आसेपासे र चम्चे संस्कृतिः गोलघर, प्रम ओली र सर्वहारा वर्गका नायकको खिल्ली
फाल्गुन १४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औँ जन्मदिनले एउटा तरंग नै फैलियो । विभिन्न संचार माध्यम, सामाजिक संजाललगायतमा नेपालको नक्सा अंकित १५ किलोको केक र ओलीको जन्मदिनका बारेमा आलोचनात्मक टिप्पणीहरू भए । 

जन्मदिन मनाउनु कुनै अस्वाभाविक संकृति होइन । हामी जोकोहीले विभिन्न तरिकाले जन्मदिन मनाउँदै आएका छौँ । सामान्य मानिस या जनताको भन्दा देशका कार्यकारी प्रमुखको जन्मदिन विशेष त हुने नै भयो । प्रायः कहिल्यै यसरी जन्मदिन नमनाएका ओलीको यस पटकको जन्मदिन ऐतिहासिक प्रकृतिकै भयो । प्रसंगको प्रमुख विषय बन्यो– नेपालको नक्साको केक निर्माण गरी काटेर खाँदै गरेको तस्बीर ।

केक काटेर जन्मदिन मनाउने आयातीत संस्कृति हो । यो यति धेरै नेपालमा झाँगिएको छ कि वर्षमा एउटा परिवारमा जति जना सदस्य छन्, सबैका केक काटिन्छन् । केक मात्र होइन,  जन्मदिनमा उपहार, भोजभत्तेर तथा जन्मदिनका लागि चाहिने चिजवस्तुमा हुने खर्चको तुलना गर्ने हो भने एक घर बराबर वार्षिक १ देखि २ जनालाई पढाउन पुग्ने खर्च भइरहेको छ । 

केक भनेको हाम्रो स्वस्थ्यका लागि निकै हानिकारक चिज पनि हो । यसले हाम्रो दीर्घायुको काम त गर्दै गर्दैन तर हामी आफूलाई सभ्य र सुसंस्कृत जस्तो देखाउन दभ्भपूर्ण ढंगबाट आफ्नो जन्मदिन मनाइरहेका छौँ । यस संस्कृतिबाट अलग आज देशका प्रधानमन्त्री पनि रहन सक्नुभएन । 

आज हामी अरूको नक्कल गर्न यति अगाडि छाैँ कि आफ्नो कति महत्त्वपूर्ण मूल्य, मान्यता, संस्कार र संस्कृतिलाई भुलेर जानी नजानी अरूको नक्कल गर्छौं र त्यसैमा गौरव गर्छौं । कुनै दिन नक्कल गरिएका संस्कृतिले हामीलाई नराम्ररी फसाउँछन्, जसरी आज प्रम केपी ओलीलाई जन्मदिनले फसायो । 

तेह्रथुमको आठराईमा ६९ वर्ष अगाडि जन्मिएका ओलीको जन्मघर हेर्दा निकै टिठलाग्दो देखिन्छ । अहिलेको नेपाली गाउँले जनजीवनको वास्तविक प्रतिनिधित्व गर्ने प्रकृतिकै देखिन्छ । जन्मघरलाई माया गरेर यति ठूलो पदमा पुगेका नेताले धेरै लामो समयपछि आफ्नो जन्मदिन मनाउन चाहनु गलत पक्कै होइन । एउटा उदाहरणीय कार्य नै हो । 

उहाँका  झापा र काठमाडौंको बालकोटमा निकै गतिला घर पनि थिए तर त्यहाँ उहाँले जन्मदिन मनाउन चाहनुभएन । आफ्नो जन्मभूमि कति प्यारो हुन्छ, कति स्मरणयोग्य हुन्छ भन्ने एउटा उदाहरण दिनलाई यो छनोट गरिएको हुन सक्छ । ओली जन्मदिनको अवसरमा यतिका लामो समयमा आठराई पुग्दा उहाँका बालसखाहरूले बाटो हेरिरहेको दृश्य पनि कति मर्मस्पर्शी थियो । ओली पुग्नासाथ उनीहरू अँगालो हाल्न तयार हुनुपर्ने हो तर दृश्य फरक थियो । 

उहाँ त चारवटा हेलिकोप्टरमा निकै राजसी ठाँटबाँटका साथ पुग्नुभएको थियो । हेली बस्दाको धुलोले बालसखाहरूको अनुहार र कपाल झनै बिरूप देखिएको थियो । त्यो समय उनीहरूलाई लाग्यो होला, एउटा गीतको सम्झना भयो होला, ‘सँगैको साथी हावैजाजमाथि म भैँसी गोठालो...।’

