‘महज दिखावा’ बाग्मती अभियान

‘महज दिखावा’ बाग्मती अभियान

आशिष पौडेल  |  पर्यटन  |  फाल्गुन १७, २०७५

प्रवुद्ध पाठकलाई बाग्मती नदी किनारतर्फ डोर्याउँ । नअलमलिनुस् यो बाग्मती सफाइको अभियान भने होइन । अभियानका लागि नेपाल टेलिकमको सन्देश आउँदै होला । सन्देशले तपाईँका मनमा कस्तो भाव सृजना गर्छ, म जान्दिनँ । तर, जुन दिन मैले पहिलो पटक सन्देश ‘नोटिस’ गरें, अभियानप्रतिको मेरो विमति आजसम्म कायम छ । 

नदीलाई सभ्यताको जननी मानिन्छ, इतिहासले प्रमाणित गरेको तथ्य हो यो । संसारकै पाँच प्राचीन सभ्यता नदी किनारमा विकसित भएबाट पनि यसलाई थप पुष्टि हुने आधार मिल्छ । 

मेसोपोटामियाको सभ्यतादेखि इण्डस भ्याली, इजिप्सियन, माया र चिनियाँ सभ्यतासम्मका सबै नदी किनारमा विकसित हुनुले पनि जल, जलको जीवन्त स्वरूप मानिने नदी र नदी किनारको महत्व अझ प्रष्ट्याएको छ । यसले जल र जीवनको अन्योन्याश्रित सम्बन्ध र महत्वलाई थप उजागर गर्छ । 

संसारकै प्रथम सभ्यता मानिने मेसोपोटामियाको अर्थ नदीको बीच भाग होे, जुन सभ्यता ७ सय ५० बिसीदेखि ३ हजार ३ सय बिसीसम्मको समयमा विकसित भएको मानिन्छ, उक्त प्राचीन समयमा समेत नदी र नदी किनारलाई दिइएको महत्वबाट वर्तमानको यस समयमा सभ्य र सु–संस्कृत भनिएका हामी मनुष्यले त झनै संरक्षण÷संवद्र्धन गरेर यसलाई जीवन्त बनाउनु जरुरी देखिन्छ । 

वासिंटन डिसी, लण्डन, मस्को, न्युयोर्क र रोम जस्ता विश्वका उत्कृष्ट सहरहरूसमेत नदी किनारमा अवस्थित हुनुले यसको महत्ता दर्शाउँछ । यसमा समावेश गर्न सकिने अझ धेरै नाम छन्, जसमा नेपाल र भारतका प्रमुख सहर पनि पर्छन् । 

हिन्दू सनातन परम्परामा जीवजन्तु, किटपतंग, चराचुरुंगीदेखि लिएर रुख, झारपातसम्म सबैलाई ईश्वरको अंशका रूपमा उच्च सम्मान र विशिष्ट महत्वका साथ हेर्ने गरिन्छ । नदीको स्थान झन् पवित्र तीर्थस्थलका रूपमा छ, जहाँ स्नान आदिले मात्र पनि मुक्ति हुने विश्वास गरिन्छ । बाग्मती र गंगा नदीलाई यस मेसोमा अझ उच्च महत्वका साथ हेर्ने गरिएको जनविश्वास सर्वविदित नै छ । 

सभ्यताको रूपमा मानव बस्तीको विकास हुँदै गएपछि मानव सृजित समस्याका फलस्वरूप नदी/किनार स्वयमेव प्रदूषित हुँदै गए । जनसंख्या वृद्धि तथा रोजगारीका साथै सुविधायुक्त सहज जीवनयापनका लागि बसाइँसराइको क्रम तीव्र हुँदै जाँदा नदीहरू झन संक्रमित हुँदै गए । 

