सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७६

काठमाडौं । ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । 

ललितपुर, ललितपुर महानगरपालिका–८ बालकुमारी खरिबोटस्थित सडकमा बा.३८ प ८३५७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक काठमाडौं लाजिम्पाट बस्ने ३१ वर्षीय दिवस किशोर भट्टराई र मोटरसाइकलमा सवार ३२ वर्षीया ललिता राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

भक्तपुर, भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित सडकमा बा.३ क ३५८८ नम्बरको ट्रकले आइतबार साँझ ठक्कर दिंदा सोही नगरपालिका–१० कमलबिनायक बस्ने ११ वर्षीय पैदलयात्री तिलक मकाजुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका तिलकको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर हुँदै बिएण्डबि अस्पताल ग्वार्खो ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक  चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–१० भातेढिकुर बस्ने २६  वर्षीय शुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।