गाउँपालिका सनसनीपूर्ण नै भयो । लाग्थ्यो, कसैको जन्म होस् त यस्तो ।

गाउँपालिकाले सार्वजनिक बिदा नै दियो । उच्च पदस्थसहित पुगेका ओलीको त्यो दृश्यले त्यो पुरानो घर कति खुसी भयो होला ? एउटा परदेशिएको छोरो बुढी आमाको अन्तिम सास भेट्न आएझैँ । ओली आफैँले पनि निकै ठूलो शान्ति र गौरव अनुभुत गर्नुभयो होला । किशोरावस्थादेखि नेपाली कम्युनिस्ट आन्दोलनमा लागेर, झापा विद्रोहदेखि नेपालको शक्तिशाली नेतृत्वको यो घडीसम्म पुर्‍याउने त्यो घर सम्झिनुभयो होला, नेपाली जनता सम्झिनुभयो होला । ती बालसखाहरूसँग काँध मिलाएर सँगै धुलोमा खेलेको सम्झिनुभयो  होला ।

घण्टौँ हिँडेर साथै ट्र्याक्टरबाट आएका विद्यार्थीहरूलाई कापी–कलम वितरण गर्दै आफ्नो बाल्यकाल बिम्बित भयो होला । आठराईका उकाली–ओरालीहरू सम्झेर एकछिन भावनामा डुबे होलान् । मानिसको मन न हो पग्लिन्छ, पग्लियो होला । 

हो, उनको मनले सोचेको त्यो नै होला । जिन्दगीमा मानिसले आत्मशान्तिका लागि केके गर्दैनन् ? तीमध्ये ओलीको पनि राज्य संचालनको यति ठूलो जिम्मेवारी एकछिन बिसाएर आफ्नै जन्मघरमा जन्मदिन मनाउने इच्छा हुनुपर्छ । 

यो जन्मदिन मनाउनु अगावै माघ ५ गते नेकपा नेता, कार्यकर्ताका लागि दुई अध्यक्षले जारी गरेको आचारसंहितामा  भनिएको छ, ‘जन्म दिवस, पास्नी, व्रतबन्ध जस्ता संस्कारलाई घरभित्रै सीमित गर्नू ।’ तर, प्रमको इच्छालाई आचारसंहिताले रोक्न सकेन । 

ओलीको जन्मदिनमा नेपालको नक्सासहितको केक काटेर खाएको विषयलाई लिएर विभिन्न प्रश्नहरू उठे र उठिरहेका छन् । नेपाललाई केक बनाएर टुक्राटुक्रा पारेर खान खोजेको हो भन्ने विषय निकै उत्कर्षमा पुगेको छ । हेर्दा पनि त्यस्तै लाग्छ । 

तर, गल्ती कहाँबाट भयो भने केकमा जे लेखिए पनि काटेर खाने नै संस्कृति हो । जस्तैः कसैको जन्मदिनमा त्यो केकमा नाम लेखिएको हुन्छ । त्यसो भए त्यो नाम काटेर नखानुपर्ने नि त ! यहाँ प्रश्न के हो भने जन्मदिनमा केक काट्नु नै गलत हो । ओलीको नामभन्दा देशको नक्सा राख्नु उत्तम होला भन्ने ओलीका सल्लाहकारहरूको सल्लाहले यो घटना भएको हुनुपर्छ । 

यस घटनाबाट के बुझ्न सकिन्छ भने कुनै नेतृत्व सफल हुनका लागि उक्त नेतृत्वको सल्लाहकारमा भर पर्छ । केक निर्माण गर्ने सल्लाहकारको (अ)चेतनाको कारणले अर्थात् सामान्य कमजोरीले कति भयंकर प्रश्न र विषयहरू जन्माउँछ भन्ने यो एउटा उदाहरण हो । यदि यही काम यसैगरी अमेरिकाका राष्ट्रपतिले गरेको भए स्वाभाविक हुन्थ्यो किनकि यो उनीहरूको संस्कृति हो । तर, नेपाल जस्तो  विभिन्न राजनीतिक परिवर्तनहरू पार गर्दै, शदियौँदेखि उत्पीडन र विभेदमा  परेर, द्वन्द्व, जनयुद्ध हँुुदै बल्लतल्ल जनताले संविधान निर्माण गरेर कम्युनिस्टको आस्थाको सरकार बनेको समयमा पनि नेतृत्वले यस प्रकृतिको गल्ती गर्नु र जनताले आलोचना गर्नुलाई अचम्म मान्नुहुँदैन । 

यो सर्वहारा वर्गको महानायकको खिल्ली भन्दा केही हुन सक्दैन । उहाँका केही सल्लाहकारहरूले त ताली बजाउँदै जन्मदिनको शुभकामना दिए होलान् तर आमजनताले कसरी हेरिरहेछन् जननिर्वाचित प्रधानमन्त्रीलाई ? त्यतिका वर्ष गोलघरमै बसेर आएका नेताले नबुझ्ने हो भने अबको विकल्प के भन्ने प्रश्न उठ्न थालेको छ । 

