नोबेल कोरोना भाइरस, नेपाली मिडिया र ‘तुच्छ बहादुरी’

नोबेल कोरोना भाइरस, नेपाली मिडिया र ‘तुच्छ बहादुरी’

भरत भूसाल  |  दृष्टिकोण  |  फाल्गुन १३, २०७६

अहिले छिमेकी राष्ट्र चीन नयाँ समयको ‘युद्ध’सँग जुधिरहेको छ । हाम्रा पौराणिक कथाहरूमा वर्णित समुद्र मन्थनबाट निस्किएको बिष पिएर भगवान शिवजी नीलकण्ठ भएजस्तै सँधियार चीन कालकूट बिष ‘कोरोना भाइरस’ एक्लै पिउन बाध्य छ । 

आफ्नो देशमा आएर संक्रमणको शिकार भएका वा शंकाको घेरामा परेका विदेशी नागरिकहरूलाई स्वदेश फर्कन नदिई चीनमै राखेर सक्दो उपचारमा जुटिरहेको छ । 

२०७६ फागुन ३ गते नेपाल सरकारले पनि नेपाली नागरिकहरू नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरी नेपाल ल्याउन तयारी अवस्थामा रहेकामध्ये ६ जना नेपालीलाई सामान्य ज्वरो आएका कारण देखाई नेपाल पठाउने अनुमति चीन सरकारले दिएन । 

उनीहरूलाई चीनमा नै राखेर उपचारको प्रबन्ध मिलाइएको बताइएको छ । नेपाली ‘मूलधारे मिडिया’ले दिएको जानकारीअनुसार ती नेपाली बन्धुहरू पनि कोरोना भाइरस मुक्त रहेका छन् । अर्थात् चीन छिमेकीको आम स्वास्थ्य समस्याका मामलामा अत्यन्तै सचेत र संवेदनशील रहेको छ । यो एउटा सहयोगको अनुपम नमुनाका रूपमा लनि सकिन्छ । 

कोरोना भाइरसको औषधि पत्ता लाग्यो भनेर अहिलेसम्म कसैले पनि सन्देश दिन सकिरहेका छैनन् । चीनमा हजारौँको संख्यामा एकाएक संक्रमित भेटिँदासमेत छिमेकमा यो रोगको फैलावट हुन नपाउनुमा चीनमा गरिएको कडाइ र छिमेकीप्रति उसको सद्भावलाई पनि प्रमुख कारणका रूपमा लिने गरिएको छ ।

शक्तिशाली आधुनिक चीनलाई कोरोना भाइरसले एक पटक राम्रैसँग हल्लाएको छ । तर, चीनका लागि विश्व सामु  शक्तिशाली हुँ भन्ने यो एउटा अवसर पनि हो । अकल्पनीय संकटलाई कसरी सामना गर्ने भन्नेबारेमा चीनलाई अरू ५० वर्षको योजना बनाउन यस संकटले अवसर प्रदान गरेको छ ।

 

चीनमा रहेका विदेशी नागरिकहरूप्रति चिनियाँ सरकारले देखाएको उच्च सतर्कता ‘अतिथी देवो भवः’को उच्च आदर्शलाई  व्यवहारमा नै लागू गरिरहेको देखिन्छ । चिनियाँ नागरिकहरू ‘लुनार’ नयाँ वर्ष अर्थात् महत्त्वपूर्ण चाडको तयारीमा जुटिरहेका थिए । चाडको सम्मुखमा सुरु भयो ‘कोरोना भाइरस’ आतंक र सन्त्रास । 

यसले चीनलाई एक पटक करिबकरिब आपतकाल घोषणा नजिक पुर्‍यायो । तर, चीन सरकार र त्यसका मातहतका निकायहरू स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी त्यसको सक्दो व्यवस्थापन गर्न सफलल्ता मिल्दै गएको सन्देश दिइरहेको छ । 

यसका कारण हामी नेपाली जस्तै एसिया र संसारभरका नागरिकहरूले चीनको महामारीबाट छिटफुटबाहेक अलग रहन अवसर प्राप्त भएको छ । सहज कल्पना गर्न सकिन्छ– यही चीन सरकारले अरू एक महिना कोरोना भाइरसका बारेमा प्रचार नगरेको र आवागमन बन्देज नलगाएको भए हाम्रो जस्तो मुुलुकमा कस्तो ‘विपद्’मा पर्ने थियो होला?

