प्रधानमन्त्री ज्यू , आयातित संस्कृति 'केक'को नेपाली मानचित्रलाई काटकुट पारेर खान हात लरबराएनन् ?

प्रधानमन्त्री ज्यू , आयातित संस्कृति 'केक'को  नेपाली मानचित्रलाई काटकुट पारेर खान हात लरबराएनन् ?

निर्जला कक्षपति  |  दृष्टिकोण  |  फाल्गुन १३, २०७६

प्रधानमन्त्री ज्यू,

सधैभर केक देख्दा मेरो मुख रसाउने गर्थ्यो, तर हिजो हजुरले ६९ जन्मोत्सवको अवसरमा नेपालको नक्सा आकारको केक काटेको देख्दा मेरा आँखा रसाए । 

 आफ्नो देशको नक्सा बनाएर कसैले केक काट्न ल्याउँछ भने साधारण मानिसको मन त एक पटक झस्किन्छ, तपाईँलाई केक काट्ने बेलामा केही भएन प्रधानमन्त्री ज्यू ? 

नेपाल आमाको चित्रलाई काट्दैछु भनेर सोच्नु भएन ? कागजमा बनाइएका नेपालका नक्सा त हामी च्यात्ने गर्दैनौँ र दिँदैनौ ।  केक अङ्कित देशको नक्सा काटकुट पार्न सक्ने कत्रो आँट रहेछ हजुरमा ? 

यहाँले आफै बेलाबेलामा भन्ने गर्नु भएको छ, कम्युनिस्ट सरकारलाई असफल गराउन विपक्षीले अनेक कर्तुत गर्‍यो भनेर, तर यही नै हो प्रधानमन्त्री ज्यू तपाईँ आफ्नो देशलाई कति माया गर्नु हुन्छ भनेर जनताले आकलन गर्ने समय र ठाउँ पनि हाे भन्ने ख्याल नगर्नु भएकाे हाे ? 

हुन त कम्युनिस्ट सरकारका पक्षधर केही व्यक्तिहरूले तपाईँको बचाउ नगरेका पनि हाेइनन् । त्यो मलाई थाहा छ ।  त्यो त केवल अहङ्कार मात्र हो, देशलाई नै काटेर खाएको होइन नि भनेर । तपाईँले काटेको केक फगत एउटा केकको रूपमा मात्र लिन सकिँदैन र लिनु पनि हुँदैन ।  

केकमा नेपाल आमाको मानचित्र बनाइएको छ । मानचित्रलाई नै काटकुट पारेर खाने अनि शुभकामना दिन आएकाहरूलाई बाँड्ने गर्दा यसले के कस्तो सन्देश दिन खोज्नु भएको हो ? भनी सोच्नु पर्ने हो की होइन प्रधानमन्त्री ज्यू ? चाकडी गर्नेले त अनेक यस्तै उपाय निकाल्ने अनि के गरी खुसी पारौँला र प्रधानमन्त्री सँगको निकटता बढाउँला भन्ने साँच्ने नै भए । तर केक काट्ने बेलामा नेपाल आमाको चित्र अङ्कित केक म काट दीन भन्नु भएको भए सायद यति बेला तपाईँको आलोचना होइन जताततै हाइ हाई हुने थियो ।

जन्म दिनमा राज्यको ढुकुटीबाट कति रुपैंया दोहन गर्ने यो त अति नै भएन र प्रधानमन्त्री ज्यू ? प्रधानमन्त्रीले जन्मदिन मनाउन डेढ करोड सकाए भन्ने जून समाचार आएको छ प्रधानमन्त्री ज्यू ठन्डा दिगामाले एकचोटी सोच्नुहोस् त ! तपाईँले प्रधानमन्त्री भएपछि अब देश तुइनमुक्त हुन्छ भन्नु भएको थियो के त्यो कुरा पूरा गर्नु भयो ? यस्ता आश्वासन त यहाँले थुप्रै दिनु भएको छ, के ती सब पूरा भए ? 

प्रधानमन्त्री ज्यू ,

यहाँलाई धेरै विषयमा जानकारी छ, धर्म, संस्कृति, विज्ञान, सामाजिक, राजनीतिक, आर्थिक अनि यस्तै थुप्रै विषयमा ज्ञान छ भन्ने हामी जनतालाई लाग्ने गरेको छ । केक काट्ने संस्कृति नेपालीको होइन भन्ने ज्ञान तपाईँमा थिएन  र ? हामी नेपालीको संस्कार त जून काम शुभारम्भ गर्दा पनि दियो बालेर गरिन्छ । यसैगरी कलश र गणेशको पूजागरी कामको सुरुवात गरिन्छ । दियो कलश र गणेश लाई पूजा गरी कार्य शुभारम्भ गर्दा शुभ हुन्छ भन्ने जनविश्वास रही आएको छ ।

केक काट्दा मैनबत्ती बालेर बलेको मैनबत्तीलाई निभाउने चलन छ । बलेको बत्ती निभाउने चलन नेपालीहरूको हुँदै होइन । हामी आयातित संस्कृतिलाई निकै नै पछाइरहेका छौँ । धर्ममा आस्था राख्ने गुरुहरूले जन्म दिनमा बालेको दियो निभाउन हुँदैन भनेर भन्दै आएको प्रधानमन्त्रीलाई थाहा नभएको हो र ? 

 विदेशीले गरेको कुराको नक्कल हामी सबै नेपालीले गरिरहेका छौँ । तपाई त यो देशको प्रधानमन्त्री, आफ्नो धर्म संस्कृति अनुसार नै जन्मदिन मनाउनु भएको कति राम्रो हुने थियो होला ! 

