अरूको चियोचर्चो नगरौँ, तनावबाट मुक्त बनौँ
फाल्गुन ७, २०७६

हिजोआज तनावमुक्त मानिस भेटिन गाह्रो छ । कामको तनाव, फलानाले यसो भन्यो भनेर लिइने तनाव, पैसा कमाउने तनाव, करियर बनाउने तनाव । तनाव नै तनाव । 

यसरी हामी तनाव नै तनावले ग्रस्त छौँ । हुँदाहुँदा छोराछोरीले नपढेको विषयलाई लिएर पनि कतिपय अभिभावकहरू तनावमै हुन्छन् । हामीलाई थाहा छ, पृथ्वीमा आएका हामी दुई दिनका पाहुना । तनाव नै नलिएर जीवन निकै नै हाँसीखुसी बिताउनुपर्ने हो तर त्यो गर्न हामीले सकिरहेका हुदैनौँ । 

तनावमुक्त जीवन बाँच्ने रहर हामी सबैको हुन्छ । मानिसले जीवनमा खुसी, प्रशन्नता र आनन्द चाहन्छ तर यी सब कुरा चाहेर पनि हामीले पाइराखेका हुँदैनौँ । 

तनाब के हो त ? कसरी हुन्छ ? डाक्टरी परिभाषाअनुसार शरीरिक र मानसिक रूपमा दिमागलाई पर्ने स्ट्रेस नै तनाव हो । हेर्दा सामान्य लागे पनि तनावकै कारण मानिसको शरीरमा अनेक जटिल रोगहरू उत्पन्न भइरहेका छन् । तनाव लिने मानिस स्वस्थ नरहने र शरीरमा पनि अनेकौँ रोग उत्पन्न हुन सक्ने डाक्टरहरू बताउने गर्छन् । 

तनाव कहाँबाट उत्पन्न हुन्छ अर्थात् हामीलाई तनाव कसरी हुन्छ ? यो कुरा बुझ्न जरुरी छ । डर, असन्तुष्टि र डाहाबाट तनाव उत्पन्न हुन्छ । तनावको प्रमुख कारण भय हो । 

यसैगरी अरूको रिस गर्दा पनि तनाव उत्पन्न हुन्छ । अरूबाट धेरै आशा गर्दा पनि तनाव उत्पन्न हुन्छ । सोचेको जस्तो काम नबन्दा, अरूले नगरिदिँदा पनि तनाव उत्पन्न हुन्छ । अरूसँग तुलना गर्ने र दाँज्ने बानीले पनि तनाव उत्पन्न हुन्छ । 

फलानाले यति रुपैयाँ कमायो, मैले कमाइनँ , फलानोले यति सम्पति जोडयो मैले सकिनँ भन्ने सोच्दा पनि तनाव उत्पन्न हुन्छ । साथी यो बन्यो, म बन्न सकिनँ भनेर हेर्‍यो भने पनि तनाव उत्पन्न हुन्छ । 

यसैगरी आफ्नै शरीर स्वस्थ भएन भने पनि तनाव उत्पन्न हुन्छ । पेट दुख्ने रोग होस् अथवा टाउको दुख्ने रोग होस्, हेर्दा यस्ता समस्या सामान्य लागे पनि यसले गर्दा हामीलाई तनाव उत्पन्न हुन्छ । पेनकिलर खाएर पनि दुखेको कम भएन भने त झनै यति नकारात्मक सोच आउँछ कि लौ न मलाई भित्रभित्र केही भइसक्यो कि भन्ने तनाव हुन्छ । 

त्यसैले यी तीन कुराहरू, आफ्नो शरीर स्वस्थ रहन सक्यो, डर त्रासबाट मुक्त रहन सक्यो र असन्तुष्ट रहने बानी हटाउन सक्यो भने हामी तनावमुक्त हुन सक्छौँ । 

अरूको कामलाई चित्त नबुझाउने मानिसहरू तनावमुक्त हुन सक्दैनन् । हामी अधिकांशको बानी के छ भने अरूको नराम्रो कुरा देखिहाल्ने तर आफ्नो नराम्रो बानी नदेख्ने खालको हुन्छ । आफ्नो जस्तोसुकै नराम्रो बानी भए पनि र आफ्नो बानी व्यवहारले गर्दा अरूले दु:ख पाएको भए पनि यसमा सुधार गर्नुपर्छ भन्ने सद्बुद्धि धेरै कममा मात्र आउँछ । त्यसैले अरूको नराम्रो कुरा धेरै देख्दा पनि आफूलाई तनाव हुने गर्छ । 