हाम्रै  छोरा पनि  डेढ वर्षको चीन बसाइपछि संयोगले कोरोना भाइरसको चर्चा हुनुभन्दा एक हप्ता पहिले नै घर आएको अवस्था थियो । हुवेइ प्रान्त नभई हुनान प्रान्तको छाङ्सामा अध्ययनरत छोराका बारेमा विश्वविद्यायलयले राखेको चासो, विश्वविद्यालयको तर्फबाट विद्यार्थीहरूसँग गरिएको नियमित सम्पर्क र समन्वय गरेको देख्दा लाग्छ, मुलुक बनाउन एउटा इकाई र निकायले मात्र संभव रहेनछ । 

सबै निकाय समान रूपमा युद्धमा लाग्दा साँच्चै भयंकर अप्ठ्यारोको सामना गर्न सकिँदोरहेछ, जो अहिले चीनले सामना गरिरहेको छ । आफ्नै देशका स्वस्थ दाजुभाइ, दिदीबहिनीलाई संकटग्रस्त क्षेत्रबाट उद्धार गरी अनुगमनका लागि खरिपाटीमा राख्ने सरकारको योजनामा अनेक वितण्डा मच्चाउने नेपाली मिडिया र स्वदेशी दाजुभाइ, दिदीबहिनीहरूले सोचौँ त, चीनले चुपचाप कोरोना संक्रमित दुई दर्जन नागरिकलाई सहज रूपमा नेपाल आउन दिएको भए हाम्रो हालत के हुन्थ्यो होला ? 

ठूलो हुनु वा क्षमतावान् हुनुको अर्थ सहयोगी र सुहृदयी हुनु हो भन्ने कुरासमेत चीनले उदाहरण प्रस्तुत गरेर देखाएको छ । तर, यसै समयमा नेपाली मिडियाको एउटा पक्ष चीनको घाउमा नुनचुक लगाउन उद्यत मात्र होइन, महाभारतको युद्ध नै छेडिरहेको छ । 

पूर्वीय सभ्यतामा दिवंगत व्यक्तिहरूका विरुद्धमा समान्यतया नकारात्मक कुराकानी वा टिप्पणी गर्नु राम्रो मानिँदैन । तिनैका अनुयायी भएको भन्न रुचाउने तर पश्चिमाहरूको टाट्नामा हरियो डलरको घाँस खाने लोभमा हाम्रा महान् बुद्धिजीवीहरूले माओत्सेतुङको तस्बीरमा छेडखानी गर्ने र त्यसैलाई महान् सत्कर्मको रूपमा चर्चा गर्ने ‘तुच्छ बहादुरी’ प्रदर्शन गर्नसमेत पछि परेनौँ । 

हाम्रा मिडियाका मालिकहरूका दिवंगत पितृहरूलाई ‘दक्ष प्रजापति’को स्वरूपमा प्रदर्शन गर्न वा त्यस्तै फोटो प्रकाशन गर्न सहास गर्लान्, जसरी उनीहरूले माओको फोटो प्रकाशनको दुस्साहस गरे ? यो एउटा सामाजिक, सांस्कृतिक पाटो पनि हो । हाम्रा मिडियाहरूले कस्तो संस्कृतिको निर्माण र विस्तार गर्न आतुुर छन् भन्ने कुरा यसले देखाउँछ । 