  यसैगरी केक नेपालीहरूको खाना होइन । यो विदेशी परिकार नै हो । केक बनाउँदा केही रासायनिक तत्त्वहरूको  प्रयोग गरिएको हुन्छ । यस्ता रासायनिक तत्त्वहरूले हाम्रो शरीरलाई फाइदा भन्दा बेफाइदा नै बढी मात्रामा पुर्‍याउँछ । फेरि तपाईँ त मिर्गौला रोगी । यस्ता खानाले तपाईँको शरीरलाई कत्ति पनि फाइदा पुग्दैन । आफ्नो जन्मदिन आफू जन्मेको ठाउँमा गएर मनाउने इच्छा गर्नु भयो यो कुरा एकदमै राम्रै हो । तर चार वटा हेलिकोप्टर चार्टर गरेर जाँदा कति खर्च उठ्ला भन्ने कुरा सोच्नु पर्दैन प्रधानमन्त्री ज्यू ? 

जन्म दिनमा राज्यको ढुकुटीबाट कति रुपैंया दोहन गर्ने यो त अति नै भएन र प्रधानमन्त्री ज्यू ? प्रधानमन्त्रीले जन्मदिन मनाउन डेढ करोड सकाए भन्ने जून समाचार आएको छ प्रधानमन्त्री ज्यू ठन्डा दिगामाले एकचोटी सोच्नुहोस् त ! तपाईँले प्रधानमन्त्री भएपछि अब देश तुइनमुक्त हुन्छ भन्नु भएको थियो के त्यो कुरा पूरा गर्नु भयो ? यस्ता आश्वासन त यहाँले थुप्रै दिनु भएको छ, के ती सब पूरा भए ? 

अहिले जन्म दिनमा गरिएको खर्च बालबालिकाको शिक्षाको लागि गएको भए नेपाली जनता धेरै खुसी हुने थिए । पढ्न नपाएकाले पढ्न पाउँथे । यी सब कुरा किन उल्लेख गरी राखेकी छु भनेनी प्रधानमन्त्री ज्यू, तपाईँले खर्च गर्नु भएको रकम हाम्रो प्रत्येक कमाइमा र पाइलापिच्छे तिरेको करको रकम हो । जनताले दुख गरेर कर तिर्ने  यहाँले मोज गर्ने हो र  ? 
प्रधानमन्त्री ज्यू,

जन्मदिनमा केक होइन नेपाली संस्कृति अनुसार लड्डु बाँड्न सकिन्छ । तिलको लड्ड, बेसनको लड्डु जे सुकैको पनि लड्डु बनाउन सकिन्छ । तिलको लड्डु स्वास्थ्यका लागि यति फाइदाजनक छ कि यो कुराको ज्ञान यहाँमा अवश्य छ । तिलमा पाइने क्याल्सियम र चाकुमा पाइने आइरन स्वास्थ्यका लागि निकै नै फाइदाजनक छन् । यसै गरी चनाबाट बनाइने बेसनमा प्रशस्त मात्रामा आइरन प्राप्त हुन्छ । यहाँको स्वास्थ्यको लागि पनि यी खानेकुराहरू निकै नै लाभदायक छन् । सबभन्दा ठुलो कुरा त यहाँले यस्ता कुराको अर्डर दिनु भएको भए नेपाली दिदीबहिनीले रोजगारीका साथै केही रकम कमाउने  अवसर त पाउँथे । 

सम्पूर्ण नेपालीको अभिभावक भएपछि यहाँले यत्ति कुरा सोचिदिनु भएको भए कति राम्रो हुने थियो । उपाय त धेरै थिए प्रधानमन्त्री ज्यू, गाउँघरमै पाक्ने सेल पकाएर प्रधानमन्त्रीले आफ्नै गाउँका दिदीबहिनीले पकाएको सेल खाएर जन्मदिन मनाए भन्ने समाचार पढ्न पाएको भए कति मज्जा आउने थियो हगी ?

नेपालको नक्सा अङ्कित केक काटेको त होनी देश नै काटेको त होइन भन्ने यहाँलाई लाग्न सक्छ  । तर यहाँ प्रधानमन्त्री जस्तो पदमा आसीन व्यक्तिले आफ्नो देशको चित्र अङ्कित केक काट्दा के कस्तो सन्देश जाला भनेर यहाँले एकचोटी पनि सोच्नु भएन ? केक काट्ने बेलामा यहाँको हात लरबराउनु पर्ने हो तर लरबराएन किन ? प्रधानमन्त्री ज्यू मुटुमा हात राखेर भन्नुस्, देश प्रति कत्तिको माया छ ?

आफ्नो जन्मभूमि, मातृभूमिलाई कत्तिको प्रेम गर्नु हुन्छ ? अहिले पनि देश सङ्घीयतामा गएको कत्ति जनतालाई फिटिक्कै मन परेको छैन । देशलाई टुक्रा पारेर सिद्ध्याउन लागे भन्ने आरोप नेताहरूलाई छ । सायद जनमत सङ्ग्रहबाट सङ्घीयतामा गएको भए जनताले सहजै स्विकार्थे होला । विदेशीको दबाब र आफ्नो स्वार्थमा सङ्घीयतामा गएको भनेर जनता रुष्ट पनि देखिन्छन् । 

यस्तो अवस्थामा प्रधानमन्त्री ज्यूले देशकै चित्र अङ्कित केक बनाएर काटकुट गरेर खाँदा लौ अव देशलाई सिद्ध्याउने भए भनेर जनता निकै नै निराश र रुष्ट बनेका छन् है प्रधानमन्त्री ज्यू ।