कोरोनाका कारणअप्रिलसम्म सबै स्कुल बन्द गर्ने जापानको घोषणा

कोरोनाका कारणअप्रिलसम्म सबै स्कुल बन्द गर्ने जापानको घोषणा

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन १६, २०७६

कोरोना भाइरसका कारण जापानका प्रधानमन्त्री सिन्जो आबेले जापानका सबै स्कुलहरु सोमबारदेखि बन्द गर्न आग्रह दिनुभएको छ । 

आबेले बिहीबार देशका सबै प्राथमिकदेखि हाइस्कुलहरू सोमबारदेखि आगामी अप्रिलसम्म बन्द गर्न निर्देशन दिनुभएको हो ।

जापान टाइम्सका अनुसार एक–दुई हप्तापछि त्यहाँका स्कुलमा ‘स्प्रिङ’ बिदा सुरू हुने जानकरी छ । संसारभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण गरिएको उक्त आग्रहले जापानका स्कुल अप्रिलको पहिलो सातासम्म बन्दै रहनेछन् । 

‘हरेक क्षेत्रका केटाकेटीलाई संक्रमणबाट जोगाउन सकियोस् भनेर यो प्रयास गरिएको हो र, यो एक–दुई हप्ता अलिकति कठिन समय हुनेछ’ आबेले भन्नुभयो, बालबालिकाको स्वास्थ्य र सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’

पछि जापानका स्वास्थ्यमन्त्रीले आबेको निर्देशन बालबालिकालाई दिउँसो हेरविचार गर्ने केन्द्रहरू र प्राथमिक स्कुलका बालबालिकाहरुलाई स्कुलपछि दिइने हेरविचार सुविधामा भने लागू नहुने बताउनुभएको छ ।

जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि आबेले एक्कासी यो घोषणा गरेका जापान टाइम्सले लेखेको छ ।

बिहीबार साँझसम्म त्यहाँ कोरोना भाइरस संक्रमित संख्या २०० भन्दा बढी पुगेको छ । यो बाहेक डाइमन्ड प्रिन्सेस क्रुज सिपमा ७०० भन्दा बढी संक्रमितहरू भएको बताइएको छ।

प्रधानमन्त्री आबेको निर्देशन अगावै होकाइदोका धेरैजसो प्राथमिक र जुनियर हाइस्कुलले एक साता बन्द गर्ने निर्णय गरेका थिए । होकाइदोमा ५० भन्दा बढी संक्रमितमध्ये केही केटाकेटी पनि भएकाले होकाइदो शिक्षा बोर्डले स्थानीय निकायहरूलाई अस्थायी रूपमा सबै निजी र सार्वजनिक स्कुल बन्द गर्न ताकेता गरेको थियो।