गीत र गुरु

गीत र गुरु

रूपक अलङ्कार  |  साहित्य  |  फाल्गुन १०, २०७६

पाठशालामा गीत गाउन सख्त मनाही थियो । नाच्ने कुरो त सोच्न पनि निषेध थियो । भजन, आरतीमा यदाकदा ताली बजाउनसम्म पाइन्थ्यो । त्यस कारण गीत गाउन मन लागे हामी ठूलोठूलो स्वरले आरती भन्थ्यौँ । त्यही हाम्रो गीतको रहर मेटाउने शाश्वत उपाय थियो । 

एक दिन ठूलो पानी परिरहेको थियो । पाठशालाको जस्ताको छानो बजेर वातावरण कोलाहलमय थियो । यस्तो बेलामा गीत गाए कसैले सुन्दैनन् भन्ने लाग्यो । राजु र मैले आज गीत गाउनुपर्छ भन्ने निश्चय गर्‍यौँ तर कहाँ बसेर गाउने ?

पाठाशाला ठूलो थियो तर कोठा थिएनन् । विशाल हल थियो । हलको बीचमा दुई–तीनओटा खाट जोडेर राखिएका थिए । खाटमाथि सिरक, डसना र कम्बलहरूको चाङ थियो । राती तिनै डसना ओच्छ्याएर सुत्ने अनि बिहान फेरि खाटमै चाङ लगाएर राख्ने गरिन्थ्यो । सबैभन्दा सुरक्षित ठाउँ त्यही खाटमुनि हो भनेर हामी दुई जना खाटमुनि भुइँमा उत्तानो परेर सुत्यौँ र गीत गाउन थाल्यौँ । 

अचानक कसैले मेरा खुट्टा समातेर खाटमुनिबाट बाहिर घिसार्‍यो । मेरो धोती सर्केर घुँडामाथि पुग्यो र कमिज सर्केर छातीमाथि पुग्यो । यद्यपि, लगौँटी लगाएरै यताउति गरिन्थ्यो । तिघ्रा देखिनु लाज र अचम्मको कुरो भएन । राजुलाई मलाईभन्दा पहिले नै घिसारिसकेका रहेछन् ।

पानी कुन बेला रह्यो थाहा भएन । जानेजति गीत गाउँदा हामीलाई समयको ज्ञान पनि भएन । पाठशालामा पसेका दिनदेखि रेडियो सुन्न र टीभी हेर्न पाइएको थिएन तर पनि पहिले जानेकै गीतमा हामी रमायौँ । 

अचानक कसैले मेरा खुट्टा समातेर खाटमुनिबाट बाहिर घिसार्‍यो । मेरो धोती सर्केर घुँडामाथि पुग्यो र कमिज सर्केर छातीमाथि पुग्यो । यद्यपि, लगौँटी लगाएरै यताउति गरिन्थ्यो । तिघ्रा देखिनु लाज र अचम्मको कुरो भएन । राजुलाई मलाईभन्दा पहिले नै घिसारिसकेका रहेछन् । ऊ खाटमुनिबाट बाहिर आइसक्दा पनि गीत सुनिई नै रहेकाले गीत भन्ने कुकर्मको नाइके म नै हो भन्ने कुरो प्रस्ट भइसकेको रहेछ । 

‘हरामी पढ्न छाडेर गीत गाउने ?’, गुरुले मेरा दुईवटा गालामा दुई–दुई थप्पड बजाए । लगत्तै राजुको एउटा गालामा दुई र अर्को गालामा तीन गरी पाँच थप्पड बजाए । ऊ थुचुक्क भुइँमा बस्यो अनि द्रुतविलम्बित लयमा रुन लाग्यो । 

‘अझ रुन्छस् ?’, फेरि एक मुड्की ढाडमा थपेपछि उसले आफ्नो रुवाइमा पूर्णविराम लगायो । 

‘एउटा सूत्र घोक्न चार दिन लगाउँछ, उही गीत भन्ने ?’, गुरुले मुड्की ताके तर हानेनन् । 

‘तँ गोरु नि ? गीत गाउनेले त जानू नि ! बाख्राको पुच्छर निमोठ्दै वनतिर यहाँ आउने हो ?’, गुरु मतिर सोझिए । 

मेरो एक मुठीको टुपीमा समाएर घुमाए । म लर्खराउँदै खाटमा ढेसिएँ तर लड्नचाहिँ लडिनँ । 

