पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०  फागुन १६ देखि

पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०  फागुन १६ देखि

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १३, २०७६

काठमाडाैं । नेपाल पोल्ट्री महासङ्घको आयोजनामा पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०  फागुन १६ देखि हुने भएको छ ।

महासङ्घले सोमबार पत्रकार सम्मेलन आयोजना गरी तीन दिनसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी दिएको छ । हरेक दुई–दुई वर्षमा आयोजना गरिने प्रदर्शनी भरतपुरको चितवन एक्सपो सेन्टरमा आयोजना गरिँदैछ ।

महासङ्घको आयोजना, मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स एण्ड इभेण्ट प्रालिको सहकार्यमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, दुग्ध उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगलगायतको सम्पूर्ण पशुपक्षीपालनलगायतका विषयमा जानकारी दिइने जानकारी दिएको छ ।

करिब २०० व्यापारिक कक्ष रहने सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानलगायतको प्रत्यक्ष संलग्नता रहने महासङ्घका महासचिव दिनेशराज मिश्रले जानकारी दिनुभयो । प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, चीन, अमेरिका, टर्की, मलेशिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्गलादेशलगायत देशका पोल्ट्री कम्पनीको सहभागिता रहने महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बताउनु भएको छ ।