध्ये कुनै तीन क्राइटेरिया भएमा मेटावोलिक सिन्ड्रोम भएको मान्नुपर्छ । यसरी मेटावोलिक सिन्ड्रोम पत्ता लगाउन सकिन्छ ।

नेपालका ठाउँठाउँका जनसेवा संस्थाहरूले पनि मेटावोलिक सिन्ड्रोम निवारण अभियानलाएई मद्दत गर्न सक्छन् । यस रोगसम्बन्धी ज्ञान र यसमा अपनाउनुपर्ने उपायहरूको प्रचार प्रसार मात्रले पनि यो रोगलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

मेटावलिक सिन्ड्रोम भएमा के गर्नुपर्छ ?

मेटावोलिक सिन्ड्रोम भएको थाहा पाउन पाँचवटा क्राइटेरिया थाहा पाउनुपर्छ । यिनै क्राइटेरियाहरूलाई नियन्त्रण गर्नुपर्छ । नाभी वरिपरिको छालाभित्र जम्मा भएको बोसोले भुँडीको नाप ज्यादा गराइदिन्छ । मेटावोलिक सिन्ड्रोम भएका व्यक्तिहरूको तौल पनि ज्यादा हुन्छ ।

सामान्यतया बडी मास इण्डेक्स (बीएमआई) १८.५ देखि २३ सम्म हुन्छ । २३ भन्दा ज्यादा बीएमआई भयो भने ज्यादा तौल भएको मान्नुपर्छ । किलोग्राममा लिएको तौललाई मिटरमा नापेको उचाइको वर्गले भाग गर्दा बीएमआई पत्ता लाग्छ ।

तौल घटाउँदा भुँडी पनि घट्छ । तौल घटाउन सबै प्रकारका खाना, खास गरेर कार्बोहाइड्रेड भएको खाना कम खानुपर्छ । दिनभरमा ५०० किलो क्यालोरी भएको खाना कम गराउँदा ७ दिनमा ३५ सय किलो क्यालोरी कम हुन्छ । ३५ सय किलो क्यालोरी बराबर एक पाउण्ड हुन्छ । यसरी दिनमा ५०० किलो क्यालोरी कम गराउँदा एक हप्तामा एक पाउण्ड तौल घट्छ ।

फाइबरयुक्त खानाले तौल कम गराउनुका साथै नराम्रो कोलेष्ट्रोललाई पनि घटाउँछ । फलफूल, सागसब्जी, बोसो निकालेको कुखुराको मासु, माछा, चना, भटमास र कम चिल्लो पदार्थ मेटावलिक सिन्ड्रोममा लाभदायक मानिन्छन् । भुटेकोे र तारेको खानामा ट्रान्सफ्याटी हुन्छ र यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

नियमित व्यायाम गर्दा क्यालोरी खर्च भएर तौल कम हुन्छ । चाँडो–चाँडो दिनमा आधा घण्टा हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो । ट्रेडमिलमा हिँड्नु र साइकल चलाउनु पनि राम्रो व्यायाम हो । नियमित व्यायामले तौल घटाउनुका साथै शरीरलाई फुर्तिलो बनाउँछ ।

खानामा परहेज र नियमित व्यायाम गर्दा चिनी रोग र उच्च रक्तचाप पनि नियन्त्रण हुन्छ । ट्राइग्लिसेराइड र नराम्रो कोलेष्ट्रोल (एलडीएल–सी) घट्छ तर राम्रो कोलेस्ट्रोल (एचडीएल) भने बढ्छ । चिनी रोग र उच्च रक्तचाप भएका व्यक्तिहरूले आवश्यक मात्रामा औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । बढेको ट्राइग्लिसेराइडलाई घटाउन परहेजका साथसाथै औषधिहरूको पनि आवश्यकता पर्न सक्छ ।

मेटावोलिक सिन्ड्रोम निवारण अभियान

काठमाडौं मेडिकल कलेजमा गरिएको एक अनुसन्धानअनुसार प्रौढ पुरुष तथा महिलाहरूमा १४.४ प्रतिशतलाई मेटावोलिक सिन्ड्रोम पाइएको छ । अमेरिकामा ३४.५ प्रतिशत प्रौढहरूमा मेटावोलिक सिन्ड्रोम भेटिएको छ । उमेर जति बढ्दै गयो, यो रोगले च्याप्ने संभावना त्यति नै ज्यादा हुन्छ । मेटावोलिक सिन्ड्रोमलाई समयमा नै नियन्त्रण गर्नाले हृदयघात, पक्षघात, मधुमेह र मिर्गौला रोगबाट बच्न सकिन्छ । निद्र्रामा सास रोकिने ‘अब्स्ट्रक्टिभ स्लिप एप्निया’ रोग पनि मेटावोलिक सिन्ड्रोम हुनेहरूमा पाइन्छ ।

मेटावोलिक सिन्ड्रोम हुन नदिन यस रोगसम्बन्धी जानकारी र यसले स्वास्थ्यलाई पुर्‍याउने हानिका विषयमा देशव्यापी प्रचार गराउनुपर्छ । नेपाल सरकारको स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीद्वारा जनसमूहलाई यस रोगसम्बन्धी स्वास्थ्य शिक्षा दिन सक्छन् । नेपाल हार्ट फाउण्डेसनका शाखाहरू नेपालका धेरैजसो जिल्लाहरूमा छन् । यी शाखाहरूद्वारा यस रोगसम्बन्धी जानकारी र यसलाई नियन्त्रण गर्न सक्ने उपायहरू जनसमूहमा पुर्‍याउन सकिन्छ ।

नेपालका ठाउँठाउँका जनसेवा संस्थाहरूले पनि मेटावोलिक सिन्ड्रोम निवारण अभियानलाएई मद्दत गर्न सक्छन् । यस रोगसम्बन्धी ज्ञान र यसमा अपनाउनुपर्ने उपायहरूको प्रचार प्रसार मात्रले पनि यो रोगलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

इन्सुलिन रजिस्ट्रेन्सका जन्मदाता गेराल्ड जेरी रेभन

सन् १९८८ मा गेराल्ड जेरी रेभनले बहुचर्चित ब्यान्टिङ लेक्चरमा इन्सुलिन पैदा भए तापनि क्रियाशील नभएर चिनी रोग हुन्छ भनेर भनेका थिए । यस्तो निष्क्रिय इन्सुलिनलाई ‘इन्सुलिन रजिस्ट्रेन्स भनिएको थियो । इन्सुलिन रजिष्टे«न्स हुनेहरूमा उच्च रक्तचाप र ट्राइग्लिसेराइड पनि बढेको अवस्थालाई रेभनले सिन्ड्रोम एक्सको नाम दिएका थिए ।

सन् १९९९ मा विश्व स्वास्थ्य संस्थाले क्राइटेरिया बनाएर मेटावोलिक सिन्ड्रोम डायग्नोसिस गर्न थालिएको इतिहास छ ।