दिउँसोको दुर्घटनाले म निकै घाइते भएँ । पढ्ने कुरा त त्यस्तै भइहल्यो । बेलुकाको पूजा–आरती र भोजनपश्चात् सारा पाठशाला पाठ घोक्न व्यस्त भयो । मेरो मन पढ्नमा लाग्ने कुरै भएन । 

कलम र कापी निकालेर लेखेँ, ‘मलाई यो संसारदेखि दिक्क लाग्यो । यहाँ सानो गल्तीमा पनि राम धुलाइ गर्छन् । भजन गाउन हुने, गीतचाहिँ भन्न नहुने रे ! यस्तो सहनुभन्दा त मर्नु निको । मलाई श्रीकृष्ण गुरुले अग्घोरै पिटे त्यस कारण म यही पाठशालाभित्र आत्महत्या गर्छु ।’ 

कापीको पाना च्यातेर खल्तीमा राखेँ अनि कमिज फुकालेर सिरानीमा फालेर सुतेँ । 

भोलिपल्ट ब्युँझिँदा मेरो रिस मरिसकेको थियो । कमिज छामेँ, कापीको पानो निकालेर च्यातचुत पारेँ अनि पाठशाला पछाडिको झाडीमा फालिदिएँ । 

पाठशालाका साथीहरू मसित डराएजस्ता, तर्सिएजस्ता देखिए । मसित बोल्नसमेत अप्ठ्यारो मान्न थाले । सबै साथीहरू आजै भेटिएजस्ता लाग्न थाले । अरू त अरू हिजो सँगै पिटाइ खाने राजुसमेत मसित चिनजानै नभएको जस्तो गर्न थाल्यो । भान्छेले पनि हिजो अस्तिको भन्दा गिलास भरेर चिया दियो । म हिजोभन्दा आज सामन्य थिएँ तर साथीहरू असामान्य भए । मलाई अचम्म लाग्यो । 

खाना खाएपछि राजुले मलाई खबर गर्‍यो, ‘तँलाई गुरुले बोलाउनुभा’छ ।’ म गएँ । गुरु श्रीकृष्ण उपाध्याय आफ्नो आसनमा गम्भीर मुद्रामा विराजमान थिए । गुरुको दायाँपट्टि पाठशालाका हरहिसाब हेर्ने गोपाल बा अनि बायाँतिर भान्छे सूर्य तिवारी थिए, अगाडि सारा शिष्यगण थिए । 

म उभिएको एक मिनेटपछि गुरुले आदेश दिए, ‘हिजो बेलुका लेखेको  कापीको चिर्कटो देखा ।’

मैले थाहै नपाएजस्तो गरेर भनेँ, ‘कुन चिर्कटो ?’ 

‘अझ साधु बन्छस् मूला ? तैँले हिजो बेलुका म अब मर्छु भनेर लेखेको कापीको पानो खै ?’

मलाई अचम्म लाग्यो, मैले लेखेको कुरा यिनले कसरी थाहा पाए ? कसले भन्यो ? त्यति जाबो कुराले यत्रो आतंक सिर्जना गर्ला भन्ने मैले त सोचेको पनि थिइनँ । 

‘तैँले त्यो पानामा श्रीकिस्नेले मलाई कुट्यो, अब म मर्छु भनेर लेख्याछस् रे ! हरामी तँ, आफू मरेर मलाई फसाउन खोज्या ?, गुरुले मलाई उल्कासित झपारे । अब पो मलाई डर लाग्न थाल्यो । 

‘हेर भाइ, तँ अब बहुलाउन लागिस् । यसरी हुँदैन । या त त्यो पानो हामीलाई दे या पुलिस बोलाएर तँलाई उसैको जिम्मा लगाएर पठाइदिन्छौँ । टन्टै खतम् ! यस्तो अर्धपागलले त हामीलाई पनि फसाउँछ’, गोपाल बाले थपे । 

‘ल भन् के गर्छस् ?’, गुरु कड्किए ।

‘ए, त्यो पानो त मैले बिहानै च्यातेर पछाडि झाडीमा फालिदिसकेँ’, मैले भएका कुरा भनेँ । 

‘ओई, हेर् जा । एकएक टुक्रा लेरा’ टिपेर’, गुरुले राजुलाई नै अह्राए । राजु तुफानसित गयो । 

