पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सम्पन्न

पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सम्पन्न

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १६, २०७६

दैलेख । गत कार्तिकबाट शुरु भएको पेट्रोलियम पदार्थको साइस्मिक सर्वेक्षण अन्तर्गतको पहिलो चरणको काम सम्पन्न भएको छ । 

दैलेखको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधारमानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले बताउनुभयो ।

त्रिपाठीका अनुसार साइस्मिक सर्वेषक्षणअन्तर्गत १० वटा लाइनमध्ये तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुनसक्ने ठाउँ हेरी चार किलोमिटर जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएसँगै पहिलो चरणको काम सम्पन्न भएको जानकारी दिनु भयो । 

चाइनाको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्र गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्र महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो । 

खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा त्रिपाठीले चाइनाको प्राविधिक टोलीले अहिलेसम्म गरेको चारवटा सर्वेक्षणबाट सङ्कलन गरिएका डाटाको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्र्कष निकालेपछि चाईनाकै अर्को विशेषज्ञ टोली आएर चार किलोमिटर गइराइसम्म मुख्य डिलिङको काम गर्ने डा त्रिपाठीले बताउनुभयो । 

नेपालको संविधान २०७२ जारी भएपछि मधेशवाददलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन गर्ने सहमति भएको थियो । 

उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ  सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । गत कात्तिकमा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गर्नुभएको थियो ।