अरूका नराम्रा पक्षलाई सुधार गर्न निकै कठिन हुने गर्छ । अरूका नराम्रा पक्षलाई लिएर तनाव झेल्नुभन्दा आफ्नै नराम्रा पक्षलाई केलाउने अनि आफूलाई नै सक्षम बनाउनका लागि समय खर्चिन सक्यो भने त्यो नै राम्रो हुन्छ । 

तनावको मुख्य स्रोत भनेको डर र त्रास पनि हो । जब मानिस गलत बाटोमा हिँड्छ, गलत बाटो अपनाएर कमाएको रुपैयाँ अरूले थाहा पाउँछ कि भन्ने डर मानिसको मनमा हुन्छ । त्यसपछि मानिसमा तनाव उत्पन्न हुन्छ । आफूले केही गल्ती काम गरेको छ भने मानिसमा त्यही गल्तीका कारण डर र भय भइरहन्छ । यसले मनमा अनेकौँ कुराहरू खेल्ने र डर उत्पन्न हुने भई नै रहन्छ । गैरकानुनी काम गर्दा डर उत्पन्न हुन्छ । भ्रष्टाचार गर्दा डर उत्पन्न हुन्छ र यही डरले मानिसलाई तनावग्रस्त गराउँछ । 

तनावबाट मुक्त रहन हाम्रो शरीर स्वस्थ रहन अति नै जरुरी छ । आयुर्वेदिक चिकित्सा पद्धतिका अनुसार, हाम्रो पेट स्वस्थ रहन सक्यो भने मात्र हामी निरोगी हुन सक्छौँ । पेट स्वस्थ रहने मानिस तनावमुक्त हुन सक्छ किनभने पेटभित्रको नाभी अग्निकेन्द्र हो । यहाँबाट मूल ऊर्जा उत्पन्न हुन्छ र यही ऊर्जाले गर्दा हाम्रो पेट स्वस्थ रहन मद्धत गर्छ । 

जसरी सूर्यको तापले हाम्रो शरीरमा ऊर्जा प्राप्त हुन्छ, यसैगरी पेटभित्रको नाभीले पनि हामीलाई ऊर्जा प्राप्त गराउँछ । पेटभित्रको नाभी स्वस्थ राख्नका लागि हामीले आहार विहारमा ध्यान दिनु अत्यन्त जरुरी छ । हामीले खाने खाना स्वस्थ रहन अति नै जरुरी छ । 

विहार भनेको व्यायाम । हाम्रो शरीरलाई व्यायामको पनि उत्तिकै आवश्यकता छ । श्रम र व्यायाम नगर्ने मानिस स्वस्थ रहन सक्दैन । हाम्रो शरीरलाई हामीले काम गरेर थकाउनुपर्छ  । यस्ले गर्दा हाम्रो शरीरमा व्यायामको काम गर्छ । जति धेरै व्यायाम, उति नै हाम्रो शरीर मजबुत हुने गर्छ । 

यसैगरी हाम्रो पेट सफा हुनु त्यत्तिकै जरुरी छ । पेटकै कारण शरीरमा अन्यत्र रोग उब्जिने भएका कारण पेटलाई सफा राख्न आयुर्वेदिकका चिकीत्सकहरू सुझाव दिने गर्छन् । पेटभित्रको नाभी स्वस्थ बनाउन कपालभाती, मन्डुक आसन र अग्निसार प्रणाम गर्नुपर्छ । यसले पनि नाभी स्वस्थ राख्न निकै मद्धत गर्छ । 
 
तनावबाट मुक्त रहन झूटो नबोलौँ, अरूको गल्ती नकेलाअौँ, अरूको चियोचर्चो पनि नगरौँ । आफूलाई अरूसँग कहिल्यै नदाँजौँ । यसो गर्दा तनाव हुँदैन । 

आफूले आफूमाथि नै ध्यान लगाऔँ । ध्यान लगाएर गरेको जुनसुकै काम राम्रो हुन्छ । विद्यार्थीले ध्यान दिएर पढे उत्कृष्ट नम्बर ल्याउँछ, कुनै व्यक्तिले सम्बन्धमा ध्यान दिए उसको सम्बन्ध निकै राम्रो हुन्छ । शरीरमा ध्यान लगायो भने आफ्नो शरीर राम्रो हुन्छ । 

यसरी जुन कुरामा ध्यान लगाउँदा आफूलाई राम्रो हुन्छ, त्यही कुरामा ध्यान लगाउनुपर्छ । अरूको चियोचर्चोमा ध्यान लगाउनुभन्दा आफ्नै चियोचर्चो गरे आफैँलाई राम्रो हुन्छ । यसबाट तनाव पनि हुँदैन ।