कुरा के भएको रहेछ भने बेलुका म कापीमा मर्ने कुरा लेखेर सुतेँ । राजु र म एउटै ओच्छ्यानमा सुत्ने साथी भएकाले ऊ सँगै थियो । मैले उसको वास्ता गरेकै थिइनँ । ऊ आफ्नो पाठ घोक्नमै व्यस्त थियो । म सुतेपछि उसले मेरो गोजीबाट पानो निकालेर पढेछ  अनि आँत्तिदै गुरुलाई पानो देखाएछ ।

‘केको मथ्र्यो त्यो, मर्ने मान्छे यति चाँडै निदाउँछ ? जहाँबाट निकालेको त्यहीँ राखिदे, भोलि विचार गरौँला’, भनेछन् । 

राजुले क्षतविक्षत कागजको पानो बटुलेर ल्यायो र गुरुका सामु फिँजायो । बल्लबल्ल जोडेर पानो बनाइयो । गुरुले मलाई नै त्यो पानो पढ्न लागाए । आफैँलाई गाड्ने खाल्टो आफैँले खनेजस्तो भयो । 

‘वा ! क्या कविता ! त्यतिकै मर्छु भनेर धाक लाउने ? तँलाई थाहा छ, मर्न कति गाह्रो हुन्छ ? ल मरेर देखा ?’, गुरुले मलाई मरेर देखाउन धम्की दिए । 

अन्तिममा गुरुले भने, ‘हेर केटा हो, यो रूपके पूरै खुस्केछ । अब खुस्केको मान्छेलाई यहाँ राखिराख्नुहुन्न । छिट्टै यसको बाउ बोलाएर घरै पठाइदिनुपर्छ ।’

गुरुले राजुलाई ‘कागजका सबै टुक्रा बाल्नू’ भनेर आज्ञा दिए अनि सभा विसर्जन गरे । सबै विद्यार्थीहरू पढ्नतिर लागे । 

मलाई लाग्यो पक्कै पनि मैले लेखेका कुराले श्रीकृष्ण गुरुको सातो उड्यो । नत्र किन कागजका टुक्रा बाल्न लगाउँथे ? मर्ने कुराले त यस्तो हुँदोरहेछ, साँच्चै मरे कस्तो होला ! मलाई एक पटक साँच्चै मर्ने रहर जागेर आयो । 

ख्यालख्यालमै पाठशालाभित्र म एउटा खतरनाक  व्यक्ति साबित भइसकेको थिएँ– आत्महत्याको धमास दिने व्यक्ति । त्यस कारण दिनभर मलाई पढ्न लगाउने कोही भएन । एक किसिमले म पाठशालाको अनुशासनको दायराबाट मुक्त भइसकेको थिएँ ।  

बेलुका पढाइ सकिएपछि मेरा मिल्ने १० जनाजति साथीलाई बोलाएँ अनि एउटा भावुक मन्तव्य दिएँ, ‘हेर साथी हो, अब म यो पाठशाला निकट भविष्यमै छाड्छु । यहाँको चालचलन मलाई मनपरेन । मेरो चालचलन यहाँलाई मनपरेन तर तिमीहरू मलाई मनपरेका साथीहरू हौ । बाउ बोलाएर मलाई घर पठाउने गुरुको कुरा त तिमीहरूले सुनिहाल्यौ । यति हुँदाहुँदै पनि बसिरहनु राम्रो होइन । जाबो धादिङ जान म आफैँ पनि सक्छु, किन बाउ बोलाउनुपर्‍यो ? अब घर गएर सके पढ्छु नसके खलासी बन्छु, विस्तारै ड्राइभर कसो नभइएला ? म ड्राइभर भएपछि तिमरलाई भाडाचाहिँ फिरी ल ! तर, जानुअघि सम्झनाका लागि तिमरलाई केही कुरा दिन चाहन्छु, लिन्नँ भन्न पाउन्नौ ।’ 

मेरा कुराले साथीहरू तीन छक परे । मैले आफ्ना कलम, नङकट, किताब, सर्ट, रूपाको बनियान, गम्छा, साबुन राख्ने भाँडो, आधा भइसकेको पेप्सोडेन्टलगायतका सामग्री साथीहरूलाई बाँडेँ । साथीहरूले पनि विनाविरोध त्यसलाई स्वीकारे । 

