दमकस्थित लाइफलाइन अस्पतालमा डायलोसिस सेवा शुरु गर्दै

दमकस्थित लाइफलाइन अस्पतालमा डायलोसिस सेवा शुरु गर्दै

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन १४, २०७६

दमक । दमकस्थित लाइफलाइन अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलोसिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले आगामी दुई महिनाभित्र रोटरी क्लब अफ दमकको सहकार्यमा पहिलोपटक उ्रक्त सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा तिलकचन्द्र साहले जानकारी दिनुभयो । 

अध्यक्ष डा साहका अनुसार चार शैयाबाट बिरामीलाई सो सेवा प्रदान गरिने साथै सो सेवाबाट यस  क्षेत्रका  बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ  । 
अस्पतालमा आज  आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी  सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिनुभयो । ८० लाख रुपैयाँ मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ । सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको अध्यक्ष डा साहले जाकारी दिनुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा खुस्बु प्रिया र सञ्चालक डा मुक्तिनाथ भट्टराई सेवाले मिर्गौला बिरामीलाई थप सहज हुने बताउनुभयो ।  । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्वास्थ्य सेवामा नगरपालिकाले विभिन्न काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा दमक रोटरीका निवर्तमान अध्यक्ष मोहन ढकाल, रोटरीको परियोजना समन्वयकर्ता सागर श्रेष्ठले दमक आसपासका मिर्गौलाका बिरामीले आफ्नै ठाउँमा सर्वसुलभ सेवा पाउने  बताउनुभयो ।