मुआब्जा पीडितहरुले अरुण ३ को काम आजबाट गर्न नदिने

मुआब्जा पीडितहरुले अरुण ३ को काम आजबाट गर्न नदिने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७६

खाँदबारी ।  अरुण ३ प्रदेशमार्ग मुआब्जा पिडित संघर्ष समीतिले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

समितिले जारी गरेको सूचनाअनुसार २०७६ फागुन १४ गतेदेखि मुआब्जा पीडितहरुको न्यायको लागि शान्ति पूर्ण बन्दको आब्हान गर्ने, सोही दिनबाट छ्याङ्कुटीमा नाका बन्द गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी २०७६ फागुन १५ बाट  पावर हाउस एरियाको काम बन्द गर्न धर्ना कार्यक्रम सञ्चालन गर्ने र  १६ गतेदेखि विभिन्न आर्क बनाई ० देखि २४.५ सडक खण्डलाई हाम्रो जायज मागहरु सम्बोधन नभएसम्म पूर्ण रुपमा अनिश्चितकालिन बन्द गरिने  संघर्ष समीति केन्द्रीय संयोजक जनी कुमार राई र स्थानीय अध्यक्ष हर्कसिङ राईले जारी गर्नु भएको सूचनामा उल्लेख छ ।

जारी सूचना अनुसार आयोजनाकर्ता SAPDC ले ३०% भन्दा बढी भौतिक निर्माणको कार्य सकिसकेको घोषणा गरि रहँदा र सर्बोच्च अदालतले विभिन्न मितिमा सार्वजनिक प्रयोजनका लागि व्याक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा पहिले उचित मुआब्जा तथा क्षतिपूर्ति अनिवार्य दिनुपर्ने फैसला गरि सकेका नजिरहरु प्रतिपादन भइरहेको परिप्रेक्ष्यमा हामीलाई आजसम्म वेवास्ता गरिनुले हाम्रो नैसर्गिक हक, अधिकारबाट बन्चित हुन परेको र सम्मानित सर्बोच्च अदालतको समेत ठाडो उलङ्घन भएको ठहर गर्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको जनाइएको छ ।

२०७६ असोज १० गते लगानी बोर्डमा बुझाएको प्रतिवेदन कार्यन्वयन नगरीएको र बिगत १० वर्ष देखि बिना मुआब्जा पैतृक सम्पत्ति,जन्मथलो गुमाएर हामीलाई सुकुम्बारी बनाइएकोले छ्याङ्कुटी ०–२४.५ कि. मि. सडक खण्ड प्रवेश मार्ग नै  बन्द गर्न बाध्य भएका  सूचनामा उल्लेख गरिएको छ । 

यसबाट सर्बसाधारणमा पर्न जाने असुविधाको लागि क्षमा याचना गर्दै  शान्तीपूर्ण आन्दोलनमा पत्रकार, बुद्धिजिवी, नागरिक समाज, सुरक्षाकर्मी तथा सम्पूर्ण जिल्लाबासीको तर्फबाट समर्थन सहयोग गरी दिन आब्हान समेत गरिएको छ ।