तथ्य र तथ्यांकको साह्रै ठूलो खडेरी छ हामीकहाँ । बाग्मतीमा ‘विधिवत’ रूपमा कहिले ढल बगाउन थालियो, यसको कुनै अभिलेख छैन । तर, पनि खोज्दै जाँदा राणा प्रधानमन्त्री जुद्ध शमसेरको पालादेखि नै ढल मिसाउन प्रारम्भ भएको जानकारी पाइन्छ । यसलाई तीव्रता दिने काम पछिल्लो कालखण्डमा भएको हो । 

हालको यस ‘सफाइ महाअभियान’को प्रारम्भिक स्वरूप बेग्लै थियो । सनातन हिन्दु धर्ममा दाहसंस्कार अघि र पछि पशुपति आर्यघाटस्थित बाग्मतीमा स्नान गर्ने परम्परा छ । उक्त संवेदनशील घडीमा समेत फोहोर र प्रदूषित बाग्मतीमा स्नान गरेर तरण/तारण हुनुको साटो रोगको संक्रमण फैलने त्रास र गहिरो आस्थाका कारण अन्यत्र नसकिए पनि आर्यघाटमा मात्र भए पनि सफा हुनुपर्छ भन्ने सद्भाव र दबाबका कारण बाग्मती सफाइ अभियान सुरु भएको थियो । 

२०५१ चैत २८ गतेबाट बाग्मती सफाइ अभियान पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समितिले प्रारम्भ गर्यो । यसपछि २०५२ मंसिर ६ गते बाग्मती क्षेत्र ढल निर्माण तथा सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समिति र २०६५ जेठ २ गते अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका नाममा यो सफाइ अभियान रूपान्तरित भए पनि, मूलभूत प्रश्न बाग्मती आफैंमा कति रूपान्तरण भयो भन्ने हो । 

२०७० जेठ ५ गते तत्कालीन मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेको यस महाअभियानको मूल नारा ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो अभियान’ भने पनि यो नारा कत्तिको सार्थक रह्यो भन्ने बुझ्न बाग्मतीको धेरै नजिक जानु पर्दैन थापाथली पुलबाट यसो चिहाए मात्र पुग्छ । 

यो अभियानलाई व्यापक ‘ग्लोरिफाई’ गर्ने काम तत्कालीन मुख्य सचिव लिलामणि पौडेलले गरे । घरी बाग्मतीमा हेलिएर त घरी डुंगा सवार उनको छवि कैद गर्ने मिडियाले जल कम मल धेरै भएको बाग्मतीलाई अझ धेरै मलजल गर्‍यो । देशको सेना, प्रहरी र अन्य सरकारी निकायको संलग्नता रहेको यस अभियानलाई ‘स्वयंसेवी अभियान’ भनिए पनि यसमा व्यापक अधिकारको दुरुपयोग भएको देखिन्छ । 

अभियानप्रति स्पष्ट दुईमत देखिएको छ । मुख्यसचिवजस्तो देशको प्रमुख निर्णायक तहमा रहेको व्यक्तिले बाग्मती सफा गर्ने ‘नीतिगत’ निर्णय गरेर कार्यान्वयनमा व्यापक सक्रियता देखाउनु पर्नेमा उनले ‘पपुलिस्ट’ काम मात्रै गरे भन्ने एकथरिको भनाई छ । 

अर्को थरी भन्छ– यो एउटा जनचेतनामूलक अभियान हो । यसले बाग्मती मात्र नभएर आफू वरपरका अन्य नदीनाला सफा गर्ने अन्य ९० वटा अभियान पनि प्रारम्भ भएका छन, जसलाई सुखद मान्न सकिएला । तर, तौरतरिका उही रहे यो पनि केवल औपचारिकता रहनेछ । आखिर सफा नगरे कसरी सफा हुन्छ भन्ने उनीहरूको तर्कलाई ‘सफाइ अघि–अघि फोहोर पछि–पछि’ भएबाटै थप पुष्टि गरिरहनु परेन । 