बेलुका खाना खाएपछि निकै साथीहरू मेरा छेउछाउ आएर बसे । कोही पनि जिस्केनन् । कसैले पनि बढी कुरा गरेन । सबै म पाठशाला छाडेर जाने कुराले दुखी छन् जस्तो लाग्यो । मैले सबैलाई भोलि नै घर जाने कुरो बताएको थिएँ । तर, मेरो योजना भने आज राती नै मर्ने थियो । केहीबेर सँगै बसेर साथीहरू आफ्नाआफ्ना ओच्छ्यानतिर लागे ।

चिठीका कारण राजु बिहानदेखि नै मबाट टाढा भएको थियो, मैले केही नभने तापनि । यत्रा दिन सँगै सुतेको साथी आज अन्तिम दिन टाढा हुँदा मलाई नरमाइलो लागिरहेको थियो । ऊ ओच्छ्यानसमेत छाडेर अन्तै गयो । म मेरो विस्तरामा एक्लै भएँ । 

अलिअलि गरेर पाठशालाका मान्छे सुत्ने तरखरमा लागे । म पनि विस्तरामा पल्टिएँ । सुत्ने मेरो उद्देश्य थिएन । म त मर्नका लागि उपयुक्त अवसरको पर्खाइमा थिएँ । मर्नका लागि समय र ठाउँ भेट्टाउन गाह्रो भइरहेको थियो । 

सुतेजस्तो गरे पनि म निदाएको थिइनँ । उपयुक्त दाउको पर्खाइमा थिएँ । मनमा एउटा उपायको सूर्योदय भयो । पाठशालाको मूल भवनबाट बाहिर निस्केपछि बायाँतिर मैदान थियो । मैदानको छेउमा एउटा पुरानो घर थियो । घरको पछाडि सिसौको रूख थियो । त्यसको तेर्साे हाँगामा झुन्डिएर मर्नु ठीक हुन्छ जस्तो लाग्यो । 

त्यो घरमा बस्ने कुनै विधवा त्यही हाँगामा झुन्डिएर मरेकी थिई रे पहिले । त्यही भएर साँझ–बिहान त्यतातिर जान मान्छे डराउँथे । 

साढे ११ बजेतिर म पाठशालाको ढोकाबाट बाहिरिएँ । बाहिर निकै जाडो थियो । मर्न निस्केकालाई जाडाको के डर ? इनारमा गएँ । पानी तान्ने बाल्टीको डोरी फुकाएर सिसौको फेदमा पुगेँ । सिसौको फेदमा कोही झुन्डिरहेझैँ लाग्यो । यो त्यही बुढीको भूत हुनुपर्छ तर आफैँ भूत बन्न जान लागेको मलाई भूतको के डर ? नजिकै नियालेर हेर्दा थाहा भयो, कसैको पुरानो धोती टाँगिएको रहेछ ।  

फेदमा पुग्दा मर्ने उत्साहमा झनझन् वृद्धि भएर आयो । यतिबेरसम्म कसैले थाहा नपाएकामा र सबैलाई छक्याउन सकेकामा म औधी खुसी पनि भएँ । फेदमा पुगेर दायाँबायाँ हेरेँ । रातको एकोहोरो चकमन्नताभन्दा केही थिएन । एकाध कुकुरहरू भुकेर रातको नीरवतालाई चिरिरहेका थिए । 

डोरीको एक छेउ कम्मरमा बाँधेर म सिसौको रूखमा चढेँ । धेरै वर्ष पहिले विधवा झुन्डेर मरेको हाँगामा पुगेँ । कस्तो अचम्म ! मान्छे मर्नका लागि पनि चर्चित र अभ्यस्त ठाउँ खोज्दोरहेछ । 

कम्मरको डोरी फुकालेर हाँगामा बाँध्न थालेँ । त्यति नै बेला मेरो जीउमा कमिला सल्किए । मेरा दुवै खुट्टालाई भर्‍याङ बनाएर असंख्य कमिलाहरूले मेरा अंगअंग छानेर चिल्न थाले । म असह्य पीडाले रन्थनिन थालेँ ।

‘हे भगवान् ! मर्ने बेलामा कस्तो आपत आइलाग्यो यो ! मर्न पनि सुखसित नपाइने कस्तो अन्याय हो यो ?’