जब समाज भाँडिन्छ, अराजक बन्छ र हरेक विषयलाई नकारात्मक मात्र देख्न थाल्छ । त्यसको परिणाम भनेको समाजमा भयावह हुन्छ । उदाहरणका लागि, इराकमा १२ जना नेपालीको हत्या हुँदा देखिएको र भोगिएको होइन र ? त्यस अराजक अवस्थामा काठमाडौंमा केही मिडिया हाउसहरूले समेत आंशिक क्षति व्यहोर्नु मात्र परेको थिएन, केही बन्द नै भएको उदाहरण पनि हाम्रा सामु रहेको छ ।

अर्थात् घर नजिकै खरबारीमा आगो लगाउँदा घरबारी असुरक्षित हुन्छ भन्ने सामान्य हेक्का राख्न नसक्नु नेपाली मिडियाहरूको अपरिपक्वता हो ।  

शक्तिशाली आधुनिक चीनलाई कोरोना भाइरसले एक पटक राम्रैसँग हल्लाएको छ । तर, चीनका लागि विश्व सामु  शक्तिशाली हुँ भन्ने यो एउटा अवसर पनि हो । अकल्पनीय संकटलाई कसरी सामना गर्ने भन्नेबारेमा चीनलाई अरू ५० वर्षको योजना बनाउन यस संकटले अवसर प्रदान गरेको छ । यो संकटलाई चीनले एक हदसम्म पार लगाउने चरणमा रहेको छ ।

हुवेई प्रान्तको महामारीलाई अन्य सँधियार प्रान्तमा समेत फैलन नदिई त्यसैमा सीमित राख्ने तथा नियन्त्रणको प्रयास गर्नु कम चुनौतीको कुरा थिएन । देशको सारा शक्ति  कोरोना संक्रमण फैलन नदिनमा तल्लीन भएको देखिन्छ । तर, नेपालको ‘प्रबुद्ध जमात’ माओको तस्बीरमा मास्क लगाउन, नेपालीहरूको उद्धार गर्न चीन जान लागेको जहाजका पाइलटहरूलाई हतोत्साहित गर्न र खरिपाटीका नागरिकहरूलाई आतंकित बनाउन दिलोज्यान दिएर लागेको छ । अर्थात् हामी नागरिकहरूले कुरा ठूला गर्छौं तर कामका मामलामा हरेक क्षेत्रमा व्यापार, घाटा नाफा मात्र त हेरिरहेका छैनौँ ?

अहिले दक्षिण कोरियामा पनि नोबेल कोरोना भाइरसको संक्रमण देखिन थालेको समाचारहरू आइरहेका छन् । कामना गरौँ, त्यहाँ पनि यसको नियन्त्रणमा सफलता मिलोस् । तर, नियन्त्रण भएन भने हाम्रा हजारौँ नेपाली नागरिकको स्वास्थ्य जोखिममा पर्ने निश्चित छ । चीनबाट १७५ जना फिर्ता गर्दा एउटा राज्यमा रहेका सबै नेपाली फिर्ता भएका झैँ गरिँदै छ । यद्यपि, अझै १० जना त्यहीँ रहेको कुरालाई विर्सिंइँदै छ । 

उता, वैधानिक र अवैधानिक रूपमा रहेका हजारौँ नेपाली कोरियाली श्रम बजारमा रहेका छन् । उनीहरूको व्यवस्थापन नेपालले कसरी गर्ला ? हामी नेपालीको उद्धार गर्नै पर्छ भन्छौँ  तर हाम्रो आसपास राख्नै पाइँदैन भन्ने मान्यता पनि राख्छौँ । यसका लागि विषयवस्तु र अवस्थालाई हाम्रा मिडियाले चर्का र उत्तेजक बनाउने मात्र नभई विकल्प सुझाउनेतर्फ  ध्यान जान त्यति नै जरुरी छ । 

आशा एवं अपेक्षा गरौँ, पशुपतिनाथले हामी सबैको कल्याण गर्नेछन् ।