महालक्ष्मी नगरपालिकाका ५७ वटै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

महालक्ष्मी नगरपालिकाका ५७ वटै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन ८, २०७६

ललितपुर । नैतिक शिक्षामा बढवा दिन नयाँ शैक्षिक सत्र विस २०७७ बाट महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको  पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू गर्ने जनाइएको छ । 

एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाइएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘यस पुस्तकको नाम नै स्थानीय पाठ्यक्रम रहने साथै नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्य मान्यताका बारेका सम्पूर्ण कुरा समेटेका छौँ ।’ नगरपालिकामा  ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ वटै विद्यालय रहेका छन् । ती विद्यालयमा एकै साथ सो पाठ्यक्रम लागू गरिने तयारी भइसकेको नगरपालिकाले जनाएको छ ।

विद्यालयका शिक्षक, समाजसेवी, जनप्रतिनिधि बीचमा छलफल, सहमति र रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई तिक्ष्ण बनाउन अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिँदै आएको छ ।