जीउको कमिला झार्न खोज्दा डोरी भुइँमा खस्यो ।

मेरो शरीरमा कमिलाको बाढी पसिसकेको थियो । कमिलाको आक्रमणबाट पिण्ड नछुटुन्जेल मर्न सकिन्न भन्ने निश्चित भएपछि म हाँगामा झुन्डेर हामफालेँ । सिसौका झिक्राले तिघ्रामा, भुँडीमा र गालामा दरफर्‍यायो ।

भुइँमा हामफाल्दा तीखो ढुंगामा परेकाले खुट्टा अलिकति काट्यो पनि । म मर्ने कार्यमा एकबाजी पूर्णतः असफल भएँ । मर्ने रहर सेलाउन पो थाल्यो ! जाबो कमिलाले ज्यानमा चिल्दा त यति पीडा हुन्छ भने मर्दा कस्तो होला ? अहँ, म मर्न सक्दिनँ । 

यस्तो विचार पो मनमा आयो । अहो ! म मरेको भए, यो सारा संसार, यी पाठशालाका यी साथीहरू, गाउँका मेरा बाआमा, हजुरबा, हजुरआमा कति रुँदा हुन् ? मरेपछि मलाई के थाहा हुन्थ्यो ? मरेपछि के हुन्छ के यहाँ ? कसरी पूरा हुन्थ्यो, सके पढेर ठूलो मान्छे बन्ने नसके ड्राइभर बन्ने मेरो लक्ष्य ? 

‘हेर् भाइ, हरेक काम बेलाअनुसार बुझेर गर्नुपर्छ । जिन्दगी के हो ? मृत्यु के हो ? थाहा पाएर मर्नु पो मर्नु ! मर्ने कुरा लुकामारी खेलेजस्तो हो ? मरेपछि त सक्किगो नि ! दिउँसैदेखि तेरो चर्तिकला हेरिरहेको थिएँ ।

धन्न दैव ! कमिला पठाएर मलाई जोगायौ । यतिखेर पो मलाई मर्ने कुराले डर लाग्यो । 

म डोरी टिपेर पाठशालातर्फ फर्किन लागेँ । मेरा अगाडि सेतो धोती, सेतो बनियान र सेतै ओढ्नेमा लपेटिएको कोही मनुष्यमूर्ति खडा थियो । म आत्तिएँ । मेरो ध्यान विधवाको भूततिर गयो । म असिनपसिन भएँ । 
 
‘ओई हरामी ! के गरिरहेछस् हँ यहाँ ?’, श्रीकृष्ण गुरु पो रहेछन् । भूतको डर हारायो किन भने सामुन्ने महाभूत खडा थियो । 
‘केही होइन, लघुशङ्का गर्न आ’को’, मैले ढाटेँ । 

‘आउँछस् गधा पिसाब फेर्न ? पिसाब फेर्न डोरी चाहिन्छ ?’, चुप लाग्नुको विकल्प थिएन मसँग ।

‘मर्न आथिस् क्यारे ! किन मरिनस् त ?’, गुरु कड्किए ।

‘मर्न गाह्रो हुँदोरहेछ गुरु ! मैले गर्न नसक्ने काम रहेछ’, रुँलारुँला जस्तो गरेर मैले भनेँ ।

‘हेर् भाइ, हरेक काम बेलाअनुसार बुझेर गर्नुपर्छ । जिन्दगी के हो ? मृत्यु के हो ? थाहा पाएर मर्नु पो मर्नु ! मर्ने कुरा लुकामारी खेलेजस्तो हो ? मरेपछि त सक्किगो नि ! दिउँसैदेखि तेरो चर्तिकला हेरिरहेको थिएँ । मलाई थाहा थियो, तँ फेरि कुनै न कुनै उटपट्याङ् गर्छस् भन्ने । त्यही भएर म तेरो पछिपछि आएको थिएँ– मर्न आँटिस् भने बचाउनु त पर्ला भनेर । ल अब जा सुत् । यस्तो काम नगर बुझिस् !’

बुझेँ, म लुरुलुरु पाठशाला फर्किएँ । जुन गुरुलाई चक्मा दिन म मर्न चाहन्थेँ, तिनै गुरु मलाई बचाउन पछिपछि आएका रहेछन् ।

मलाई दुःख लागेर आयो । आफ्नो गल्तीको भयानक पश्चात्ताप भइरहेको थियो । म सिरकले मुख छोपेर सुतेँ र रुन थालेँ ।