जन्मदिनको शुभकामना नदिने को जनता होला एउटा देशको कार्यकारी प्रमुखलाई । यहाँ त्यो जन्मघर जस्तै, ओलीका बालसखा जस्तैको मनोविज्ञानसँग जोडिएको जनजीविकाको प्रश्न हो । कम्युनिस्टहरूले जनताका घरदैलोमा शदियौँदेखि पुगेर भन्दै गाउँदै आएका र बल्ल कार्यान्वयनको चरणमा आइपुगेर अलिक बढी आशा राखेका मात्र हुन् । पक्कै पनि यदि देवत्वकरण भइसकेका छैनन् भने नेतृत्वले बुझ्नै पर्छ ।

अन्त्यमा, जन्म, मृत्यु स्वाभाविक प्रक्रिया हुन् । यी विषयमा ज्यादै ठूलो कोलाहल मच्चाइरहनुपर्ने होइन । मैले यसभन्दा अगाडिको लेखमा पनि जन्मदिन मनाउने संस्कार र संस्कृतिका बारेमा एउटा लेख लेखिसकेको छु । नेपालमा जे काम गरे पनि त्यसको गलत अर्थ लगाइन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ तर त्यसो मात्र पनि होइन । 

छिमेकी मुलुक चीन हेरौँ त, कहाँबाट कहाँ फड्को मारिसक्यो । चीन आज त्यहाँ पुग्नुमा जम्माजम्मी तीन जना नेताको नाम लिए पुग्छ । माओत्सेतुङ, जसले चिनियाँ क्रान्ति सफल गरेर जनतालाई सार्वभौम बनाए । देङ स्याओपिङ, जो विकसित चीनका सूत्राधार नै सावित भए भने सी चिनफिङले आज ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गरेर संसारको बजारलाई आफ्नो कब्जामा पारिसके ।

नेपालमा जति नेता भएको देश कुन होला सोचौँ त ! तर तीन जना गन्ने हो भने कोको होलान् यस्ता ?

हामी नेपाली भनेका एकले अर्काको खुट्टा तान्ने गँगटे प्रवृत्तिबाटै मुक्त हुन सकेका छैनौँ । सकारात्मक पनि यति धेरै हुन्छाैँ कि जो मान्छे आफ्नो र आफ्नो पार्टी वा विचारको हो भनेपछि उसको जे पनि ठीक । पूर्वाग्राही पनि यति कि जो आफ्नो विपक्षी या फरक गुटको मात्र हो भने उसमने जे पनि गलत अर्थात् दृष्टिकोण नै फरक बनाउँछौँ । 

हामीले पार्टी विचार बोक्नुपर्छ तर अन्धभक्त हुनुहुँदैन । आलोचक हुनै पर्छ नत्र आफ्नै पार्टीका अन्धभक्त कार्यकर्ता वा सल्लाहकारले गर्दा नेतृत्व धरापमा पर्छ । ‘इम्पेरर्स न्यू क्लोथ्स’को कथा जस्तै राजा नांगो भइसक्दा पनि अन्धभक्तहरू प्रशंसा गरिरहन्छन् । भ्रष्टाचारमा शून्य सहनशीलताको नाउँमा ७० करोड रुपैयाँसम्म सहनशीलतामा पुग्न सक्छ ? 

यी सबै नेपाली सामन्ती संस्कारले जन्माएका आसेपासे र चम्चे अनि चाकडी संस्कृतिका आडम्बरीहरूको नतिजा हो । राजसी जन्मदिनको उत्कर्ष पनि यस्तैका सुझाव र सल्लाहको परिणति हो । जनताले त्यो पचाइरहेको हुँदैन तर सचिवालय र सल्लाहकारहरूले प्रतिवेदनमा मिलाएर भन्छन् कि जनताको क्या वाह वाह छ । चिज यहाँनेर धेरै बिग्रेको हुन्छ ।

आज हामी अरूको नक्कल गर्न यति अगाडि छाैँ कि आफ्नो कति महत्त्वपूर्ण मूल्य, मान्यता, संस्कार र संस्कृतिलाई भुलेर जानी नजानी अरूको नक्कल गर्छौं र त्यसैमा गौरव गर्छौं । कुनै दिन नक्कल गरिएका संस्कृतिले हामीलाई नराम्ररी फसाउँछन्, जसरी आज प्रम केपी ओलीलाई जन्मदिनले फसायो । 

त्यसैले यो एउटा हाम्रालागि शिक्षा हुनै पर्छ । पहिलो त हामीले केक काट्ने नै होइन । आफ्नै परिकार बनाएर खाँदा भइजान्छ । दोस्रो, केक काटे पनि केक काट्नु अगाडि फुकेर बत्ती निभाउने होइन । हामीले त बत्ती बाल्नु पो पर्छ त ! खराबी संस्कृतिमा छ । समस्या जरामा छ । हामी पातमा पानी लगाउँदै हाँगामा उपचार खोजिरहेका छौँ । 

 


लेखकः स्मार्ट माइक्रो रिसर्चका संस्थापक अभियन्ता तथा  जनसांस्कृतक महासंघ नेपाल केन्द्रीय सदस्य हुनुहुन्छ ।