काठमाडौं उपत्यकामा ४४ किमि लामो रहेको बाग्मती नदी सफा गर्न यसका ९ वटा सहायक नदी पनि सफा गर्नु जरुरी छ । तर, यसो गरिएको छैन । जसका कारण अहिले यो अभियान ‘महज दिखावा’ जस्तो बनेको छ । माथिबाट ढल फालिरहने र तल सफा गरिरहनुको कुनै तुक छैन । 

बाग्मती सरसफाइ परियोजनाको वेव पेज नियाल्ने हो भने यसको उद्देश्यमा भनिएको छ– पूर्णरूपमा ढल नियन्त्रण÷व्यवस्थित नगर्ने हो भने बाग्मती सफा हुन सक्दैन । उसो भए फेरि यो तामझाम किन ? 

केही काम नभएको पनि होइन, बाग्मतीमा पानीको बहाव बढाउन शिवपुरीमा निर्माण कार्य हुँदैछ, गुह्येश्वरीमा अबको दुई–तीन महिनामा ट्रिटमेण्ट प्लाण्ट सञ्चालनमा आउँदै छ, जसले १ हजार ६ सय लिटर प्रति सेकेण्डका दरले पानी सफा गर्छ । यस्ता अन्य ५ वटा ट्रिटमेण्ट प्लाण्ट निर्माण हुँदैछन् । 

नदी किनारमा पार्क निर्माण र हरियालीका योजना पनि छन् भने नदी किनाराका दुवैतिर ढल बिछ्याएर ढललाई चोभार पारी कटाउने योजनासमेत छ । तर, अधिराज्यभर दुई सय किमि ढाकेको बाग्मतीलाई उपत्यकावासी भएका नाताले आफू सुग्घरी भएर अरुमाथि फोहोरी व्यवहार गर्नु कति जायज हुन्छ भन्ने नैतिक प्रश्न पनि नउब्जेला भन्न सकिन्न । 

माथिका यी योजना कार्यान्वयनमा जोडदार शक्ति खर्चने र पुरानो पञ्चायती शैली अनुकरण गर्दै उपत्यकामा निर्माणाधिन र निर्माण भइसकेका घरमा सेफ्टी ट्यांक निर्माण नगर्दा कानुनी रूपमा नै दण्डित हुने व्यवस्था गर्न सके धेरै मात्रामा उपत्यका वरपरका नदी–नाला सफा राख्न सकिन्छ । 

२०७२ वैशाखको भुइँचालोले पर धकेलेको प्लास्टिक झोला प्रयोगमा बन्देज लगाउने योजना पुनः लागू गर्न सके यो बाग्मती नदी मात्र नभएर मुलुक सफाइकै अर्को युगान्तकारी कदम हुन सक्छ । 

बाग्मती सफाइ महाअभियान ‘तीन सय प्लस’ हप्तामा चलिरहेको छ । १ हजार ८ सय पचास संघसंस्था तथा १० लाख स्वयंसेवी संलग्न रहेको भनिएको उक्त अभियानले १८ हजार मेट्रिक टन फोहोर सफा गरेको बताइएको छ । औपचारिक पुष्टि नभए पनि यस अभियानमा अहिलेसम्म ६ देखि ८ अर्ब रूपैयाँ खर्च भइसकेको तथ्यांक पत्र पत्रिकामा सार्वजनिक भएको छ । 

अहिले बजारमा सामान्य दैनिक मजदुरीको ज्याला घण्टाको एक सय मान्दा पनि १० लाख व्यक्तिले सफाइका लागि दिएको समय कम्तीमा तीन घण्टा मान्दा पनि हुन आउने ३० लाख घण्टाको श्रमको मूल्य ३०

करोड रूपैयाँ बराबरको हुन आउँछ । यो सानो रकम होइन । के यसले साँच्चै यति मूल्य बराबरको उपलब्धी हासिल भयो त ? 

आजको मूलभूत प्रश्न भनेको यो अभियानले बाग्मती कति सफा भयो र यसरी बाग्मती सफा हुन्छ त भन्ने नै हो ।